Advertisement

नागार्जुन नगरपालिका आ.ब.२०८०/८१को वार्षिक नीति बजेट तथा कार्यक्रम

२०८० असार १९, मंगलवार ११:१६
४२
तीखोकलम

आषाढ ९,२०८०, नागार्जुन, काठमाडौँ।

नागार्जुन नगरपालिकाको आ.ब.२०८०/८१ को बार्षिक योजना, निति तथा कार्यक्रम र बजेट सातौं नगर सभामा प्रस्तुत गरी, सर्वसम्मत रुपमा पारित गरी आज सम्पन्न भएको छ। नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य माननीय श्री प्रकाशमान सिंह,, विशिष्ट अतिथी नेपाली सेनाका प्रधानसेनापति श्री प्रभु राम शर्मा,    विशेष अतिथि प्रतिनिधि सभा सदस्य क्षेत्र नं ८ माननीय श्री बिराज भक्त श्रेष्ठ(प्रतिनिधी श्री मस्छिन्द्र प्याकुरेल) ,प्रतिनिधि सभा सदस्य क्षेत्र नं ७ माननीय  श्री गणेश पराजुली,पूर्व मन्त्री  श्री कल्पना धमाल ,पूर्व मन्त्री श्री बिक्रम बहादुर थापा ,बागमती प्रदेश सभा सदस्य माननीय श्री केशव प्रसाद पोखरेल, बागमती प्रदेश सभा सदस्य माननीय श्री प्रकाश श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य माननीय श्री उद्धव थापा, बागमती प्रदेश सभा सदस्य माननीय  श्री बालकुमारी विश्वकर्मा, बागमती प्रदेश सभा सदस्य माननीय श्री आशा लामा, जिल्ला समन्वय समितिका प्रमुख श्री सन्तोष बुढाथोकी, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख श्री शिव सुन्दर राज वैद्य,नगर उप-प्रमुख श्री सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू एंव शाखा प्रमुख तथा कर्मचारीहरू बिशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा विशेष अतिथि हरूको आसन ग्रहण पश्चात फूलको माला लगाएर स्वागत गरिएको  थियो। राष्ट्रिय गान गाएर सुरु गरिएको उक्त कार्यक्रममा ज्ञातअज्ञात वीर सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमको उद्घघोषण तथा संचालन नागार्जुन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा नागार्जुन नगर प्रवक्ता श्री महेश रिमाल ज्यु ले गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारीले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको उक्त कार्यक्रममा स्वस्ती वाचन सहित प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर तथा नगरसभाको पुस्तकको विमोचन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नागार्जुन नगरपालिका वडा नं ४ निबासी प्रधानसेनापति श्री प्रभुराम शर्मालाई नगरवासीको तर्फबाट उपप्रमुख श्री सुशिला अधिकारी ज्यु ले दोसल्ला ओढाएर, नगरप्रमुख श्री मोहनबहादुर बस्नेत ज्यूले सम्मान पत्र तथा प्रमुख अतिथि माननीय श्री प्रकाशमान सिंहले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

काठमांडौ जिल्लाका निर्वाचन क्षेत्र नम्बर ७ ख मा नागार्जुन वडा नं १, २ र ३, निर्वाचन क्षेत्र ८ ख मा नागार्जुन वडा नम्बर ४र ५ साथै निर्वाचन क्षेत्र नं  ९ख मा नागार्जुन वडा नम्बर ६,७,८,९ र १० पर्दछन। यस नगरपालिकाको पूर्व उत्तर दिशामा तारकेश्वर नगरपालिका,पश्चिम उत्तरमा धादिङ जिल्ला, दक्षिणमा चन्द्रागिरि नगरपालिका पर्दछ भने राजधानीको मुटु काठमाडौं महानगरपालिका पुर्व दिशामा रहेको छ ।

कुल क्षेत्रफल २९.८ वर्गकिमि रहेको नागार्जुन नगरपालिकाको औसत उचाई समुद्र सतहदेखि १३०० मिटर देखि २५०० मिटरसम्म रहेको छ । जनगणना २०७८अनुसार नागार्जुन नगरपालिकाको जनसंख्या १,१५,४३७ रहेको छ जसमध्ये पुरुष जनसंख्या ५७५९६र महिला जनसंख्या अहिले ५७८४१ रहेको छ।

प्रसिद्ध धार्मिकस्थल आदेश्वर महादेव मन्दिर तथा कान्छा नारायण भनेर चिनिने इचङ्गनारायण मन्दिर लगायत ४५ भन्दा बढी धार्मिक स्थलहरु रहेको प्रचुर पर्यटनको सम्भावना बोकेको, उर्वर कृषि भूमि सहीत आवासीय घर जग्गाहरू प्रसस्त भएको नेपालका ७७ वटै जिल्लाबाट बसाईसराई गरी बस्न आउने र स्थानीय बासिन्दाहरूको बसोबास यस नगरपालिकामा रहेको पाइन्छ। विभिन्न जातजाति ,भेषभुषा ,धर्म ,संस्कृति ,रीतिरिवाज हरु को संगम स्थल हो नागार्जुन नगरपालिका ।

का्ठयामाडौँ जिल्लाका प्रथम निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख श्री शिव सुन्दर राज वैद्य ज्यू र प्रथम निर्वाचित नगरप्रमुख श्री मोहन बहादुर बस्नेत ज्यूबाट संयुक्तरुपमा नागार्जुन नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन २०७८ साल चैत २ गते समुद्घाटन भएको थियो भने २०८०/८१ को

 बार्षिक नीति बजेट तथा कार्यक्रम र अनुमानित आय व्यय विवरण नवनिर्मित  आफ्नै उक्त भवनमा रहेको सभाहलबाट गरिएको थियो।

यो रोचक एवं स्मरण योग्य प्रसंगहरू स्थानीयतहमा कोही प्रतिपक्ष हुँदैन भन्ने मान्यतालाई स्थापित गर्न गत स्थानीय प्रदेश तथा संघबाट निर्वाचित हुनुहुने र प्रत्यासी बन्नुभएका मुख्य मुख्य राजनीतिक दलका नेताहरु तथा समाजसेबीहरुलाई आफ्नो शुभकामना मन्तव्य राख्न दिइएको थियो ।

वार्षिक नीति

बजेट तथा कार्यक्रम प्रस्तुत हुनुअगावै विभिन्न चरणमा विभिन्न विषयका विज्ञहरुसँग, उपभोक्ताहरुसंग राजनीतिक दलका प्रतिनिधिहरुसँग पटकपटक छलफल गरी निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरिएको थियो।

वार्षिक नीति बजेट तथा कार्यक्रम कस्तो हुनुपर्छ आफ्नो राय, सल्लाह ,सुझाव पठाउन सामाजिक सञ्जालमार्फत पनि आह्वान गरिएको थियो।

मिति २०८०/८१ मा नगर कार्यपालिका बैठकबाट अनुमोदन भएको आर्थिक बर्ष २०८०/८१को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय ब्यय रकम रु २,१५,००,००,०००/-(दुई अरब पन्ध्र करोड मात्र)को बजेट उप-प्रमुख सुसिला अधिकारीबाट पेश गर्नुका साथै नगर सभाको बैठकमा सर्ब सम्मत रुपले पारित भएको प्रबक्ता महेश रिमालले जानकारी गराउनु भयो ।

नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि  दुई अर्ब पन्ध्र करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । शनिबार नगरपालिकाको आगामी आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले संघ र प्रदेश सरकारको विभिन्न शिर्षकको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानेर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि उक्त बजेट सभामा प्रस्तुत गरेको हो । नगरपालिका उपप्रमुख सुशीला अधिकारीले  आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा नगरपालिकाको लागि विभिन्न नीति प्रस्तुत गर्नू भयो।

नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकाले गत ६ वर्षमा भौतिक विकासमा उल्लेख्य काम गरेको भन्दै अबको केही वर्षमा नगरपालिका व्यवस्थित सहर बन्ने बताउनुभयो । उहाले, ‘नागार्जुन नगरपालिका भ्रष्टाचार निवारण गर्ने सवालमा रोलमोडलको रुपमा स्थापित हुने।’

त्यसका लागि  सरोकारवालालाई नियमितरुपमा नगरपालिकामा आएर आवश्यक सल्लाह र सुझाव प्रदान गर्न आग्रह गर्नु भएको थियो। उहाँले नगरपालिकालाई आफ्नो बुवा आमालाई

