Advertisement

शिव तत्व के हो ? शिवरात्रि के हो?

२०७९ फाल्गुन ७, आईतवार १२:०७
६९
तीखोकलम

शिव तत्व के हो ? शिवरात्रि के हो?

जय श्रीगणेश ! 🙏
त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या द्रविणम् त्वमेव त्वमेव सर्वम् मम देव देव ॥
ॐ नमो: नारायण !
ॐ श्रीगुरूभ्यो नम: !

सर्वप्रथम महाशिवरात्रिको सु-पावन अवसरमा सम्पुर्णमा सु-स्वास्थ्य,दिर्घायु तथा भौतिक उन्नतिको कामनाको साथसाथै अध्यात्मिक तथा श्रीशिवमय जीवनको हार्दिक मङ्गगलमय शुभकामना व्यक्त गर्दछु ।

“शीङ् स्वप्ने” धातुबाट ” शिव शब्द सिद्ध छ । त्यसैले शिव तत्त्वनै चरम विश्रामको तत्त्व हो । “शेरेते प्राणिनो यत्र स शिव:”
अनन्त पाप-तापहरू बाट उद्विग्न भएर त्यो परम वस्तुमा जीवको लय हुन्छ , त्यही सर्वाधिष्ठान, सर्वाश्रय पद नै शिव पद हो ।
“शान्तं शिवमद्वैतं चतुर्थं मन्यन्ते स आत्मा स विज्ञेय:”
(माण्डूक्योपनिषद् ७)
इत्यादि श्रुतिको वचनानुसार जाग्रत,स्पप्न,सुषुप्ति यी तीन अवस्था बाट रहित सर्वदृश्यविवर्जित, स्वपर्काश , सच्चिदानन्दघन परब्रह्म नै “शिवतत्त्व” हो ।
“वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्र योन्मुलनम्”
(श्रीमद्भागवत १-१-२)
श्रुतिको परम सिमामा जुन परमतत्त्व छ । जुन तत्त्वभन्दा अन्य तत्त्व छँदै छैन । त्यो वेदजनित वास्तव तत्त्व नै “शिवतत्त्व” हो ।

तरपनि त्यही परमतत्त्व आफ्नो दिव्य शक्तिले युक्त भएर अनन्त कोटी ब्रह्माण्डहरूको उत्पादन , पालन एवं संहार गरेर, ब्रह्मा, विष्णु र रुद्र आदि नामलाई धारण गर्दछ ।

शिवजी सर्वाराध्य परम दैवत हुनुहुन्छ

केवल शिवजीलाई नै ईश्वर शब्दले सम्बोधन गरिन्छ । अर्थात् यदि केही अन्य विशेषण नदिई कुनै श्लोकमा ईश्वरशब्द प्रयोग भएमा त्यसको अर्थ स्वत: शिवजीलाई जनाउँछ ।
“ईशान: सर्वविद्यानामीश्वर: सर्वभूतानाम् ।”
” महेश्वररस्त्र्यम्बक एव नापर:”
“ईश्वर: सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठटि ”
अर्थात् “ईशान” नै सवै विद्याहरू एवं भूतहरूको ईश्वर हुनुहुन्छ । उहाँनै महेश्वर तथा उहाँ नै सवै प्राणीहरूका हृदयमा रहनेवाला हुनुहुन्छ ।
अथवा “ईश्वर शर्व ईशान: शंकरश्चन्द्रशेखर:” अमरकोषवाक्य अनुसार साक्षात् महादेव वाचन नै हो ।

“एको रुद्रो न द्वितीयोऽवतस्थे।”
अर्थात् रुद्र केवल एक छन् यहाँ दुई तत्वलाई “न” भनेर श्रुतिवाक्यले परमतत्वलाई एक छ , तथा दुई छैन भनेर नै स्पष्ट बताएको छ । वेदवाक्यले प्रोक्त रुद्र महाकारण वा कार्यकारणातीत शुद्ध ब्रह्म नै हो । “रोदनात् रुद्र” प्रलयकालमा सबैलाई रुलाउने अर्थात् विनाश गर्ने वाला पनि उहाँ नै हुनुहुन्छ ।

