Advertisement

इचंगु नारायण मन्दिरकाे शिलान्यास

२०७९ फाल्गुन २३, मंगलवार १६:३५
१३५
Ashok Pokharel

­फाल्गुन २०,२०७९ नागार्जुन, काठमाडौँ।

काठमाडौँ जिल्लाका प्रसिद्ध नारायणहरु मध्ये कान्छा नारायण भनेर चिनिने काठमाडौ जिल्लाको उत्तर-पश्चिम वायव्य कोण नागार्जुन नगरपालिका वडा नम्बर ३ मा अवस्थित ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय तथा पौराणिक स्थल इचंगुनारायण मन्दिरको आज पुनर्निर्माण कार्यको शिलान्यास कार्य सम्पन्न भयो। २७ मंसिर २०७९ मा क्षमा  पूजा गरी जगै सम्म भत्काएर पुननिर्माणको लागि शिलान्यास गरिएको हो। क्त शिलान्यास कार्यक्रममा काठमाडौँ संघीय निर्वाचन क्षेत्र नम्बर ७ का सांसद माननीय श्री गणेश पराजुली,नागार्जुन नगरपालिकाका प्रमुख श्री मोहन बहादुर बस्नेत ,काठमाडौ महानगरपालिकाका निवर्तमान प्रमुख श्री विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिकाका उपप्रमुख श्री सुशिला अधिकारी, नागार्जुन नगरपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियर श्री कन्चन खनाल, नागार्जुन नगरपालिका प्रशासन तथा योजना शाखा अधिकृत श्री  नारायण प्रसाद तिमिल्सिना, नागार्जुन नगरपालिका वडा नं ५ मा कार्यरत इन्जिनियर श्री नरेन्द्र श्रेष्ठ, नागार्जुन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री उमेश लामा, वडा नम्बर ३ का वडा सदस्यहरु श्री बमबहादुर श्रेष्ठ, श्री सञ्जु थापा बुढाथोकी, वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष श्री प्रेमलाल श्रेष्ठ,नागार्जुन नगरपालिका वडा नं २ का वडा सचिव श्री सिद्धार्थ श्रेष्ठ, इचंगुनारायण स्वास्थ्यचौकी वडा नं ३ मा कार्यरत सि.अ.न.मी, श्री राम कुमारी श्रेष्ठ, इचंगुनारायण  संरक्षण समितिका निवर्तमान अध्यक्ष कुल बहादुर श्रेष्ठ, गोरखा काठमाडौँ नागार्जुन सेवा समितिका अध्यक्ष श्री जीव नाथ अधिकारी, समाजसेवीहरु श्री सुरेन्द्र श्रेष्ठ,श्री शङ्ख वीर पुतुवार ,श्री खड्गमान श्रेष्ठ बलभद्र श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ ,धनबहादुर श्रेष्ठ, तिलक खड्का, नवीन लामा, रवीन  श्रेष्ठ, श्याम श्रेष्ठ लगाएत स्थानीय जेष्ठ नागरिक, भद्रभलादमी सामाजिक तथा व्यवसायिक युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।­

­

इचंगुनारायण मन्दिरका मुल पुजारी श्री मद राजोपाध्यायले तान्त्रिक, वैदिक विधि अनुसार शिलान्यासको लागि आवश्यक पूजा सामग्री सहित विधिपूर्वक मन्त्रोच्चारण गरी तथा इचंगुनारायण संरक्षण समितिका अध्यक्ष श्री श्रीलाल श्रेष्ठले  दियो, कलश गणेश स्थापना गरी पूजा गरेर शिलान्यास आरम्भ गरिएको थियो।

 