 जत्तिकैआदर, माया, सद्भाव ,गरिरहेको,संस्कार युक्त बनाउन लागि परिरहेको र परिरहने बताउनुभएको थियो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कृषि, सिँचाइ, पशुपालन, उद्योग वाणिज्य, युवा स्वरोजगार तथा उद्यामशिलता प्रबद्र्धन, साँस्कृतिक सम्पदा संरक्षण तथा पर्यटन प्रबद्र्धन गर्ने नीति ल्याएको छ । त्यस्तै शिक्षा तथा खेलकुद, स्वास्थ्य, खानेपानी र सरसफाइ तथा फोहोर व्यवस्थापन, पूर्वाधार विकास, भवन तथा सहरी विकास, वातावरणीय स्वच्छता, जैविक विविधता एवं पर्यावरण, विपत व्यवस्थापन, मानव संशाधन विकास, सुशासन र सेवा प्रवाह, वित्तिय अनुसशान एवं आन्तरिक नियन्त्रण संघ र प्रदेश सरकारसँग सहकार्य समन्वय र साभेदारी गर्ने नीति नगरपालिकाले बनाएको छ ।

कार्यक्रममा नगरपालिकाका बरिष्ठ लेखा अधिकृत आनन्दकुमार खड्का र आन्तरिक लेखा परिक्षक अधिकृत श्री प्रेम बहादुर गिरीलाई आर्थिक वर्ष २०७७/७८  सम्मको बेरुजुमध्ये ७४ प्रतिशत भन्दा बढि बेरुजु फछ्र्याैट गर्न योगदान गरेबापत सम्मान गरिएको थियोे।

नागार्जुन नगरपालिकाका उपप्रमुख श्री सुशिला अधिकारी ज्यु ले प्रस्तुत गर्नुभएको आ.ब. २०७०/८१ को वार्षिक नीति, बजेट तथा कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ।

 आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम

नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्ने व्यवस्था रहेको छ । त्यसै गरी संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने व्यवस्था बमोजिम नेपालका ७५३ स्थानीय तह मध्ये देशको राजधानीमा अवस्थित नागार्जुन नगरपालिकाको सातौं नगरसभामा आ.ब.२०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ ।

यस अवसरमा लोकतन्त्रको प्राप्तिमा योगदान गर्नुहुने महान सहिदहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहान्छु। त्यसै गरी यस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विभिन्न राजनीतिक दलका अग्रजहरु प्रति सम्मान व्यक्त गर्न चाहान्छु । निर्वाचन जस्तो पवित्र लोकतान्त्रिक अभियानमा सरिक भई हामी सबैलाई जनप्रतिनिधिको रुपमा विश्वास गरी निर्वाचित गर्नुहुने सम्पूर्ण नगरबासिहरुलाई सम्मान गर्न चाहान्छु ।

यो नगरपालिका स्थापना भए पश्चात प्रारम्भमै यसले ‘समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पुर्वाधार र आवासीय नगर’ को दीर्घकालीन नारा तय गरेको थियो । यसै नारालाई केन्द्रविन्दुमा राखी विगतमा यस नगरपालिकाका नीति तथा कार्यक्रम, वार्षिक योजना र बजेट निर्माण गर्ने गरिएको थियो । निर्वाचनको समयमा विभिन्न दलले आ-आफ्ना घोषणापत्र र प्रतिवद्धता अनुसार प्रतिष्पर्धा गरेता पनि स्थानीय सरकारमा कोहि पनि प्रतिपक्ष हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्दै समृद्ध नागार्जुन सबैको साझा दायित्व भन्ने जिम्मेवारी बोधका साथ आज हामी निर्वाचित जनप्रतिनिधि, स्थानीय बुद्धिजिवि, विषय विज्ञ, अनुभवी पेशाविद, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका सरोकारवालाहरु बीच विभिन्न चरणमा व्यापक छलफल, गोष्ठि, अन्तरक्रिया र विश्लेषणका आधारमा आज यो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्षणमा उपस्थित भएका छौ ।

नागरिकका समस्या, आवश्यकता तथा अपेक्षा असिमित छन। सीमित श्रोतका वावजुद नागरिकका असीमित विकासका चाहना र आवश्यकतालाई क्रमिक रुपमा न्यायोचित सम्बोधन गर्नु हाम्रो दायित्व हो । हामीले विभिन्न समयमा नगरपालिकाभित्र आयोजना गरिएको विभिन्न चरणको छलफल तथा बैठक, राजनैतिक दलका प्रतिनिधिहरुसंगको बैठक, विज्ञहरुसंगको बैठक, प्रदेश सभा सदस्य तथा संघीय प्रतिनिधि सभा सदस्यहरुबाट विभिन्न समयमा गरिएको राय परामर्श र छलफल तथा विभिन्न स्थानीय तहहरुका असल अभ्यासहरुबाट प्राप्त राय सुझाहरुलाई समेटेर यस नीति तथा कार्यक्रम तर्जुमा गरिएको हुँदा समग्र नगरवासीको चाहना र विज्ञताको भरपुर उपयोग भएको छ भन्ने विश्वास लिएका छौं।

सहभागितामुलक योजना पद्धति र प्रभावकारी अनुगमन तथा दैनिक सेवा प्रवाहको प्रभावकारीताका लागि हामीले अवलम्बन गरेको नीति, योजना, कार्यक्रम र व्यवहारले नगरवासी सबैमा हामी प्रतिको विश्वास अभिवृद्धि गरेको छ भन्ने मलाई लागेको छ। तथापि सुधारको लागि सुझाव र सल्लाह हाम्रा लागि सदैव ग्रहणीय र स्वागतयोग्य रहेको व्यहोरा समेत यस गरिमामय कार्यक्रममा निवेदन गर्न चाहन्छु। अब म सभाध्यक्षज्युको अनुमति अनुसार यस नगरपालिकाको आगामी आ.व. को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।

नीति तथा कार्यक्रमको लक्ष्य

नगरपालिकाको आयस्रोत सुद्धीकरण गरी दीगो एवम् गुणस्तरीय पूर्वाधार निर्माण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सुशासन प्रवर्द्धन मार्फत नगरलाई उत्कृष्ट आवासीय गन्तव्य स्थलको रूपमा विकास गर्दै जनताको गुणस्तरीय जीवनयापनको अवसर सृजना गरी सम्वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरिएको छ। यो लक्ष्य पूरा गर्न सहयोग पुग्ने गरी सामाजिक विकास (स्वास्थ्य, शिक्षा र जेष्ठ नागरिक, महिला तथा बालवालिका), आर्थिक विकास (कृषि, उद्योग,रोजगारी सृजना, भौतिक विकास विकास निर्माण तथा विपद व्यवस्थापन एवं सुशासन प्रवर्द्धनलाई नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रको रुपमा पहिचान गरिएको छ ।

मुख्य नीतिहरुः
गुणस्तरीय शिक्षा तथा स्वास्थ्यमा पहुँच अभिवृद्धि
ढल विकास तथा सडक स्तरोन्नति, फोहरमैला व्यवस्थापन, खेलकुद पूर्वाधारमा लगानी
सार्वजनिक जग्गाकाे संरक्षण, खुला क्षेत्र विस्तार तथा शहरी सुन्दरता अभिवृद्धि अभियान
सुरक्षित एवम् गुणस्तरीय खानेपानीमा जनताको पहुँच अभिवृद्धि
सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा जोड, जनउत्तरदायी र जवाफदेही स्थानीय सरकार
नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्टार्टअप व्यवसायीलाई सहुलियत ऋण
नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि
स्वायत्तता र स्वावलम्बनको लागि आन्तरिक राजश्वको दायरा विस्तार गरी नगरपालिकाको बजेटमा आन्तरिक राजश्वको योगदान अभिवृद्धि
नगरबासीको समुन्नतिको लागि स्थानीय तहमा आवश्यक पर्ने सबै पूर्वाधारहरुको निर्माणलाई उच्च प्राथमिकता
सकारात्मक सोच सहित नगरबासीको सन्तुष्टिको अभिवृद्धिका लागि विभिन्न उमेर समूह अनुसार खेलकुद,, मनोरञ्जन स्थल, पार्क, खुला क्षेत्र, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनमा जोड

उपर्युक्त प्रमुख नीतिहरुको आधारमा देहाय बमोजिमको क्षेत्रगत नीति तथा कार्यक्रमको अवलम्बन तथा कार्यान्वयन गरिनेछः

१. आर्थिक विकास

क. राजस्व परिचालन

१.आवश्यक तथ्यांकहरु संकलन र विश्लेषण गरि राजस्वका श्रोतहरुको पहिचान गरिने छ ।
२. करदाता मैत्री कर प्रणालीको विकास गर्न करको दरमा जनचाहना अनुसार पुनरावलोकन गरी करको दायरा विस्तार गरिनेछ ।