शिवजीको सगुणस्वरूपको दिव्यता

भगवानको स्वरूप यस्तो सर्वमनोहारिता छ कि सबै उहाँकै उपासक छन् । कालकूट विष र वासुकिनागलाई गलामा धारण गर्नाले भगवानको मृत्युंजयरूपता देख्दैमा स्वत: स्पष्ट हुन्छ ।
उहाँले जटामुकुटमा श्रीगंगाजीलाई धारण गरेर विश्वमुक्तिको मूलाधारलाई नै स्वाधीन गर्नुभएको स्पष्ट हुन्छ ।
अग्निमय तृतीयनेत्रको समीपमा नै चन्द्रमालाई धारण गरेर आफ्नो संहारकत्व तथा पोषकत्वरूप विरुद्ध धर्माश्वयत्व स्पष्ट हुन्छ ।
सर्वलोकाधिपति भएर पनि विभुति(चिताभस्म) र व्याघ्रचर्मलाई नै आफ्नो भूषण-वसन बनाएर नै संसारको भोग प्रतिको निर्लिप्तता स्पष्ट हुन्छ ।
स्वयं भगवानको वाहन नन्दी , उहाँको शक्ति भगवतीको वाहन सिंह, उहाँका पुत्र गणेश तथा कार्तिकेयको वाहन; मुसो तथा मयूरले द्वन्दरहित शान्तिको स्पष्टता आफैमा एक प्रमाण हो ।
मुर्तिमान त्रिशुल र भैरवादिगण भगवानको सेवामा संलग्न छन् ।
ब्रह्मा,विष्णु तथा उहाँका अवतार राम, कृष्णादि पनि उहाँकै उपसना गर्नुहुन्छ । नर, नाग ,गन्धर्व , किन्नर, सुर ,इन्द्र, बृहस्पति , प्रजापतिप्रभृति पनि शिवजीको उपसनामा तल्लीन छन् ।
यता फेरि तामसले पनि तामस असुर,दैत्य, यक्ष, भुत , प्रेत, पिशाच , वेताल , डाकिनी , शाकिनी आदि भगवानको सेवामा तप्पर छन् ।

श्रीशिवजीको सगुण स्वरूप यति अद्भुत मधुर,मनोहर र मोहक छ कि शिवस्वरूपमा सबै मोहित हुन्छन् । भगवानको तेजोमय , दिव्य , मधुर, मनोहर , विशुद्ध मगंलमयी मूर्तिलाई देखेर स्फटिक, शंख,कुन्द ,दुग्ध , कर्पूरखण्ड ,श्वेतादि , चन्द्रमा सबै लज्जित हुन्छन् । अनन्तकोटि चन्द्रमाको मन्थन बाट समुद्भुत ,अद्भुत , अमृतमय , निषकलंक पूर्णचन्द्रमा पनि उहाँको मनोहर मुखचन्द्र को आभाले लज्जित हुन्छ । मनोहर त्रिनयन , बालचन्द्र एवं जटामुकुटमा दुग्धधवल स्वच्छाकृति गंगाको धारा हठात् मनलाई मोहित पार्दछ । हस्ति-शुण्डको समान विशाल , भूतिभूषित सुडौल , गोलो , तेजोमय अंगद-कंकण-शोभित-शोभित भुजा,मुक्ता-मोतिहरूको हार, नागेन्द्र हार , व्याघ्रचर्म ,मनोहर चरणाविन्द र उहाँमा शोभित नखमणिचन्दृकाहरू भक्तहरूलाई अपार आनन्द प्रदान गर्दछ । हिमालदिको समान धवलवर्ण स्वच्छ नन्दीगणमा विराजमान सदाशक्तिरूपा श्रीउमासङ्ग श्रीशिवजी उस्तै गरेर रहनु हुन्छ जसरी धर्मतत्वरूपी ब्रह्मविद्यासहित ब्रह्म विराजमान हुन्छ 😉😉 ।

शिवोपसना

वेदादि शास्त्रमा भगवान् शिवजीको पूजा-अर्चना र उपासना विभिन्न रूपमा वर्णित छ । केवल भगवान शिव नै सगुण-साकार मूर्त रूप तथा निर्गुण-निराकार अमूर्त दुबै रूपमा पुज्यहुनुहुन्छ अन्य देवीदेवता केवल मूर्तरूपमा पूजन हुन्छन् । शिवपूराणको यस्तो वचन छ ।
शिव मानस पूजा :- शास्त्रमा पूजाको महत्त्व हजारौं गुणा अधिक भएको उपाय बताइएको छ । त्यो पूजाको उपाय हो मानसपूजा । भक्तलाई आफ्नो सुविधानुसार केवल मन:कल्पित यदि फूल चढाए पनि करोडौं फुल चढाउनु बराबर हुन्छ । शास्त्रको यस्तै मत छ । यस्तै प्रकारले मानस(चन्दन, धूप , दीप , नैवेद्य ) पनि भगवानलाई खुशी गराउन पर्याप्त छन् ।😋
वस्तुतः भगवानलाई कुनै वस्तुको आवश्यकता नै छैन उहाँ त केवल भाव चाहनुहुन्छ । संसारमा त्यस्तो कुनै दिव्य वस्तु नै छैन जुन भगवानलाई हामी दिन सकियोस् 😊 यदि त्यस्तो दिव्य वस्तु भएको खण्डमा पनि हामीसङ्ग त्यस्को आधिपत्य छैन किनभने परम भगवाननै जगतको निमित्तोपादनको कारण हुनुहुन्छ ।
त्यसैले शिवमानस पूजा अत्यन्तै सरल तथा फलकारी छ ।
यदि भगवनलाई चंदन चढाउनु पर्यो भने चंदन उपलब्ध नभएपनि भगवानलाई पृथ्वीको गन्धरूपी चंदन चढाउन सकिन्छ ।
(ॐ) लं पृथिव्यात्मकं गन्धं … ।