भगवान श्री नारायण विराजमान हुनुभएको प्रतिमूर्तिलाई वीचमा पारी चारैतिरबाट करिब ५.६फिट गहिराइ ,१.५ मिटर चौडाइकाे वर्गाकार फाउन्डेसन बनाई, मूल ढोका रहने स्थानको ठीक मुनि पर्नेगरी १ र ४ वटा कोणहरुमा कलश स्थापना गर्नको लागि साना खाल्टाहरु(फाउन्डेसन) बनाई तान्त्रिक, वैदिक विधिअनुसार मन्त्रोचारण गर्दै मूल पुजारी श्रीमद राजोपाध्यायले उक्त ठाउँहरु शुद्ध गर्नुभएको थियो भने संरक्षण समितिका अध्यक्ष श्री श्रीलाल श्रेष्ठ र ठेकेदार कम्पनीका प्रमुख ले मूल कलश स्थापना गर्नुभएको थियो

  1. त्यसपछि क्रमशः वैदिक विधि मन्त्रोचारण गर्दै आग्नेय कोणमा रहेको फाउन्डेसनमा संघीय सांसद श्री गणेश पराजुली, नैऋत्य कोणमा रहेको फाउन्डेसनमा नागार्जुन नगरपालिकाका प्रमुख श्री मोहन बहादुर बस्नेत ,वायव्य कोणमा रहेको फाउन्डेसनमा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख श्री विद्यासुन्दर शाक्य तथा इशान कोणमा रहेको फाउन्डेसनमा नागार्जुन नगरपालिकाका उपप्रमुख श्री सुशिला अधिकारीले कलश स्थापना गर्नुभएको थियो भने स्थापना गरिएका पाँचवटै कलशमा नागार्जुन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री उमेश लामाले पूजाअर्चना गर्नुभएको थियो।

नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतले मन्दिर निर्माणमा हामी सबै जुटेर एक भएजस्तै विकास निर्माण कार्यहरुमा पनि एक भएर अगाडी बढ्न सबैलाई अमृत रुपी वचनद्वारा आग्रह गर्नु भएको थियो भने यसरी शिलान्यास गर्न पाउनु ठूलो भाग्य भएको कुरा बताउनुभएको थियो।

मन्दिर निर्माणमा प्रयोग हुने डकर्मी तथा सिकर्मीहरुले प्रयोग गर्ने औजारहरुलाई पूजा गरी बिधिबत रुपमा सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण लाई टिका लगाई नारायण भगवानको प्रसाद वितरण गरिएको थियो।

           इचंगुनारायण को सम्क्षिप्त इतिहास

इतिहासविद् तथा दरबार हाई स्कूलका पूर्व प्राचार्य श्री राम राजा कुँवरका अनुसार हाँडीगाउँ हाल मालीगाउँ क्षेत्रमा ईसाको दोस्रो सताब्दीमा लिच्छवीकालीन राजा हरिदत्त बर्माले एउटै ठूलो शिलाको पीठमा ४ तर्फ नारायणको मूर्ति कुद्न लगाई स्थापना गरेथे ।  ती४ पिठ मध्ये चारवटालाई नै काठमाडौंका चार दिशामा पछि स्थापना गरिएको थियो। ती ४ पीठ मध्ये वायव्य कोणमा रहेको मूर्तिलाई काठमाडौंको वायव्य कोणमा राजा हरिदत्त बर्माले इशाको २६३ विक्रमसंवत् ३२० मा इचंगुनारायण मन्दिर को स्थापना गरेका थिए भन्ने छ । ( डोलागिरी चाँगुनारायणमा हरिको बास छ भनी मानदेव का पूर्वज  हरिदत्तले सानो मन्दिर बनाई पुज्दै आएकोमा ईसाको ३०७ विक्रमसंवत् ४६४ मा मानदेवले हालको चाँगुनारायणको भव्य मन्दिर बनाएका थे। शेष नारायणको स्थापनाको तिथी मिति छैन श्रीकृष्णले स्थापना गरेको भन्ने छ। विशंखुनारायणको स्थापना पनि हरिदत्त ले गरेका भन्ने छ तर तिथि मिति छैन।)

