Advertisement

अहिलेको युवाको समाज !

२०८० आश्विन १०, बुधबार २०:२५
१४८
तीखोकलम

अहिलेको युवाको समाज !
दिपेन्द थापा
महालक्ष्मी नगरपालिका : ४ इमाडोल ललितपुर
हामी सामाजिक प्राणी हो । हामी आफु जन्मेको समाजमा बस्न रुचाउँछौ । हामी कोही पनि समाजबाट टाढिन सक्दैन । भविष्यको सिलसिलामा जहाँ गए पनि अन्तिम अवस्थामा आफु जन्मेको समाजमै मर्ने चाहना राख्छौ । पहिलाको समाज र अहिलेको समाजमा धेरै फरक छ । पहिलाको समय सजिलो थियो, हाम्रा आवश्यकताहरु पनि थोरै थिए । थोरै कुराले पुग्थ्यो । वस्ती पातलो र परिवार पनि थोरै । एक गाउँबाट पल्लो गाउँ सम्म खुल्ला देखिन्थ्यो । जिविकोपार्जन गर्न त्यति कठिनाई थिएन । खेत बाझो कतै देखिदैन थियो । घर वरिपरि रहेको करेसाबारीमा तरकारीहरु लटरम्म हुन्थ्यो । मानिसहरुमा खेत बाँझो राख्न हुन्न भन्ने थियो । भाइचारा सहयोगी मनले समाज चलेको थियो । कसैको बास बनाउन लागेको छ भने एउटा ईटा मात्र दिए पनि धर्म हुन्छ भन्ने मुल्य मान्यतामा समाजको विकास भएको थियो । हुने खानेले आफनो घर आँगनमा पानीको लागि ईनार खन्न सहयोग गरि समाजमा पानीको ब्यवस्था गर्दथ्ये । तर अहिले समय अनुसार मान्छेका आवश्यकता बढेका छन् । असीमित भएका छन् ।कल्पना गर्नु त अबको १० देखि १५ वर्ष भित्रमा समाज कस्तो हुन्छ होला ?
मान्छेहरु शिक्षित र सम्पन्न बन्दै गए । जति सम्पन्न हुदै गए त्यति नै दरिद्र र निरीह पनि बन्दै गइरहेका छन् । सरलताबाट जटिलतातर्फ लम्कँदै छ हाम्रो समाज । प्रविधिले मान्छेका जीवनशैलीलाई परिवर्तन गरि रहेको छ । मान्छेहरु झन् अल्छी, ढिलासुस्ती हुँदै गए । राती सुतेको ब्यक्ति बिहान उठदा मृत्यको खबर दिन प्रतिदिन सुन्न परको छ । सानो रिसका कारण मान्छे मार्ने प्रवृतिमा विकास भएको छ सोच्नुहोस त हामीमा राछेसी असभ्य भएका छ । वल्लो घरको आमा बुबा विमारी हुदाँ पल्लो घरको काका कार्कीले वास्ता नगर्ने । उखानै छ, जिउँदाको जन्ती मर्दाको मलामी । अर्थात् जिउँदा मानिसको मात्र बिहे हुन्छ, मरिसकेपछि त घाटमा लग्ने मलामी जम्मा हुन्छन् । छिमेकीमा मृत्यु हुदाँ समेत मलामी जान पर्ला भनेर गेट थुनेर बस्न सक्ने हिम्मत बढेको छ । आमा बा को मृत्यु पश्चात यहाँ लासले पनि कुर्न बाध्य हुनेछ छोरो आउला अनि दागबत्ती देला भनेर…. कुर्न पर्ने समस्य झन डरलाग्दो भएको छ । मान्छेभित्र दया –करुणा, आत्मीयता हराउँदै गईरहेको छ । उदाहरणको लागि विभिन्न घटनाक्रमले देखाईरहेको छ । सेवा परोपकारको भावना देखावटी शैलीमा भईरहेको छ ।
एकछिन् पनि आफैंलाई नियाल्ने फुर्सद पाउने छैन । रोगब्याधी बढ्नेछ खानपानमा ध्यान छैन। नकारात्मक ऊर्जा फैलिनेछ । युवा पुस्ता १८ देखि २५ वर्ष दुव्र्यसनमा फस्नेछन् । गलत बाटोतिर लाग्ने छन् । दिनानुदिन मान्छे कमजोर भएर मानसिक तनाव बढेर जानेछ । मानिसभित्र माया–प्रेम, दया÷करुणा घट्दैछ । अबको मानिसभित्र आफै खाउँ आफै लाउ भन्ने राक्षसी भावना पलाउँदै गईरहेको छ । मानिसको जीवन झन झन कष्टकर बन्दै गईरहेको छ । विलासिताको सामानमा मरिहत्ते गरिरहेका छन् युवा वर्ग । विगतलाई नियल्न छोडिसके । धन सम्पत्ति पैसा घर–घडेरी मानमर्यादामा उसको इज्जतमा तैलिदै छन् । अबको समाजभित्र मेलमिलापमा कमी भएर जानेछ । घर–घरमा कलह झैझगडा हुनेछ । दाजुभाइ, दिदीबहिनीबीचमै हानाथाप हुनेछ । मानवभित्रको मानवता हराउदै गईरहेको छ । अझ कल्पना गर्नु त तपाईंले सोच्दै नसोचेको समाजको विकास दुत गतिमा अगाडी बढिरहेको छ र हुनेछ, अबको केही वर्षमा । हाम्रो समाज कस्तो हुँदैछ ?