३.आधारभूत सेवालाई चुस्त दुरुस्त, सुलभ र पहुँचयोग्य बनाउँदै नगरबासीलाई आवश्यक पर्ने सार्वजनिक सेवा सम्भव भएसम्म निःशुल्क वा सुलभ शुल्कमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ । ४. उत्पादनशिल क्षेत्रलाई प्रोत्साहन गर्न शुल्क दस्तुरमा कानून बमोजिम सहुलियत प्रदान गरिनेछ ।
५. पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न राजस्व प्रणालीलाई विद्युतीय शासन प्रणालीमा आवद्ध गरिनेछ । करदाताले घरबाटै कर तिर्न सक्ने हिसावले ईसेवा, खल्ती, फोनपे लगायतका डिजीटल माध्यमबाट कर भुक्तानी गर्न मिल्ने गरी प्रबन्ध मिलाईनेछ ।
६. एक आर्थिक वर्षको एकमुष्ट रुपमा बहाल कर अग्रीमरुपमा कार्तिक मसान्तभित्र तिर्ने करदातालाई एकमुष्ठमा हुन आउने रकमको २५ प्रतिशतका दरले छुट दिइनेछ ।
७.आ.व. २०७०/८१ मा तिर्नुपर्ने सम्पत्ति कर कार्तिक मसान्त भित्र दाखिला गरेमा उक्त सम्पत्ति करमा १० प्रतिशत छुट गरिनेछ ।
८. आ.व. २०८०/८१ मा नगरपालिका कार्यालयले स्थलगत रुपमा व्यवसाय दर्ता तथा नविकरण शिविर सञ्चालन गरी नियमानुसार नगरपालिका तथा वडा कार्यालयमा दर्ता नभएका सम्पूर्ण व्यवसायहरुलाई आ. व. २०७०/८१ लाई नै आधार वर्ष मानेर व्यवसाय दर्ता गरिनेछ ।
९. नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी तथा स्वयमसेवकहरु सम्मिलित समूहबाट नगरपालिका क्षेत्र भित्र घरबहाल कर र व्यवसाय कर संकलनका लागि अभियान सञ्चालन गरिनेछ । साथै सवैलाई करको दायरामा ल्याईनेछ ।
१०. नियमित रुपमा कर तिर्ने ठूला करदातालाई सम्मान एवम् पुरस्कृत गर्ने नीति लिइनेछ ।
११. राजश्व प्रशासनलाई स्वच्छ, पारदर्शी, करदातामैत्री तथा प्रविधिमैत्री बनाई यस प्रतिको विश्वसनीयता अभिवृद्धि गरिने छ ।
१२. नियमित रुपमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । १३. कर तथा राजश्व परिपालना दर उच्च बनाउनका लागि अनुगमन तथा नियमन पद्धतिलाई चुस्त बनाईनेछ ।
१४. प्रदेश सरकारले तोकेका तर स्थानीय तहले संकलन गर्ने मनोरञ्जन कर तथा विज्ञापन करहरुको परिपालना दर बढाउनका लागि अनुगमन नियमनलाई तीव्रता दिईनेछ ।
१५. नगरपालिका क्षेत्रभित्रका प्राकृतिक स्रोत तथा सम्पदाहरुको परिचालन गर्नका लागि संभाव्यता अध्ययन, कानून तथा कार्यविधि निर्माण, वातावरणीय परिक्षण लगायतका कार्यहरु गरी राजश्व संकलन कार्यलाई व्यवस्थित गरिनेछ ।
१६. सामुदायिक बनहरुले वन पैदवार विक्रीबाट प्राप्त हुने आयको १० प्रतिशत नगरपालिकालाई बुझाउने व्यवस्था मिलाईनेछ ।