भगवानलाई पुष्प चढाउनलाई पुष्पको नै आवश्यकता पर्दैन । भगवानलाई आकाशरूपी पुष्प चढाउन सकिन्छ ।
(ॐ) हं आकाशत्मकं पुष्पं… ।
यस्तै गरेर वायुरूपी धुप , अग्निरूपी दिप, अमृतरूपमा नैवेद्य , सर्वात्मारूपमा सबै प्रकारका उपचार तथा जलको धारा स्वत: भगवान शिवजीलाई प्रिय त छ नै ।

महाशिवरात्रि:

महाशिवरात्रि के हो भनेर जान्नु अघि शिव र रात्रि पदच्छेद गरेर यी दुई शब्दमा विचार गरौं । यद्यपि शिव शब्दको अर्थ र केही विस्तार माथी पनि गरिएको छ तापनि यस् विषयमा अझै जानकारी प्राप्त गरौं ।

शिव:
अवश्य नै “शिवजी को हुनुहुन्छ ?” यो जान्न त केवल शिवकृपाले नै संभव छ । वस्तुतः शिवतत्त्व जान्नु नै शिवतत्त्वको साक्षात्कार गर्नु हो ।
“शेरे तिष्ठति सर्वं जगत् यस्मिन् स: शिव: शम्भु: विकाररहित:।”
अर्थात् ” जहाँ सारा जगत् शयन गर्दछ । जो विकाररहित छ त्यही नै “शिव” हो अथवा जो अमङ्गललाई ह्रास गर्ने हुनुहुन्छ , जो सुखमय, मङ्गलरूप “भगवान् शिव” हुनुहुन्छ । जो सारा जगतलाई आफुमा लीन तथा प्रकट गराउनुहुन्छ उहाँ करुणासागर भगवान शिव हुनुहुन्छ । जो भगवान नित्य, जगदाधार , विकाररहित साक्षीस्वरूप हुनुहुन्छ उहाँ नै “शिव” हो । उहाँकै वर्णन निमित्त श्रीपुष्पदन्तजीले शिवमहिम्न: स्तोत्रमा यसरी भन्नु भएको छ ।

त्रयी सांख्यं योगः पशुपतिमतं वैष्णवमिति ।
प्रभिन्ने प्रस्थाने परमिदमदः पथ्यमिति च ।।
रुचिनां वैचित्र्याद्ऋजुकुटिलनानापथजुषां
नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ॥
वेदमत , सांख्यमत , योगमत , पशुपति तथा वैष्णवादी मत रूपी नदिहरूको परम आश्रय महासमुद्ररूपी शिवजी नै एक अखण्ड पर-तत्त्व हुनुहुन्छ । “परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शंकर , मयस्कर, शिव , रुद्र आदि अनेकौं नामले उहाँलाई सम्बोधन गरिन्छ ।
उहाँ नै सर्वव्यापक र सर्वशक्तिमान हुनुहुन्छ । उहाँनै व्यक्त र अव्यक्तरूपले क्रमशः “सगुण ईश्वर” तथा “निर्गुण ब्रह्म” हुनुहुन्छ ।

रात्रि
“रा” दानार्थक धातुले “रात्रि” शब्द बन्दछ । जसले सुखादि प्रदान गर्दछ । उही रात्रि नै हो । किनकी जीव जतिनै क्रियान्वित किन नहोस् उसको विश्रामको आश्रय नै रात्रि हो । जति सुख प्राप्त होस् या जति दुखप्राप्त होस् , उसलाई सुषुप्ति निद्राको कामना त हुन्छ नै । यति मात्र कहाँ होर सानोभन्दा सानो जीव देखी लिएर स्वयं आदिनारायण पनि योगनिद्रालाई प्राप्त गर्नु हुन्छ ।
ऋग्वेद-रात्रिसूक्तको यूप-मन्त्रमा रात्रिको अति प्रशंसा गरिएको छ ।