मेरो घर नजिक झापा बाट एक परिवार घर बनाएर बसेको ठाउँको सयपत्री फूलको विरुबा उम्रेको थियो । त्यो कम्पाउण्ड वाल बाट १ फिट बाहिर पर्दछ । मन्दिर बाट श्रावण महिनाको शिवको पुजा गरेर फर्किदै गरेको मेरो छोरीले त्यो फूलको विरुवा आफनो घरको गमलामा रोप्नका लागि टिप्न खोज्दा वहाँले गरेको गालि सुन्दा म अच्चम परे । ती घरधनी आमाले विरुवा टिप्दा हात खुट्टा भाँचिदिन्छु भन्ने अभिव्यक्ति दिन समेत भ्याईन । म बसेको त्यो छिमेकी आन्टीले फूलको विरुवाको बिषयमा झगडा गरिन् । गाली गलौज गरिन् । थोरै फूलको बिरुवा टिप्दा भन्न नहुनेसम्म भनिन् । मानवता कहाँ हराइरहेको छ, यहाँ अनुमान लगाउन सकिन्छ । दुःख–कष्ट, आपत्–विपत् पर्दा हाम्रो समाज, गाउँघरमा सहयोगीको भावना हुन्थ्यो । आफनो लागि भनेर मखमली र सयपत्रीको बिरुवा रोप्नका लािग भनेर राखेको विरुवा आफनो बारीमा रोपी सके पछि गाउँ घरमा बाढ्ने चलन थियो । नुन चिनी समेत पैंचो हुन्थ्यो । तपाईं हामी बसेको घरगाउँ, समाज कतातिर जाँदैछ । दिनानुदिन बलात्कारको घटना बढिरहेको छ । केही महिना अगाढी मात्र १० वर्षको बालिकालाई केही ब्यक्तिले हातपात गरेको खबर सुन्नमा आयो । कहिले बाह्र वर्षकी बालिकाको बलात्कार कहिले त आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको खबर सुनिन्छ । अहिलेको नयाँ पुस्ता यस्तो बिग्रँदै गइरहेको छ ।
किशोरावस्थादेखि नै दुव्र्यसनमा छन् हाम्रा भाइबहिनीहरु । मान्छेको सोच दिन दिनै संकुचित हुदै गएको छ । गाडी, पैसा, घरघडेरीमा मान्छेको मुल्यांकन गरिन्छ । जसले गफ लगाउन सक्छ, जो भाषण गर्न सक्छ ऊ नै विद्वान कहलिने छ अहिलेको समाज । अब कल्पना गर्नु त अबको समाज कस्तो हुन्छ ? शान्ति मेलमिलाप, भाइचारासहितको र अपराध, लागूऔसदरहीत समाजको कल्पना गर्न सकिन्छ त ? हरेक मानिसको चेतनामा परिवर्तन आएको छ । ऊभित्र लोभलालच, इष्यार्, मोह, अहंकार बढेको बढ्यै छ । मान्छेमा नैतिकता हराएको छ । मान्छे अनुशासनहीन भएका छन् । मान्छेहरु जति शिक्षित हुँदै गए, उति नै बिग्रँदै गए । अहिले हामीले देखेको समाजमा मान्छेभित्रको भावना नै बिलाउँदै गएको छ । मान्छेमा करुणा प्रेम र दया छैन । छ त सिर्फ रिस, इष्र्या, लोभलालच, अहंकार, घमण्ड ।
यस्तो समय पनि आइरहेको छ । मान्छेले मान्छेलाई गन्दैन । बाबुले छोरालाई, छोराले बाबुलाई । हरेक मानिसमा स्वार्थ मिसिएको छ । आफ्नै परिवारका सदस्यहरु पनि बोल्दैनन् । पहिला मानिसहरु अरुका निम्ति जिउँथे भने अब मानिस आफ्नो लागि मात्र जिउँछन् ।
अरु परिवर्तन हुनुभन्दा अगाडि आफै परिवर्तन हुन आवश्यक छ । हामी बसेको गाउँ समाजमा मेलमिलाप, भाइचारा, सहयोगी भावना बनाएर मूल्य मान्यता, संस्कार, संस्कृति, परम्परा, बचाइ राख्न जरुरी छ । त्यो गर्ने भनेको तपाई हामीले नै हो । अत्यधिक रूपमा बिकृति फैलिएको छ । जघन्य अपराध बढेको बढ्यै छ । हामीले देखेको समाज कस्तो बन्दैछ । जस्तो घटना घट्छ, हाम्रा क्रियाकलाप त्यस्तै हुनेछन् । बिकास निर्माणमा मेरो र तेरो भन्ने भावनालाई हताएर विभिन्न समस्याबाट जुर्मुरिएको समाजको बिकास र निर्माण गर्नु तपाईं हाम्रो दायित्व हो । र अनि मात्र आफ्नो परिभाषा गर्नु राम्रो हुन्छ ।