‘राजनीति नै हाम्रो पेशा हो।’

एक पटक भियतनामका राष्ट्रपति होचिमिन्ह भारत भ्रमणमा आएका थिए। सो भ्रमणको समयमा एउटा मिटिंगका क्रममा भारतका मन्त्रीहरुसँग उनको कुराकानी हुन थाल्यो । सो सम्वादका क्रममा होचिमिन्हले भारतीय मन्त्रीहरुलाई सोधे – ‘तपाईहरु के काम गर्नु हुन्छ ?’
भारतीय मन्त्रीहरुले सहज रुपमा जवाफ दिए – ‘हामीहरु राजनीति गर्छौ। ‘
होचिमिन्हले यो उत्तर बुझ्न सकेनन्।
उनले फेरि सोधे – ‘मेरो मतलब तपाईहरुको पेशा के हो ?’
भारतीय मन्त्रीहरुले जवाफ दिए- ‘राजनीति नै हाम्रो पेशा हो।’
होचिमिन्ह ले अलिक चिडिदै भने- ‘सायद तपाईहरुले मेरो भनाइको मतलब बुझ्न सक्नु भएन । राजनीति त म पनि गर्छु तर पेशाले म किसान हु, म खेति गर्छु। खेतिबाटै मेरो आजीविका चल्छ। बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु, दिउँसो राष्ट्रपतिको रुपमा आफ्नो दायित्व र कर्तब्य निर्बाह गर्छु।’
यो कुरा सुनेर भारतीय प्रतिनिधिमण्डल स्तब्ध भयो। उनीहरुसंग यो कुराको कुनै जवाफ नै थिएन। अनि फेरि होचिमिन्हले त्यही कुरा सोधे पछि एक जना भारतीय मन्त्रीले लज्जित हुँदै भने- ‘राजनीति गर्नु नै हामी सबैको पेशा हो।’
नेपालको अवस्था पनि भारत जस्तै छ, फरक छैन। यहाँ पनि राजनीतिलाई आफ्नो मूल पेशा बनाउने व्यक्तिहरुकै हालीमुहाली छ। उनीहरू केही गर्दैनन्, परजीवी हुन् । तर पेशाविदहरूलाई नै तिनले उपदेश दिन्छन् र आफै जान्ने पल्टन्छन्। न शिक्षा छ, न तालिम छ, न ईलम छ, न कुनै पेशा छ, न कुनै सीप छ, न कुनै जीवनमा ठोस काम गरेको प्रोफाईल छ। जो केही जान्दैनन् तिनै महाजान्ने पल्टन्छन्। बिना ईलम वा व्यबसाय अर्बपति, करोडपति छ, विलासी जीवन तिनकै छ । सिनको भॉच्न आउदैन तर मैले नै सबै गरेको भनेर फुईँ दिन्छन्।
ooo