ख. कृषि सिंचाई तथा पशुपालन

१.पोषण सुधारको लागि अर्गानिक कौशि खेती कार्यक्रमलाई प्रवर्द्धन गरिनेछ ।
२. न्यून आय भएका कृषकको पहिचान गरी कौशिखेतीको लागि बिउ बिजन, कृषि औजार तथा उपकरणहरुको वितरण तथा उपयोगको व्यवस्था मिलाइनेछ ।
३.भु-उपयोग सम्बन्धी प्रचलित नीति र कानूनको अधिनमा रही भूमिको वर्गीकरण र भू-उपयोग योजना तर्जुमा गरिनेछ । भू-उपयोगले तर्जुमा गरे अनुसार नगर क्षेत्रका २० प्रतिशत जग्गामा फूल खेती, तरकारी खेती र व्यवसायिक कृषि कार्यको लागि पकेट क्षेत्र घोषणा गर्नको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
४. कृषि सम्बन्धी विभिन्न तालिम कार्यक्रमहरु संचालन गरिनेछ, साथै सामुदायिक वन तथाआवाशिय वस्तीहरुमा मौरी पालनको व्यवसाय प्रवर्द्धन गरिनेछ ।
५. कृषि / तरकारी खेतीमा रासायनिक विषादिको प्रयोगलाई न्यूनीकरण गर्दै लगिनेछ र विकल्पको रुपमा जैविक मलको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
६. विदेशबाट व्यावसायिक दक्षता हासिल गरी फर्केका युवा जनशक्तिलाई आवश्यक सहयोग उपलब्ध गराई उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरित गरिनेछ ।
७. खाद्य सुरक्षाको लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि लगायतका कार्यक्रमलाइ जोड दिइनेछ ।
८. कुहिने फोहोर (Organic waste) बाट कम्पोष्ट मल बनाई नगरपालिका भित्र र बाहिर अरु पालिका वा जिल्लाहरुमा समेत सहकारी निजीक्षेत्र मार्फत बिक्री वितरणको व्यवस्था मिलाउन
सम्भाव्यता अध्ययन गरिनेछ ।
९. कृषि प्रवर्द्धनको लागि ५०/५० लागत सहभागितामा हाते ट्याक्टर वितरण गरिनेछ ।
१०. वर्षातको समयमा पानी जम्मा गरी पानी जमिनमा पूर्नभरण गरी पानीको श्रोत व्यवस्थापनलाई प्रभावकारी बनाई सुख्खा याममा सिंचाइमा प्रयोग गर्न सकिने क्षेत्रको संभाव्यता अध्ययन
गरिनेछ ।
११. थोपा सिंचाई तथा विरुवाको जरामा दिने सिंचाईलाई बढावा दिई व्यवस्थित गरिनेछ ।
१२. उन्नत जातका पशुपंक्षी पालनलाई प्रोत्साहन गरी पशुपक्षी र कृषि विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१३. मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने दुधजन्य र मासुजन्य पदार्थको शुद्धतामा विशेष जोड दिइनेछ । यसका लागि अनुगमनलाई तिव्रता दिईनेछ ।
१४. जुनोटिक (रेविज र बर्ड फ्लु) लगायत रोगहरुको बारेमा अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।
१५. नगरपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउँदै लैजान आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
१६. सामुदायिक कुकुरलाई रेबीज विरुद्ध खोप लगाउनका साथै कुकुर वन्ध्याकरण सम्बन्धी  कार्यक्रम संचालन गरिनेछ ।
१७. छाडा चौपाया व्यवस्थापनका लागि उचित कदम चालिनेछ। १८. परम्परागत/ रैथाने खेतीलाई प्रदर्शन गरिनेछ । सो को नागि ५० प्रतिशत अनुदानमा बिउ विजन उपलब्ध गराईने साथै बिउ बिजन बैंकको व्यवस्था मिलाइनेछ।
ग. उद्योग, वाणिज्य, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन १. नागार्जुन नगरपालिकाका उद्यम व्यवसाय गर्न चाहने युवा, महिला तथा उद्यमीहरुलाई प्रोत्साहन नगरपालिकाले नेपाल सरकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँगको साझे दारीमा रु. २ करोडको Start up कोष निर्माण गरी स्थानीय सहकारीमार्फत विना धितोमा सहुलियत ऋण प्रवाह गरी नगरपालिकामा व्यवसायमैत्री वातावरण निर्माण गरिनेछ । यसले नव प्रबर्तनमा आधारित साना व्यवसाय गरी स्वरोजगार हुन चाहनेहरुका लागि पूँजी अभाव हुने छैन भने रोजगारी वृद्धि हुनाका साथै नगरपालिकाको आन्तरिक राजश्वमा समेत सकारात्मक वृद्धि हुनेछ ।
२. लधू घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गरी व्यवस्थित गरिनेछ ।
३.मझौला तथा ठूला उद्योगबाट वातावरणमा हुने क्षति न्यूनीकरणमा जोड दिइनेछ ।
४. उद्योग व्यवसायको विकासको लागि प्रत्येक वडामा बैंकिङ सेवाको विस्तार गर्न समन्वय गरिनेछ ।
५. उद्योग, कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत खर्च गर्ने रकम वडा कार्यालयको योजनासँग आवद्ध गरी खर्च गर्न प्रोत्साहन गरिनेछ ।
६. स्थानियस्तरमा लघु उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बजारीकरणका लागि उपयुक्त ठाउँमा कोसेली घर तथा हाट बजारको व्यवस्था गरी बिक्री वितरणको प्रबन्ध मिलाईनेछ । साथै नगरपालिका भित्र सञ्चालित मलहरुमा नगर भित्रका उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको बिक्री वितरणका लागि स्टल उपलब्ध गराईनेछ ।
७. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत लघु, घरेलु तथा साना उद्यमीहरूको लागि मागमा आधारित उद्यमशीलता तथा क्षमता विकासको लागि आवश्यक सीपमूलक
कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
८. महिला उद्यमी, अपाङ्ग र अशक्तको हकमा व्यवसाय दर्ता गर्न आएमा दर्ता शुल्कको २५ प्रतिशत
छुट दिइनेछ ।
घ. संस्कृति, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धन
१. पूर्वाधार सहितको पर्यटन विकासको लागि विस्तृत पर्यटन विकास गुरु योजना तर्जुमा गरी लागू गरिनेछ । नगरपालिका भित्रका नवीन पर्यटकीय गन्तव्य तथा सभावनाहरुको पहिचान, विकास एवम् प्रचारप्रसार गरिनेछ ।
२. पुरातात्विक सम्पदा, बस्ती, ऐतिहासिक, धार्मिक तथा परम्परागत शैलीका सम्पत्तिको पहिचान गरी संरक्षण तथा संबर्द्धन गरिनेछ ।
३ नगरपालिका क्षेत्र भित्र प्रचलित ऐतिहासिक तथा धार्मिक महत्वको जात्रा, उत्सव, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, भौतिक एवम् अभौतिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन गर्नका लागि एक समिति गठन गरी व्यवस्थित गरिनेछ। साथै संस्कृति एवम् ऐतिहासिक धार्मिक महत्वका अभौतिक सम्पदाहरुलाई अन्तर पुस्ता हस्तान्तरण गर्न प्राथमिकता दिइनेछ ।
४. यस्ता सम्पदाहरुका प्राचीन गाथा, इतिहास तथा महत्वको प्रचारप्रसार तथा पुस्तान्तरणका लागि QR Code को प्रयोग गरी पढ्न सुन्न तथा देख्न मिल्ने गरी अध्ययनको प्रबन्ध गरिनेछ जसले गर्दा नेपाली इतिहास, सभ्यता तथा मौलिकताको जगेर्नाका साथै सम्पदा संरक्षण तथा प्रचारप्रसारमा ठुलो सघाउ पुग्नेछ ।
५. नगरपालिकाभित्रका मठ, मन्दिर, गुफा र अखाहाहरुमा भरने साधु ,सन्त, फकिरा लागि औषधी उपचारको व्यवस्थापन र आफन्त नभएका असहाय, अपागता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि पुर्नस्थापना केन्द्र स्थापना गरिनेछ। नगरपालिकामा रहेका पण्डित पुरोहित ज्योतिषीहरुको अभिलेख राखि सम्मानपूर्वक सेवाको अवसर दिई स्तरोन्नति प्रशिक्षणको व्यवस्था गरिनेछ ।
६ नागार्जुन नगरपालिकामा अवस्थित आदेश्वर महादेव मन्दिरको विस्तृत गुरु योजना निर्माण गरी पुनः निर्माण कार्यलाई अगाडि बढाइनेछ।
७ काठमाडौका चार नारायणमध्येका कान्छा नारायणका नामले परिचित इचंगुनारायण मन्दिरको पुनः निर्माण कार्यलाई पूर्णता दिइनेछ।
८. नागार्जुन नगरपालिकाका नर्सरी भन्ज्याङ, भिमदुगा, रामकोट, स्वीजरल्याण्ड पार्क, सेतो गुम्बा, इचडुनारायण मन्दिर हुँदै बाइसधारा, वडा नं. १ को पचली भैरव मन्दिर देखि जामाचो, थाप्ले,बडा नं. १ रानीवन क्षेत्रमा पर्यटन बोर्ड तथा अन्य संघ तथा प्रदेश सरकारका निकायहरुसंगको सहकार्यमा पदमार्ग तथा हाइकिङ मार्ग निर्माण गरिनेछ ।
९. पर्यटकीय क्षेत्रहरु, पार्क, सम्पदा क्षेत्रमा सेवा सुविधाको स्थिती तथा नगरपालिकाले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा सरोकारवालाहरु सँग रचनात्मक सुझाव तथा राय सल्लाह एवम् पृष्ठपोषण लिनका लागि QR Code राखी सो मार्फत प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्यहरु गरिनेछ ।
१०. दीर्घकालीन रुपमा सार्वजनिक निजी साझेदारी (Public Private Partnership) मोडेलको रुपमा जामाचो आवत जावत गर्न केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ। ११. नगर क्षेत्रभित्रका होमस्टेहरूको क्षमता विकासमा ध्यान दिइनेछ। होमस्टेबाट प्रबाह हुने सेवा सुविधाहरु गुणस्तरीय एवम् सेवामुखी बनाउन नियमन तथा अनुगमनमा जोड दिइनेछ ।
१२. नगरपालिका क्षेत्रभित्रका सम्पदा, पदमार्ग लगायतका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि तारे होटल, जहाजका सिट तथा विमान सेवा प्रदायक कम्पनीहरुको बोसरहरुमा उक्त गन्तव्यहरुको चिनारी, महत्व तथा तस्वीरहरु समावेश गरिनेछ ।

ड. सहकारी
१. सहकारी संस्थाहरुसंगको साझेदारीमा नगरपालिकाले विभिन्न सामाजिक, परोपकारी तथा विकास निर्माणका कार्यहरु गर्नेछ । नगरपालिकासँग साझेदारी गरी उत्कृष्ट नतिजा हासिल गर्ने सहकारी संस्थालाई पुरस्कृत गर्ने तथा त्यस्ता सहकारीसंग नगरपालिकाले थप साझेदारीका कार्यक्रमहरु अगाडी बढाउनेछ ।
२. सहकारी संस्थाहरुलाई उत्पादनशील एवम् रोजगारी प्रवर्द्धनका क्षेत्रमा लगानी बढाउन, वित्तीय साक्षरता प्रवर्द्धन गर्न तथा गरिब एवम् कमजोर वर्ग र समुदायमा वित्तीय पहुँच पुर्याउनका लागि प्रोत्साहन गरिनेछ ।
३. सहकारी मार्फत हुने वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन नियमित रुपमा नियमन र अनुगमनको व्यवस्था मिलाइनेछ ।
४. नगरपालिकाभित्र आर्थिक क्रियाकलापहरुको विकास तथा विस्तारका लागि सबै क्षेत्रका उद्यमीहरुलाई लगानीको वातावरण सृजना गर्न नगरपालिकाले आवश्यकतानुसार सहकारीहरुलाई सहजीकरण गर्नेछ ।
५. सहकारी संघसंस्थाहरुको वित्तीय कारोबार लगायत सम्पूर्ण गतिविधिहरुको विवरण सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) मा अनिवार्य रुपमा अद्यावधिक गराउने प्रबन्ध मिलाइने छ ।
६. नागार्जुन नगरपालिका कार्य क्षेत्र भई सञ्चालनमा रहेका सहकारी संस्थाहरु एक आपसमा गाभिन र एकीकरणका लागि प्रोत्साहित गरिनेछ ।
७. सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई अनुसरण गर्न गराउन सबै सहकारी संस्थाहरुलाई अभिप्रेरित गरी सदस्यहरुको चेतना अभिवृद्धि गर्न र व्यवस्थापन क्षमता बढाउन सहकारी अनुशिक्षण र तालिमलाई अनिवार्य गरिदै लगिनेछ ।

२. सामाजिक विकास

क. शिक्षा तथा खेलकुद
१. नगरपालिका क्षेत्र भित्र बस्ने विद्यालय वाहिर रहेका सबै वालवालिकालाई विद्यालयमा भर्ना गरिने व्यवस्था मिलाइनेछ ।
२. नागार्जुन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट वार्षिक रुपमा लिने भर्ना शुल्क वा मासिक रूपमा लिने शुल्क खारेज गरी नेपालको संविधानद्वारा प्रदत्त निःशुल्क माध्यमिक शिक्षाको अवधारणालाई लागू गरिनेछ । यसका लागि विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा कार्यविधि निर्माण गरी शिक्षण सिकाई सुधार, विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य, सरसफाई तथा प्राथमिक उपचार एवम् परामर्शका लागि अनुदान उपलब्ध गराइनेछ जसबाट विद्यालयहरुका लागि शिक्षण सिकाईमा सुधार गरी विद्यार्थीहरुलाई प्रयोगात्मक, जीवन उपयोगी सीप एवम् अतिरिक्त क्रियाकलापहरु सक्रियताका साथ संचालन गर्न प्रोत्साहन मिल्नेछ ।
३.नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने किशोर किशोरीहरुका लागि लागू औषध दुर्व्यसन नियन्त्रण एवम् किशोरी आत्मरक्षा सम्बन्धी तालिमका लागि सुरक्षा निकाय तथा अन्य निकायहरुसंगको सहकार्यमा कार्यक्रम संचालन गरिनेछ ।
४.नगरपालिकाका प्रत्येक वडामा सम्भाव्यता अध्ययनको आधारमा एक/एक स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

