Advertisement

मेरो बाल्यकालको दशैं ।

२०८० आश्विन १३, शनिबार ११:२८
२०५
तीखोकलम

मेरो बाल्यकालको दशैं ।
दिपेन्द्र थापा
महालक्ष्मी न=पा ४ , ललितपुर
२०८० असोज १३ गते शनिबार
बाल्यकालको दशैं मेरो हृदयमा आजसम्म ताजै छ । राजधानी नेपालको महालक्ष्मी नगरपालिका जिल्ला ललितपुर इमाडोल अर्थात मटारमा जन्मिएको म । मेरो गाउँ वरिपरि खुल्ला, पातलो वस्ती र लहलह धानहरु झुलिरहेको धान, भुभाग समथर । मखमली, सयपत्री फुलहरु फुलिरहेका । गर्मी अनि जाडो मौसमको समीश्रण दशैंको मौसम नै रमाइलो लाग्ने गर्दछ मलाई। इमाडोल वरिपरिका बस्तीलाई धपक्क कुहिरोले छोप्थ्यो । अधिकांश किसानको बसोबास भएकाले खेतमा धान झुलीरहको हुन्थो। कुनै बेला हिले दशैं हुदा खेतको धान ढालदिने गरि पानि परेको पनि याद छ । आमाहरु दशैंको मुखमा पनि धान बान्न गएको ताजा याद आज सम्म पनि छ । आफनो बारीमा काक्रो, फर्सि, साँगपात र तरकारी बारीभरि लगाएका हुन्थे र बारी हरियाली हुन्थो । त्यही बारीमा भएको हरियो तोरीको साँग र काक्र्रो, फर्सि, घिरौला बजारसम्म पुराउन चटारो हुन्थ्यो । बारीको तरकारी बेचेर दशैंको लागि चाहिने मर मसला, घर लिपलाप गर्न चुन ढुंगा, कमेरो आदि खरिद गर्ने गरिन्थ्यो । आमा बुबाको दशै खर्च नै बारीबाट आएको सब्जी तरकारी र घरमा पालिएको खसी बोकाबाट दशै मनाउने चलन थियो । मेरो पालामा भेडा च्यांग्रा खानेलाइै गरिबको विल्ला लगाउदथ्यो मेरो समाजले । हाम्रो घरमा पनि गाई, बाख्रा पालन गरेको थियो । आफनो घरमा भएको खशी बोका बजारमा लगेर विक्रि गरि बजार बाट खशी किन्ने चलन थियो । आफनो घरमा पालेको खशी कोकाको माया लाग्छ भन्ने मुल्य मान्यता थियो । परिवार जस्तै गरि हामीले हुर्कको खसीलाई कसरी खानु भन्ने सोच हामीमा थियो त्यो मलाई पनि राम्रो नै लाग्यो । मेरो बाल्यकालका हरेक दशैं रमाइलो हुन्थे ।
बिहान घरबाट बाहिर निस्कँदा खुलेको मौसम हुन्थ्यो । त्यही खुलेको मौसमले पनि खुशी बनाउँथ्यो । दशैँ आएको भन्ने भाव नै प्रकृतिले बताउँछ भन्ने आज सम्म लागि रहेको छ । बिस्तारै हरियाली छाउथ्यो अनि शरद ऋतुको आगमन हुन्थ्यो यसैसँगै मेरो बाल्यकालको खुसि बोकेर आउथ्यो दशैं । प्रकृती र संस्कृतीको यति राम्रो समन्वय मलाई अति नै प्रिय लाग्थ्यो । मलाई दशैंको मौसम नै सबैभन्दा प्रिय लाग्छ । अहिले पनि दशैंताकाको घमाइला दिन र सफा मौसमसहितको हावाले छुन्छ । स्कुल पनि घटस्थापना देखि कोजागत पूर्णे सम्मको लामो विदाले अझ मलाई झन रमाईलो लाग्दथ्यो ।