“उप मा पेपिशत् तम: कृष्णं व्यक्तमस्थित ।
उष ऋणेव यातया ।। ”
(ऋग्वेद १०/१२७/७)
हे रात्रे ! अक्लिष्ट जो तम छ उसलाई हाम्रो नजिक नल्याउनु होस्
रात्रि सधै आनन्ददायिनी छ, अत: सबैको आश्रयदात्री भएको कारण उसको स्तुति गरिएको छ । यहाँ रात्रिक स्तुति प्रकृति, दुर्गादेवी अथवा स्वयं शिवाको स्तुति नै हो भनेर बुझ्नुपर्दछ ।

त्यसैले शिवको अर्थ हुन्छ श्रुतिले भनेको त्यो परम तत्त्व, रात्रिको अर्थ हुन्छ आनन्द दिनेवाला , किनभने “सत्यंज्ञानमनन्तं ब्रह्म” “सत्यं शिवं सुन्दरं” “सत् चित् आनन्द “इत्यादि वचनको अनुशीलनबाट शिवतत्त्वनै आनन्दको घनिभूत तत्त्व हो भन्ने स्पष्ट हुन्छ , त्यो सच्चिदान्द ब्रह्मको नै अचिन्त्यलीला शक्ति नै रात्रि हो भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले शिवरात्रिको अर्थ नै शिवतत्त्व प्रदान गर्ने वाला हो ।

शिवरात्रिको महत्त्व

शिवरात्रि माघ-फाल्गुन कृष्ण चतुर्दशीमा पर्दछ । यस व्रतमा शिवपूजा , उपवास तथा जागरण गरिन्छ । त्यस् दिन शिवपूजा गर्नु एक महाव्रत हो त्यसैले समयलाई महाशिवरात्रि व्रत भनिन्छ ।
परात् परतरं नास्ति शिवरात्रिपरात् परम् ।
न पूजयति भक्त्येशं रुद्रं त्रिभुवनेश्वरम् ।।
जन्तुर्जन्मसहस्त्रेषु भ्रमते नात्र संशय ।
(स्कन्दपुराण)

सौरो वा वैष्णवो वान्यो देवरान्तरपूजक: ।
न पूजाफलमाप्नोति शिवरात्रिबहिर्मुख: ।।
(पद्मपुराण)
यी श्लोकको आशय हो , शिवरात्रि -व्रत परात्पत हो जो जीव यो शिवरात्रिमा महादेवको भक्तिपूर्वक पूजा गर्दैन , त्यो अवश्य नै सहस्रौं वर्षसम्म घुमेको घुम्यै गर्दछ । चाहे सुर्योपासक हो चाहे विष्णु तथा अन्य देवताको उपसाक । जसले शिवरात्रि व्रत गर्दैन उसलाई केही फलप्राप्त हुँदैन ।

“शिवं तु पूजयित्वा यो जागर्ति च चतुर्दशीम् ।
मातु: पयोधररसं न पिबेत् स कदाचन ।।”
(स्कन्दपुराण)
“जसले शिव-चतुर्दशीमा शिवको पूजा गरेर जाग्राम रहन्छ । उसलाई फेरि आफ्नो आमाको दुग्धापान गर्नु पर्दैन (अर्थात् पुनः जन्म लिन पर्दैन मुक्त हुन्छ )

सागरो यदि शुष्येत क्षीयेत हिमवानपि ।
मेरुमन्दरशैलाश्च श्रीशैलो विन्ध्य एव च ।।
चलन्त्येते कदाचिद्वै निश्चलं हि शिवव्रतम् ।
(स्कन्दपुराण)
अर्थात् “चाहे समुद्रको जल सुकोस् या हिमाल क्षय होस अथवा मन्दर ,विन्ध्यादि पर्वत पनि विचलित होउन् तर शिव-व्रत कहिल्यै विचलित (निष्फल) हुँदैन ।

नारायण अखिलगुरो भगवन् नमस्ते – ( श्रीमद्भागवत् )
नमो वरादय विघ्नहत्रे – ( गणेशपूर्वतापिन्युपनिषत् )
शिवाय नमः । शिवलिङ्गाय नमः । आत्माय नमः । आत्मलिङ्गाय नमः । परमाय नमः । परमलिङ्गाय नम: । ( नारायणोपनिषत् )
हर हर महादेव ।।