५.नगरपालिका क्षेत्र भित्र स्याथी बसोबास गर्ने, सामुदायिक विद्यालयबाट विद्यालय शिक्षा प्राप्त गरेका गरिब, असहाय, सहिद परिवार, अल्पसंख्यक, सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई एमबिबिएस अध्ययन गर्नका लागि मापदण्डका आधारमा छात्रवृत्ति उपलब्ध गराईनेछ ।
६. बालमैत्री सिकाईलाई प्राथमिकता दिइनेछ ।
७. शिक्षाको अवसरबाट वञ्चित रहेका बालबालिकाको बालश्रम निषेध गर्न अनुगमन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
८. अनौपचारिक तथा जीवन पर्यन्त सिकाई, पूर्व प्राथमिक तथा आधारभूत शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाको विकासको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन शैक्षिक योजना बनाइ लागु गरिनेछ ।
९.सबै बालबालिकालाई समान गुणस्तरको शिक्षा प्रदान गर्न प्रत्येक वडामा एउटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकसित गर्ने र वडामा रहेका व्यवस्थित निजी
विद्यालयहरुसंग शिक्षा प्रणाली सुधारको सहकार्य गरी उक्त मोडल अरु सरकारी विद्यालयमा अनुसरण गर्ने वातावरण तय गरिनेछ ।
१०. शिक्षकहरुको क्षमता वृद्धि गर्ने र प्रोत्साहनको लागि नतिजाको आधारमा उत्कृष्ट शिक्षकको पहिचान गरी वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।
११. गुणस्तरीय शिक्षाको लागी आवश्यक भौतिक प्रबन्ध, तालिम तथा नवीन विधि र प्रविधिको प्रयोगमा ल्याउने वातावरण सिर्जना गरिनेछ ।
१२. विद्यालयस्तर देखि नै खेलकुद विकास गर्न विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको रुपमा खेलकुदमा सहभागी गराउने तथा खेलाडी पहिचान तथा प्रवर्द्धनका लागि विद्यालय तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
१३. कुनै पनि नवप्रवर्द्धनात्मक कामलाई प्रोत्साहित गर्दै युवाहरुलाई नवप्रवर्तनतर्फ अभिप्रेरित गरिनेछ ।
१४. बेरोजगारी कम गर्न स्थानीय माग र आवश्यकता अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्था मिलाइनेछ ।
१५. विद्यालय कर्मचारी लेखापाल, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, सामुदायिक सिकाई केन्द्रका परिचालकहरुको प्रोत्साहन भत्तालाई निरन्तरता दिईएको छ ।
१६. विपन्न परिवारका बालबालिकाको पहिचान गरी उनीहरुको स्वास्थ्य तथा शिक्षामा सहज पहुँचका लागि विशेष आर्थिक प्याकेज ल्याइनेछ ।
१७. नगरपालिका भित्र बोलिने वा प्रयोग गरिने मातृभाषा र कला, साहित्य, संस्कृतिको संरक्षण, संवर्धन र विकास गरिनेछ ।
१८. नगरपालिकाभित्रका विपन्न परिवारका मेधावी विद्यार्थीहरुलाई उच्च प्राविधिक शिक्षा, चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि जस्ता विषयमा अध्ययनको अवसर दिन वार्षिक कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइनेछ । साथै “पढ्दै कमाउ’ कार्यक्रमलाई विशेष प्रोत्साहन दिइनेछ ।
१९. नागार्जुन यक आधारभूत तहको स्थानीय पाठ्यक्रमलाई प्रभावकारी बनाउन पाठ्य पुस्तकको विकास गरिनेछ ।
२०. ICT पूर्वाधार सहितको सुविधा सम्पन्न नगरस्तरीय पुस्तकालय स्थापनाको लागि पहल गरिनेछ ।
२१. नगरक्षेत्रमा कियाशील साहित्यिक संस्था, कलाकर्मीहरुको संस्था तथा साहित्यकार र कलाकारहरुलाई आवश्यक सहयोग, प्रोत्साहन र सम्मान गरिनेछ ।
२२. नगरपालिका भित्रका सरकारी तथा सामुदायिक विद्यालयमा साइवर अपराध सम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गरिनेछ । २३. नगरपालिकामा सदाचार अभिवृद्धिका लागि नैतिक शिक्षा र संस्कृत शिक्षाको पठनपाठनको व्यवस्था गर्दै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा स्थानिय भाषा, धर्म संस्कृति, भौतिक अभौतिक सम्पदा, योग शिक्षा सम्बन्धी पाठ्य सामाग्री समावेश गरिनेछ । २४. नगरपालिकाका पदाधिकारी, कर्मचारी तथा सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा रहेका
पदाधिकारी तथा शिक्षकहरुको छोराछोरीहरु सामुदायिक विद्यालयमा अध्ययन गराउनको लागि प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ ।
२५. फरक क्षमता भएका बालबालिकाहरुलाई अध्ययन अध्यापन गराउने उद्देश्यले विद्यालय स्थापना गर्न चाहने व्यक्ति, संस्था एवम् निकायहरुलाई आवश्यक सहजिकरण एवम् सहयोग उपलब्ध गराईनेछ । २६. नगरस्तरीय वडास्तरीय तथा अन्तर पालिका खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिनेछ। खेलकुद
प्रवर्द्धनका लागि पूर्वाधार निर्माण, प्रशिक्षण तथा क्षमता विकास कार्यक्रमहरुलाई प्रोत्साहन गरिनेछ ।

ख. स्वास्थ्य
१.स्वास्थ्य  मन्त्रालय तथा स्वास्थ्य सेवा विभागको सहयोग र सहकार्यमा नगरस्तरीय आपतकालीन स्वास्थ्य योजना तयार गरी लागू गरिनेछ ।
२. नगरपालिकामा आ.ब.२०८०/८१ देखि नगरस्तरीय अस्पतालको स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
३.नगर बासीहरुका लागि नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा निःशुल्क रगत उपलब्ध गराईनेछ । साथै ब्लड बैंकमा रगतको उपलब्धता बढाउन आवधिक रुपमा रक्तदान कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४. नगरपालिकाभित्रका सबै बडाहरु समेट्ने गरी प्राथमिक उपचार (First Aid ) तालिम सञ्चालन गर्न स्रोत व्यक्तिहरुको नामावली ( Roster) तयार पारिनेछ ।
५.यसै आ.व. देखि नगर अस्पताल सञ्चालन गरी स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गर्न आवश्यक कदम चालिनेछ ।
६अशक्त, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला लक्षित कोलेष्टेरोल, प्रेसर, सुगर जाँच तथा निःशुल्क औषधि वितरणको प्रबन्ध मिलाइनेछ ७. र गर्भवती महिलालाई पोषण, खोप, सुरक्षा आदिको सुनिश्चितता गरिनेछ ।

नगर सभा second

८.कडा तथा दीर्घ रोग जस्तै क्यान्सर ,मुटु तथा मिर्गौला रोगी मानव अङ्ग प्रत्यारोपण गरेका बिरामीलाई मापदण्डको आधारमा आर्थिक सहायता उपलब्ध गराइनेछ।

९. नगर एम्बुलेन्स र शव वाहनबाट निःशुल्क सेवा प्रदान भइरहेकोमा यस कार्यक्रमलाई निरन्तरता दिएको छ।

१०. आयुर्वेदलाई वैकल्पिक चिकित्साको भरपर्दो माध्यमको रूपमा विकास गरिनेछ । त्यसका लागि सम्पूर्ण पूर्वाधारको विकास एवम् कर्मचारीको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ । 

११. आयुर्वेद शाखालाई नगरपालिकाको पायक पर्ने स्थानमा राखी आयुर्वेद औषधालयको रुपमा विकास गरिनेछ ।

१२. नगरपालिकाका सबै वडाहरुमा योग अभ्यास सम्बन्धि कार्यक्रम सञ्चालन गरिनेछ । 

१३. फरक क्षमता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराईनेछ । 

१४. महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपलब्ध गराउदै आई रहेको प्रोत्साहन रकमलाई निरन्तरता दिइनेछ ।