मेरो बुबा जेठो छोरा अर्थात हाम्रो धर्म अनुसार जेठो छोराको घरमा जमरा राख्न पर्ने चलन थियो । दायित्व पनि अनि बुबाको जागिर। अफिसको कामले बुबा काठमाण्डौ बाहिर जान पर्ने बाध्यता थियो। बुबाले हामी तीन दाजु भाईलाई सानो उमेर देखि नै दशैंमा जमरा राख्न र बिहान बेलुका पुजा गर्न सिकाउनु भएको थियो । मलाई नौरथाको रौनक खुब रमाईलो लाग्दथ्यो घटस्थपनाको दिनदेखि ९ दिनसम्म शक्तिरुपी देवीको अलगअलग ९ रुपको पुजाआराधाना गर्न सिकाउनु भएको थियो बुबाले । जमरामा गोकुल धुप बालेको असध्यै मन पर्दथ्यो । अझ त्यसको बास्नाले घर नै प्रवृत्र भएको अनुभुति हुन्थ्यो मलाई । अष्टमीका दिन जमरामा बलि दिने प्रथा हामीले धेरै वर्ष देखि नै अन्त गरेका थियो । बुबाले नरिबल चडाउने शुरु गर्नु भएको थिया त्यो आज सम्म हामीले त्यही गदै आएका छौ ।
घटस्थापना अर्थात जमरा राख्नको लागि खोलामा बालुवा लिन जान साथीभाईमा एक चरण हामी छलफल गरि जाने गरेका थियौ । त्यतिबेला हाम्रो माटोको घर थियो । फराकिलो आंगन, पिँढी, भित्र भूइतल्ला, माथिल्लो चोटा कोठा, त्यसमाथि अर्को बुकेल थियो । दशैँमा हामी घरपरिबार मिलेर घर चिटिक्क बनाउन पर्दथ्यो । बहिनी भने ‘दशैं आयो, खाउँला पिउँला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत्त पापी म त छुट्टै बसौँला’ भन्दै औँला भाँच्दै दिन रमाउने गर्दथि ।
हरेक नयाँ वर्षको क्यालेन्डर बा ले घरमा ल्याउने वितिकै असोज वा कार्तिक महिना पलटाउने गरेको क्षण आज सम्म पनि ताजा नै छ । दशैं कुन महिनामा पर्ने रहेछ । दशै शब्द सुन्नासाथ मनमा एक किसिमको उर्जा पैदा हुने गरेको आज पनि याद छ । त्यसमा पनि वाल्यकालमा दशैको मस्ती नै बेग्लै थियो। नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व ! कति उल्लास र उमङ्गले भरिन्थ्यो मन ! जब सोह्र श्राद सुरु हुन्थ्यो तब दशैका तयारीका लागि गर्नुपर्ने काम शुरु गर्नुहन्थो हजुरआमाले । घरमा रङ्ग लगाउने, चिउरा कुट्ने, पाकेको काक्र्रोको अचार राख्ने, घर र पुरानो कपडा सफा गर्ने आदि।
घर रङ्गाउने काममा आमा र हामी तीन दाजुभाईलाई हत्तार हुन्थ्यो। किनभने सोह्र श्राद गर्न पर्ने घरमा हजुरआमाले सोह्र श्रादको लागि घर लिपलाप नगरी सोह्र श्राद गर्न हुदैन भन्ने चलन थियो । साथीहरूका अगाडि उनीहरुको भन्दा आफ्नो घर राम्रो देखियोस् भन्ने पनि लाग्थ्यो। त्यसैले आमा बाबासँगै कुचोले चुना र रातो माटोलाई छाँट मिलाई मिलाई लगाउँथे। सोह्र श्रादबाटै घर शुद्ध र सफा सुग्घर राख्नु पर्छ भन्नूहुन्थ्यो आमाले। हामीलाई पनि रमाईलो लाग्थो घरआँगन सरसफाइ गर्न, कपडा धुन र चिउरा कुट्नको लागि भिजाएको दिन देखि नै घरमा दशैंको अनुभुति हुन्थ्यो र आमालाई सघाउने गर्दथ्यौ । आज पनि त्यही प्रथा हामीले अंगाल्दै आएका छौ ।

