Advertisement

चैत्राष्‍टमीको पूजा कार्यक्रम सम्पन्न ।

२०७९ चैत्र १५, बुधबार १२:२१
७१
तीखोकलम

पोखरा, चैत्र १५ गते ।
नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैत्राष्टमी (चैते दशैं) को अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा निशान तथा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले एक कार्यक्रमका बीच निशान तथा मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना समेत गर्नुभएको छ ।
उक्त अवसरमा उहाँले कुभिन्डो तथा बलि पूजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नुभयो र प्रहरीको एक टुकडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवं देविदेवताहरुलाई सलामी अर्पण समेत गरेको थियो ।
कार्यक्रममा चैत्राष्टमी (चैते दशैँ) को शुभकामना व्यक्त गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ । साथै उहाँले उक्त पूजाका विभिन्न विधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाँधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गर्नुभएको छ ।
कार्यक्रम कै अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोईराला, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेल, पोखरा स्थित बिभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा पुष्प अक्षता सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।
साथै, चैत्राष्टमी कै अवसरमा प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा रहेको भगवती मन्दिरमा पुजा आरधना गर्नुभएको छ ।