ग. खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन

१. खानेपानी उपभोक्ता समिति मार्फत उपलब्ध हुने पानी सर्वसुलभ, सहज, समानुपातिक र सेवा शुल्कमा एकरुपता कायम गर्ने गुणस्तरीय खानेपानी उपलब्ध गराउने लगायतका विषयहरुलाई कानून तर्जुमा गरी व्यवस्थित गरिनेछ । 

२. नागार्जुन नगरपालिका क्षेत्र भित्रका खानेपानी आयोजनाहरु तथा वितरण प्रणालीलाई एकीकरण गरी सम्पूर्ण नागार्जुन बासीलाई सुरक्षित खानेपानीको प्रबन्ध गर्न एसियाली विकास बैंकसँग सहकार्य गरिनेछ । सोका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्य अगाडी बढाइनेछ ।

३. नगरपालिका भित्र उपलब्ध खानेपानीको स्वच्छता मापन गरी प्राप्त नतिजाका आधारमा उचित कदम चालिनेछ । 

४. नगरपालिकाका सबै वडामा क्रमशः पुग्ने गरी मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको लागि पाइप लाइनको विस्तार, रिजर्भ ट्यांकी निर्माण तथा अन्य संरचना एवम् पूर्वाधार निर्माण गर्नका लागि समन्वय एवम् सहजिकरण गरिनेछ ।

५. नगरपालिका क्षेत्रभित्र भएका मुहान, खोल्सा खोल्सी, कुवा, पोखरी, धारा तथा भूमिगत पानीको संरक्षण एवं व्यवस्थित रुपमा संचित गरी वितरण गरिनेछ ।

६. नगरक्षेत्रभित्र रहेका खानेपानी योजनाहरुलाई एकिकृत गरी वितरण प्रणालीलाई प्रभावकारी बनाउन खानेपानी बोर्डका अवधारणको विकास गरिनेछ ।

७. सतही तथा भूमिगत पानीको स्रोतको पुनर्भरणको लागि प्रत्येक वडाको सार्वजनिक, सरकारी जग्गामा कम्तिमा ११ वटा रिचार्ज पोखरी बनाई आकासे पानीलाई जम्मा गरी सिधै प्रयोग गर्न सकिने अथवा पुनःभरण (Recharge) को रुपमा प्रयोगमा ल्याइनेछ ।

८. नगरपालिकाबाट भवन निर्माणको इजाजत जारी गर्दा अनिवार्य रुपमा सकपिट निर्माण गर्नु पर्ने व्यवस्थाको प्रभावकारी साथ कार्यान्वयनमा ल्याईनेछ । 

९. फोहोर व्यवस्थापनको लागि सम्भाव्यता अध्ययन तथा पूर्वाधार निर्माण गर्नको लागि उपयुक्त स्थानको पहिचान एवम् पूर्वाधारको विकास गरिनेछ ।

१०. नगर क्षेत्र भएर बग्ने मनमति, भद्रमति, घट्टेखोला लगायतका खोलाहरुको सरसफाइ, संरक्षण तथा सौन्दर्यीकरण गरिनेछ । ११. फोहोरमैला व्यवस्थापन योजना (Solid Waste Management Plan) बनाई कार्यान्वयनमा ल्याइनेछ । 

१२. फोहोरमैला व्यवस्थापन गर्न आवश्यकतानुसार प्रशोधन यन्त्रको स्थापना गरिनेछ । 

१३. प्लाष्टिक तथा रवरजन्य नकुहिने फोहोर र कुहिने फोहोरलाई स्रोतमै वर्गिकरणको व्यवस्था मिलाउन नगरवासीको समेत संलग्नतामा पहल गरिनेछ । 

१४. सिसा, फलाम, प्लाष्टिक, कागजजन्य फोहोर पुनः प्रयोगमा ल्याउने व्यवस्था मिलाइनेछ ।

घ. लैंगिक समानता तथा सामाजिक समावेशीकरण एवम् लक्षित वर्ग

१. लिङ्ग, जाति, धर्म, सम्प्रदाय आदिका आधारमा हुने सबै खालका विभेदलाई अन्त गर्दै समावेशी सिद्धान्तको आधारमा अवसरको वितरण र सशक्तिकरणका लागि कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ ।

२. महिला, जनजाति, दलित, बालबालिका, फरक क्षमता, जेष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न लैङ्गिक तथा सामाजिक समबेसीकरण नीतिले सिफारिश गरेका सवै कार्यक्रमहरुलाई प्राथमिकताका साथ संचालन गरिनेछ ।

३. लैङ्गिक उत्तरदायी बजेट नीति अनुसार नगरका सबै नीति तथा कार्यक्रम र बजेटलाई लैङ्गिक परीक्षण र झुकावको विश्लेषणसहित विभाजन गरिनेछ।

४.अपाइता भएका नगरवासीलाई आवश्यक सीप विकास, क्षमता विकास तथा जिविकोपार्जनका कार्यक्रम सञ्चालन गरी अपाङ्गता सहायता निर्देशिकाले सिफारिश गरेका सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।

५. यस नगरपालिकाभित्र कसैले पनि सडक पेटी एवं सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवन बिताउन नपने अवस्था सिर्जना गरिनेछ। यसका लागि विभिन्न संघसंस्थासंगको सहकार्यमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नागार्जुन नगरपालिका घोषणा गरिनेछ ।

६. आर्थिक सामाजिक रुपमा विपन्न र पिछडिएका लक्षित व्यक्तिहरुको सशक्तिकरणका लागि माग र आवश्यकताको आधारमा क्षमता विकास कार्यक्रम तथा बजेट व्यवस्था गरिनेछ । ७. आर्थिक तथा सामाजिक क्षेत्रमा पछाडी परेका दलित समुदाय तथा गरिब घर पहिचानका आधारमा वर्गीकृत भएका विपन्न वर्गलाई विशेष प्राथमिकता दिइ स्वरोजगार तथा जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

८. यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक हित संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।

९. लैङ्गिक हिंसा विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।

१०. जेष्ठ नागरिक तथा बालवालिकाको तथ्यांक अध्यावधिक गरिनेछ ।

३. पूर्वाधार विकास

क. सडक तथा पुल 

१. नगरस्तरीय यातायात गुरुयोजना तयार गरी लागू गरिनेछ ।

२. नगरपालिका क्षेत्रभित्रका सडक सञ्जालको नियमित मर्मत संभार एवं विकास गर्नको लागि नगरस्तरीय एकीकृत विकास कोष खडा गर्न आवश्यक पहल गरिनेछ ।

३. नगरपालिकाका सबै वडालाई समट्ने गरी नगर रिङ्गरोडको अवधारणामा बाटो निर्माण एवं विस्तार गरिनेछ ।

४.प्रत्येक वडालाई मुख्य सडक सञ्जालसँग जोड्न विकास बजेटको उपलब्धताका आधारमा सहायक बाटाहरु निर्माण एवं विस्तार गर्दै लगिनेछ ।

५.सडक विभागसँग समन्वय गरी आवश्यक ठाउँमा पुल तथा कल्भर्ट निर्माण तथा मर्मत गरिने छ ।

६.पैदल यात्रीहरुको सुविधाको लागि सडक पेटीको यथोचित प्रबन्ध र सुधार गरिनेछ ।

७. सडकमा छुट्टै साईकल लेन निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

८.नगरपालिकाभित्र प्रवेश गर्ने रिङ्गरोडसंग जोडिएका मुख्य नाकाहरु दुगेधारा, सानो भर्याङ्ग, ठुलो भर्याङ्ग, स्वयम्भू, कारखाना चोक, सीतापाइला र स्यूचाटारका सडकमा ट्राफिकसँग सहकार्य गरी पार्किडलाई व्यवस्थित गरिनेछ।

९. सडक यातायातको जोखिम न्यूनीकरण तथा व्यवस्थित गर्न ठाउँ पहिचान गरी सिसि क्यामरा जडान गरिनेछ ।

१०. साँघुरा सडकमा आवश्यक मात्रामा सूचना, संकेत तथा सडक बत्ती राखिनेछ ।

११. सडक, पेटी, ढलको नियमित मर्मत सम्भारको लागि आवश्यक व्यवस्था मिलाइनेछ । 

१२. नगर भित्रका मुख्य सडकहरुलाई मर्मत सम्भार गर्न बजेट व्यवस्थापन गरिनेछ ।

१३. ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयसंग समन्वय गरी नगरपालिका क्षेत्र भित्र २० वर्ष पुरानो तथा समस्याग्रस्त सवारी साधन हटाउने, विद्यार्थी ,जेष्ठ नागरिकहरुलाई दिइने छुटको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनेछ।

१४. निजी क्षेत्रसँग सहकार्य गरी नगरपालिका क्षेत्र भित्र सार्वजनिक यातायात सञ्चालनको प्रबन्ध मिलाइनेछ।