खेतमा टाईचिन धान लगाउने चलन थियो । अनि टाईचिन घानको चिउरा असाध्यै मिठो हुन्थो र घर नजिकै चिउरा मिल पनि नभएको र हामीहरु सानागाँउ जान पर्दथ्यो । त्यस्तो चिउराको स्वाद अहिले कहाँ पाउनु १ सायद आफ्नो परिश्रम परेकाले पनि होला।
बर्षमा एक जोर कपडा पाउने दशै कहिले आउलाझै हुन्थ्यो। स्कुलको ड्रेस मिलाएर कपडा किन्ने चलन गाउँभरिनै थियो । टीकाको दिनमा लगाउने र विद्यालय खुले पछि स्कुल जादा त्यही दशैको कपडा प्रयोग गरिन्थ्यो अधिकांश साथीभाईको । कुनैकुनै बर्ष बुबाले स्कुल ड्रेस नयाँ नै छ अहिलेलाई यसैले चलाउनु नयाँ किन्नु पर्दैन भन्नु भयो भने रोइकराई कसरी हुन्छ एक जोर किन्न लगाएरै छाड्थेँ। किनभने दशैको बिदापछि स्कुल जाँदा सबै साथीहरूका नयाँ चप्पल, नयाँ ड्रेस देखाउने होडबाजी चल्थ्यो। अनि त आफूमात्रै कसरी पुरानो लगाएर जानु भनेर रुन्थें।
हाम्रो परिबारमा बुबा, आमा र हजुरआमा, तीन दाजुभाई र बहिनी भएकाले नवमीमा खसी काट्ने चलन थियो । नवमीका दिन काटेको खसीको मासु आमाले पकाएको मासुको स्वाद अझै पनि मुखमै झुन्डिएको छ। घट्स्थापना सुरु भएसँगै साथीभाइ र दाइहरुसँग मिलेर पिङ्ग खेलेको याद आज पनि ताजा नै छ । पिङ चौतारोमा रहेको खरिबोटमा राखिसकेपछि दशै आए झैं हुन्थ्यो। त्यति मात्रै नभएर घरआँगन बाटोघाटो चौतारो सरसफाइ गर्ने र रङ्गाउने काम पनि गथ्यौं। सानै भए पनि त्यस्ता सामाजिक काममा अगुवा भएर हिड्थेँ म।
टीकाको दिन लुगा देखाउने, संगै कसको पैसा धेरै भयो भन्ने होड चल्थ्यो। घरमा दाजुहरुलाई जति दिएको छ मलाई पनि त्यती नै दिन पर्दथ्यो नत्र थोरै पैसा दिए डाँको छोद्छ भन्ने पिर आमा बुबालाई थियो अरुले भन्दा पैसा मैले धेरै पाउथे। किन भने म घरको कान्छो आमा बुबा र दाजुहरुको हात बाट टिका ग्रहण हुन्थ्यो अनि हाम्रो समाजमा कान्छो भने पछि बा आमाको प्यारो पनि भएर होला ! मामाघर पनि आमा सब परिबार संग जाने चलन थियो । हामि गाउँमा टिका लगाउन भन्दा पनि पैसा पाउने आशले नाता नपर्नेकोमा पनि टीका लगाउन जान्थ्यौ। बाबा आमाले थाहा पाए कराउनुहुन्छ भन्दै ढुंगे धारामा मुख धोएर घर जान्थ्यौ ऐले संझदा हाँसो उठ्छ।
दशैं भनेपछि मनोरञ्जन गर्ने, खाने, खेल्ने, रमाउने र गाउँभन्दा बाहिर, रहेका आफन्त, छिमेकी जम्मा हुने पर्व भएकाले मनोरञ्जनका लागि चेतनामूलक नाटक प्रत्येक वर्ष इमाडोल गाउँ विकास समितिको प्रगाणमा गर्ने चलन थियो हामी साथीभाई सबै मिलेर हेर्ने चलन थियो । मनोरञ्जनको साधन अरु केही नभएकाले इमाडोलका अग्रजहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेर्न छिमेकी गाउँबाट पनि आँउथे। अहिले गाउँलाई पनि सहरीकरणले ढाकेको छ। त्यस्ता दिन, त्यस्तो बेला र हाम्रा जस्ता स्वभाव र रुचि भएका केटाकेटी गाउँमा पनि छैनन्।