त्यसपछि मन्दिरको रुपमा विक्रमसंवत् २०१५ सालमा राजा महेन्द्रले जिर्णोद्वार गर्नुभएको तथा विक्रम सम्वत २०७२  सालको विनाशकारी भूकम्पले क्षति भएकाले हाल पुनर्निर्माण गर्न लागिएको कुरा संरक्षण समितिका  अध्यक्ष श्री श्रीलाल श्रेष्ठ तथा सचिव श्री रामचन्द्र केसीले बताउनुभयो।

पुनर्निर्माण कार्यको लागि नागार्जुन नगरपालिकाको तर्फबाट रु.(२,००,००,०००) दुई करोड र काठमाडौ महानगरपालिकाको तर्फबाट रु (१,००,००,०००) एक करोड साझेदारीमा सार्वजनिक खरिद प्रक्रियाबाट बहुवर्षीय योजना अन्तर्गत DR construction  कम्पनीले कार्य गरिरहेको छ।

  1. यस्ता ऐतिहासिक तथा पुरातात्विक भवनहरु निर्माण गर्दा इट्टाको धुलो (सुरकी), चुना र बालुवा मिसाई मसला बनाएर इट्टाको वाल लगाउने कुरा constuction कम्पनीका प्रमुख ले बताउनुभयो।

               विश्व सम्पदा सूची

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ७ ख का प्रदेश सभासद श्री प्रकाश श्रेष्ठले पटक-पटक यस ऐतिहासिक स्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने कुरा बताउँदै आइरहनुभएको छ।

मानवीय मस्तिष्क समाज र संस्कृतिको विकाससंगै गहनाका रुपमा स्थापित भएका धरोहर, स्मारक, स्मारक स्थलहरु, बहुमूल्य सम्पदाहरु विश्व मानव जातिका साझा सम्पदा भएकाले यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने उद्देश्यले UNESCO (The United nations Education Scientific And Cultural Organisation)ले विश्वसम्पदा समिति अन्तर्गत विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू लाई विश्वसम्पदा महासन्धिको  रुपमा स्थापित गरी यसको प्रावधानअनुरुप विश्व सम्पदाको रुपमा सूचिकृत गर्ने काम सन् १९७५ देखि सुरु भएको हो। नेपालले सन १९७८मा युनेस्को सदस्य वनेपछि उपत्यकाका अदितिय,अनुपम ,सांस्कृतिक सम्पदाहरूको विशिष्ट विश्वव्यापी महत्व आधिकारिकता एवं अविच्छिन्नताको कारण तिनको संरक्षण एवं व्यवस्थापनका लागि विश्व सम्पदा सूचीमा सूचिकृत गर्न नेपालले गरेको अनुरोधलाई अनुमोदन गरी विश्वसम्पदा सूचीमा समावेश गर्ने निर्णय सन् १९७९ मा गर्यो। काठमाडौँ उपत्यकाका हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ स्तुपा, बौद्धनाथ स्तुपा , चाँगुनारायण मन्दिर र श्री पशुपतिनाथ मन्दिर गरी ७ स्थलहरू, काठमाडौं बाहिरबाट लुम्बिनी, चितवन नेशनल पार्क, सगरमाथा नेशनल पार्क विश्वसम्पदा सूचीमा सूचीकृत छन्।

हाम्रो गहनाको रुपमा रहेको यस ऐतिहासिक, धार्मिक पुरातात्विक, पर्यटकीय तथा पौराणिक स्थल श्री इचंगुनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्नको लागि संरक्षण समिति ,स्थानीय सरकार ,प्रदेश सरकार तथा संघीय सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं। 

हाल श्री श्रीलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय रहेको इचङ्गुनारायण संरक्षण समिति कार्यरत छ।

अध्यक्ष श्री श्रीलाल श्रेष्ठ

उपाध्यक्ष श्री शङ्ख वीर पुतुवार

सचिव श्री रामचन्द्र केसी

सहसचिव श्री सुरेन्द्र श्रेष्ठ

कोषाध्यक्ष श्री केशवलाल श्रेष्ठ

सदस्यहरु श्री सिद्धार्थ श्रेष्ठ, अजित पुतुवार, उर्मिला रानामगर केसी, देवी विष्ट