१५. नगरपालिका क्षेत्रभित्र सडक बत्ती, सिसि क्यामरा तथा खानेपानी लगायतका पूर्वाधारहरु नियमित रूपमा मर्मत सम्भार गरी सञ्चालन गर्न आवश्यकता अनुसार जनशक्तिको व्यवस्थापन

गरिनेछ ।

ख. भवन तथा सहरी विकास

१. नगर (शहरी विकासको बढ्दो क्रमलाई योजनाबद्ध ढंगले व्यवस्थित गर्न कानूनी आधार सहितको “नागार्जुन नगरपालिका सहरी योजना कार्यालय स्थापना गरिनेछ ।

२. राष्ट्रिय भवन संहिता तथा भवन निर्माण मापदण्ड पूर्ण रुपमा लागू गर्ने, मापदण्ड पूरा नभएका घर तथा टहरा साथै सटरलाई मापदण्ड तथा नक्सा पास प्रकृयामा ल्याई व्यवस्थित गरिनेछ ।

३. नगरपालिका भित्र मिति २०७४ साल असोज मसान्त भित्र निर्माण भएका मापदण्ड विपरितका भवनहरुको अभिलेखिकरण गरिनेछ । साथै आवश्यक मापदण्ड तयार गरी लागू गरिनेछ ।

४. सुरक्षित आवास तथा जोखिम न्यूनीकरणको लागि वार्षिक एकजना इन्जिनियर डिजाइनरलाई र दुईजना डकमी /सिकर्मीको तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सृजना गरिनेछ । 

५. नगरपालिकाबाट प्रदान गरिने भवन निर्माण इजाजतका विषयमा E-Building Permission System लागू गरिनेछ । ६. नगरपालिका भित्र व्यवसायिक बस्ती विकास (जग्गा प्लटिङ्ग), हाउजिङ्ग कार्य गर्दा अनिवार्य रुपमा काठमाडौ उपत्यका विकास प्राधिकरणको मापदण्ड अनुसार भूजोखिम सम्वेदनशिलता, ढल

निकास, खुल्ला क्षेत्र बाटोको मापदण्ड, खानेपानी, बिजुली बत्ती लगायतका पूर्वाधारहरुको व्यवस्थापन गर्नु पर्नेछ । 

७. ठूला तथा व्यावसायिक भवनमा अनिवार्य पार्किङ्ग राख्नुपर्ने र त्यस्ता भवनलाई समिति बनाई अनुगमन गरी व्यवस्थित गरिनेछ।८. नगरपालिका भित्र Energy Efficient Building निर्माण गर्न तथा Clean Energy को प्रयोगमा प्रवर्द्धन गरिनेछ ।

९.नेपाल सरकारको खर्चमा निर्माण भएको भवन व्यवसायिक रुपमा भाडामा लगाईएको अवस्थामा नगरपालिका बिटौरी शुल्क लगाई प्रतिस्पर्धात्मक हिसाबले भाडामा लगाइनेछ । साथै नगरपालिकामा प्राप्त शुल्कको निश्चित प्रतिशत रकम उक्त संघसंस्था तथा भवनको मर्मत संम्भार, संरक्षणका लागि उपलब्ध गराइनेछ । 

१०. नगरपालिकाको वडा नं १ देखि १० सम्मका प्रत्येक वडाको दुई वटा स्थानमा बृद्ध अपाग,बालमैत्री हिसाबले व्यायामशाला सहितको पार्क निर्माण गरिनेछ । 

११. नगर क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत पोल, विज्ञापन फुलेक्स तथा तार सम्बन्धित निकायसँगको सहकार्यमा व्यवस्थित गरी शहरी सौन्दर्यकरण गर्ने व्यवस्था मिलाइनेछ । 

१२. नगरपालिकाको डिजिटल प्रोफाइल तथा घर नम्बर राख्ने कार्यलाई अगाडि बढाइनेछ ।

४. वातावरण तथा विपद् व्यवस्थापन 

क. वातावरणीय स्वच्छता, जैविक विविधता एवं पर्यावरण संरक्षण

१. नगरपालिकाभित्रका सार्वजनिक वन क्षेत्रमा पुराना रुखहरुको उपयोग र व्यवस्थापन गरी नयाँ वृक्षारोपण कार्यक्रमहरु सञ्चालन गरिनेछ । 

२. नगरपालिका भित्र बाढी पहिरो जाने क्षेत्रको पहिचान गरी जोखिम न्यूनीकरणको लागि आवश्यक योजना सहित Protection, Bio-engineering, Rain water diversion, Gabin wall को निर्माण गरिनेछ ।

३.नगरपालिकालाई पलास्टिकमुक्त क्षेत्र घोषणा गर्नको लागि कार्य योजना तयार गरी लागू गरिनेछ । यसका लागि स्थानीय उद्यमीहरुबाट उत्पादित कपडाको झोला प्रवर्द्धन गर्नका लागि अभियान सन्चालन गरिनेछ ।

४. नगरपालिकाभित्रका जनाधार क्षेत्रको बृहत संरक्षण योजना बनाई लागू गरिनेछ ।

५. वर्षातमा संचित पानीलाई खानेपानी तथा सिचाईमा उपयोग गरिनेछ ।

६.खोलानाला बोल्सा खोल्सीमा ढल तथा सेफ्टी ट्यांकी लगायत विषादी मिसाउने कार्यलाई कानुनको दायरामा ल्याईनेछ । 

७. नगर क्षेत्रभित्र रहेका सार्वजनिक दुगेधारा, इनार, कुवा, पोखरी तथा मुहानहरुलाई संरक्षण गरिनेछ ।

८. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी वातावरण, जनाधार, जैविक विविधता,चराचुरुङ्गी तथा पर्यावरण संरक्षण गर्ने व्यवस्था मिलाइनेछ ।

ख. विपद् व्यवस्थापन

१. नगरपालिकास्तरीय तथा वडास्तरीय समिति गठन गरी विपद् व्यवस्थापनको कार्ययोजना निर्माणगरिनेछ । 

२. नागार्जुन नगरपालिकामा विपद् तयारी, जोखिम आंकलन, जोखिम पूर्व चेतावनी, विपद् प्रतिकार्यको तयारी तथा विपद् न्यूनिकरण र पुनर्लाभको क्रियाकलापहरु सञ्चालन गर्ने विद्यमान संरचनालाई चुस्त र दुरुस्त बनाइनेछ ।

३. विपद् पश्चात क्षतिपुर्ति पुर्नभरण, राहत व्यवस्थापन र पुनर्निमाणको लागि बीमा लगायत जोखिम हस्तान्तरणका सम्भाव्य उपायहरुको अध्ययन गरिनेछ । 

४. भवनको हुन सक्ने आगलागीको सम्भावना वन डढेलो लगायतका घटना नियन्त्रणका लागि उपयुक्त आधुनिक उपकरणको व्यवस्था गरिनेछ ।

५. नगरपालिकामा वातावरण तथा विपद कोषलाई व्यवस्थापन गर्न कोष संचालन कार्यविधिको निर्माण गरिनेछ ।

६. वडास्तरीय समितिले विपद Focal person तोकी समुदायसँगको समन्वयमा कार्यसम्पादन गर्ने व्यवस्था मिलाइनेछ। 

७. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, सुरक्षित आवास जस्ता तालिमहरु सञ्चालनमा ल्याइनेछ । 

८. विपद् जोखिम न्यूनीकरणका लागि नगरपालिकास्तरीय स्रोतव्यक्तिहरुको नामावली ( Roster) तयार गरिनेछ ।

५. संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन

क. मानव संसाधन विकास

१. नगरपालिकाको संस्थागत क्षमता विकासको लागि मानव श्रोत विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

२. नगरपालिकामा आवश्यक पर्ने विभिन्न तहका विभिन्न सेवा समूहको जनशक्तिको आवश्यकता पहिचान गरी आपूर्ति व्यवस्था मिलाउन संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने छ । 

३.आवश्यक संरचनाको निर्माण गरी भौतिक सामाग्री एवं प्रविधिको व्यवस्था मिलाइनेछ । 

४.नगरपालिकाका कर्मचारीको पदीय कार्यविवरण (Job Description ) तयार गरी जिम्मेवारी दिइनेछ ।

५. नगरपालिकाका कर्मचारीलाई पुनर्ताजगीकरण र आवश्यकता अनुसार अन्य तालिमको व्यवस्था मिलाइनेछ। 

६.नगरपालिकामा रहेका पुराना अभिलेखहरूलाई Digitize गरिनेछ। साथै Backup राख्ने प्रबन्ध मिलाइनेछ ।

७. नगरको क्षेत्रगत विषयगत र समग्र विकासका लागि नेपाल सरकारका उच्च प्रशासक, विद्यावारिधि गर्नु भएका महानुभावहरु, विभिन्न संघसंस्थाका नेतृत्वदायी पदमा रहनु भएका महानुभावहरु, विज्ञहरुको राय परामर्श लिने कार्यलाई उच्च प्राथमिकता दिइनेछ। यसको लागि ७ सदस्यीय विज्ञ समिति गठन गरी निरन्तर रूपमा पृष्ठपोषण लिईनेछ । 

८. नगरपालिकामा विभिन्न प्राविधिक शिक्षालय तथा कलेजबाट प्रशिक्षार्थीहरुलाई ओ.जि.टि. गर्न आउनका लागि उत्प्रेरित एवम् प्रोत्साहित गरिनेछ ।

९ अन्तर पालिका अनुभव आदान प्रदान, जनप्रतिनिधि तथा कर्मचारी क्षमता विकास तथा सेवा प्रवाहका सम्बन्धमा अन्य पालिकाहरूसँग साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ । 

१०. सेवा प्रवाहमा नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुलाई प्रोत्साहित गर्न मापदण्डको आधारमा सम्मान, पुरस्कार तथा उत्प्रेरणाको उचित प्रबन्ध मिलाईनेछ ।

ख. सुशासन तथा सेवा प्रवाह

१. विद्युतीय शासन प्रणालीलाई नगरवासीको पहुँचमा पुन्याई सेवाग्राहीले घर आंगनबाटै सेवा लिन सक्ने प्रणालीको विकास गरिनेछ ।

२. सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउन भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति अपनाइनेछ । 

३. सेवाग्राहीको जिज्ञासा र गुनासो सम्बोधन गर्नको लागि प्रभावकारी व्यवस्था मिलाइनेछ ।

४. नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुको भ्रमण कार्यक्रमलाई निरुत्साहित गरिनेछ ।

५. सेवाको प्रकृति अनुसार मापदण्ड र समयसीमा तोकी नगरपालिका तथा वडा कार्यालयहरुबाट सेवा प्रवाहको व्यवस्था मिलाईनेछ । 

६. सञ्चालित विकास आयोजनाहरु तथा सेवा प्रवाहको विषयमा सार्वजनिक सुनवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण र तेस्रो पक्ष मूल्याङ्कन गर्ने व्यवस्था मिलाइनेछ । 

७. नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक जग्गामा रहेका पार्क, ऐतिहासिक महत्वका स्थानहरु, पूरातात्विक तथा धार्मिक पर्यटकिय स्थलहरुमा Free wifi को व्यवस्था गरी QR Code को प्रबन्ध मिलाइनेछ । 

८. आगामी आ.व. देखि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र सामूदायिक विद्यालयहरुमा अनिवार्य रुपमा Electronic Attendence को व्यवस्था गरिनेछ ।

९.नगरपालिका भित्रका बेरोजगार युवा जनशक्तिलाई Optical maintenance training को व्यवस्था गरिनेछ ।

१०. नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा हेल्प डेक्स राखी एकीकृत सेवा प्रवाहको प्रबन्ध मिलाईनेछ । सोको लागि कर्मचारीहरुलाई आवश्यक क्षमता विकासको प्रबन्ध मिलाइनेछ । ११. नगरपालिका तथा वडा कार्यालयहरुमा आउने सेवाग्राहीहरुका लागि सुविधा सम्पन्न Waiting

Room, पुस्तकालय, निःशुल्क Wifi, चिया तथा पानीको व्यवस्था मिलाइनेछ ।

१२. नगरपालिका क्षेत्रभित्रको शान्ति सुरक्षा, अनुगमन नियमनलाई प्रभावकारी बनाउन कानून निर्माणगरी नगर प्रहरीको गठन एवम् सञ्चालन गरिनेछ ।

ग. वित्तीय अनुशासन एवम् आन्तरिक नियन्त्रण 

१. स्वीकृत बजेटको सीमा भित्र सम्बन्धित शीर्षकमा समयमा बजेट खर्च गरी बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिनेछ । 

२.निश्चित मापदण्डको आधारमा आर्थिक सहायता उपलब्ध गराइने छ ।

३.अनुत्पादक क्षेत्रमा लगानी निरुत्साहित गरी प्राथमिकता प्राप्त क्षेत्रमा मात्र लगानी गर्ने गरी बजेटको कार्यान्वयन गरिनेछ ।

४. सार्वजनिक खरिदमा प्रतिष्पर्धालाई प्रवर्द्धन गरिने र १० लाख भन्दा बढी लागत अनुमान भएका सम्पूर्ण विकास योजनाहरु E-Bidding का माध्यमबाट कार्यान्वयन गरिनेछ ।

५. वित्तीय जोखिम क्षेत्र पहिचान गरी त्यस्ता जोखिम न्यूनीकरणका लागि नगरपालिकामा गरेको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिकाको कार्यान्वयन गरिनेछ । 

६. आर्थिक अनुशासनको लागि संघ र प्रदेशबाट जारी भएको ऐन, कानूनको कार्यान्वयन गर्दै ति कानुनसँग सामन्जस्यता कायम हुने गरी आवश्यकता अनुरुप स्थानीय कानूनहरु निर्माण गरी

लागु गरिनेछ ।

७. ऐन तथा नियमावलीले निर्दिष्ट गरे बमोजिम प्रचलित लेखाका सिद्धान्त र ढाँचाको प्रयोग गरी आय व्ययका अद्यावधिक अभिलेख राखी पारदर्शिता अपनाइनेछ।

८. वित्तीय व्यवस्थापनमा विद्युतीय शासन प्रणालीको प्रयोग गरिनेछ ।

९. प्रचलित कानूनको अधीनमा रही आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराई लेखा परीक्षणबाट औल्याइएका बेरुजुहरु फछ्यौट कार्यलाई उच्च प्राथमिकता दिइनेछ ।

न्याय प्रणाली

१. नगरपालिकाको अधिकारक्षेत्र भित्र पर्ने विषयमा आवश्यकता र औचित्यताको आधारमा क्रमश: कानून निर्माण गरि कार्यान्वयनमा लगिनेछ । 

२. १० वटा वडा तथा कार्यपालिकामा मेलमिलाप केन्द्र स्थापना गरी कार्यान्वयनमा ल्याईनेछ । 

३. स्थानीय तहका मुद्दाहरुमा यथासम्भव मेलमिलापको माध्यमबाट पक्ष विपक्षलाई सहमतिमा ल्याई न्याय निरुपण गरिनेछ । 

४. न्यायिक समितिका पदाधिकारी, कर्मचारी र मेलमिलापकर्ताको क्षमता विकासमा ध्यान दिइनेछ ।

५. न्यायिक समितिमा दर्ता भएका उजुरीहरुको फर्छयौट दर उच्च बनाइनेछ ।

६. नगरपालिकाको न्यायिक समितिबाट भएका निर्णयउपर चित्त नबुझी पुनरावेदन हुँदा निर्णय सदरभए नभएको विषयहरुको अध्ययन गरीनेछ । अध्ययनबाट प्राप्त पृष्ठपोषणका आधारमा न्याय निरुपण प्रक्रियालाइ क्रमश सुधार गर्दै लगिनेछ । 

ङ. सहकार्य, समन्वय तथा साझेदारी

१. विकास निर्माण तथा साझा हितका पूर्वाधार विकास एवं जनमैत्री कार्यक्रमहरुमा संघ, प्रदेश, जिल्ला समन्वय समिति, अन्य स्थानीय सरकार तथा सरोकारवालाहरुसँग आवश्यक सहकार्य, समन्वय तथा साझेदारी गरिनेछ । 

२. विभिन्न विकास साझेदार, निकाय, संघ संस्था तथा नागरिक समूहसँग निश्चित उद्देश्य र प्रस्तावमा आधारित विषयमा लागत साझेदारीमा आयोजना तथा कार्यक्रम सञ्चालन गरिनेछ ।

३. नगर क्षेत्रका युवा क्लब, संघ संस्था, टोल विकास संस्था, सामुदायिक संस्था, निकुन्ज, सहकारी संस्था तथा नीजि क्षेत्रसँग नगरको विकासमा टेवा पुग्ने तथा दीगो विकासका लक्ष्य हासिल गर्न योगदान पुग्ने कुनै पनि आयोजना तथा कार्यक्रमहरुमा साझेदारीलाई प्राथमिकता दिइनेछ । 

४. नगरपालिकाका वडाहरुमा क्रियाशील संघ, संस्था, खानेपानी उपभोक्ता समिति एवं अन्य उपभोक्ता समिति / समूहहरूले आफ्‌नो उद्देश्य अनुरुप विधिवत रुपमा कार्य गरे नगरेको सम्बन्धमाअनुगमन मूल्यांकन समेत गरीनेछ।

घ, संस्था र उपभोक्ता समिति समूहहरुलाई प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक काम कारवाही, सुशासन नियमन र समन्वयको व्यवस्था मिलाइनेछ ।