
महाभारतको एउटा प्रसंग (उद्धव र कृष्ण बीचको संवाद)

महाभारतको एउटा प्रसंग (उद्धव र कृष्ण बीचको संवाद)
एकपटक उद्धवले भगवान कृष्णलाई सोधे-
कौरव र पाण्डवहरुको बीचमा द्युतक्रिडा (जुवा) चलिरहेको समयमा जब दु:शासनले द्रौपदीको चीरहरण गरिरहेको थियो र द्रौपदीले आफ्नो इज्जत गुमाउँदै थिइन्,
तब तपाईंले उनलाई वस्त्र दिएर उनको इज्जत बचाएको दाबी गर्नुभयो !
तर तपाईंले द्रौपदीको इज्जत बचाएको दाबी कसरी गर्न सक्नुहुन्छ ?
उनलाई एउटा ब्याक्तीले घिसार्दै राजसभामा लैजान्छ र त्यति धेरै मानिसहरूको बीचमा निर्वस्त्र गर्न शुरु गर्छ !
एउटा स्त्रीको इज्जत कसरी बच्यो ? तपाईंले के बचाउनुभो ?
यदि तपाईंले संकटको घडीमा आफ्ना आफन्तको मद्दत गर्नुभएन भने तपाईंलाई ‘आपाद-बान्धव’ कसरी मान्न सकिन्छ ?
यदि संकटको घडीमा तपाईंले मद्दत गर्नुभएन भने संकटबाट बचाएको श्रेय तपाइलाई कसरी दिन सकिन्छ ?
के यहि धर्म हो ?
यी प्रश्नहरु सोध्दा सोध्दै उद्धवको गला सुक्न थाल्यो र उनको आँखाबाट बर्बर्ती आँसु झरे….
यी प्रश्नहरु केवल उद्धवका प्रश्न मात्र थिएनन् । यी प्रश्नहरु महाभारत पढ्ने बेलामा हरेक ब्यक्तिको मनोमस्तिष्कमा उठ्ने प्रतिनिधि प्रश्न हुन् !
उद्धवले हामी सबैको तर्फबाट कृष्णलाई प्रतिनिधि प्रश्न गरे ।
भगवान कृष्ण मुस्कुराउदै बोले-
“प्रिय उद्धव, सृष्टिको नियम नै यहि हो कि सधैं विवेकशील मान्छेले नै जित्ने गर्छ ।
त्यो समयमा दुर्योधन संग विवेक थियो, धर्मराज युधिष्ठीर संग थिएन ।
यहि कारणले गर्दा धर्मराज युधिष्ठीर पराजित भए ।”
उद्धवलाई अचम्ममा परेको देखेर कृष्णले थप भने- “दुर्योधनसँग जुवा खेल्नको लागि धेरै धन र सम्पत्ति थियो, तर पासाको खेल खेल्न जान्दैनथे, त्यसैले उसले आफ्नो मामा शकुनीलाई जुवा खेल्न प्रयोग गर्यो । यो विवेक हो । जसरी दुर्योधनले आफुले नजानेको कुरामा आफू अगाडी सरेन र शकुनीको प्रयोग गर्यो, त्यसरी नै युधिष्ठीरले पनि आफ्नो तर्फबाट जुवा खेल्न मलाई सम्झिन सक्थे । यदि उनले त्यसो गरेको भए युधिष्ठीरको तर्फबाट म खेल्ने थिएँ र हारजीतको नतिजाको जिम्मेवारी मेरो हुन्थ्यो ।”
अलिकति विचार गर, यदि शकुनी र म जुवा खेल्थ्यौं भने कसले जित्थ्यो ?
पासाको अंकहरु शकुनीको इच्छा अनुसार आउथ्यो या मेरो इच्छा अनुसार ?
खैर, यो कुरा छोड । उनले मलाई खेलमा सामेल गरेनन् । यसमा उनलाई माफी दिन सकिन्छ ।
तर उनले विवेक-शून्यताको कारण अझै एउटा ठूलो गल्ती गरे । त्यो के भने उनले मसंग बिन्ती गरे कि जबसम्म जुवा चलिरहन्छ, तबसम्म म सभा कक्षमा प्रवेश नै नगरु । अर्थात्, जबसम्म कसैले बोलाउदैनन तबसम्म सभा हलमा प्रवेश नगर्नु भनेर मलाई अनुरोध गरे ।
किनकि युधिष्ठीर मसंग लुकेर जुवा खेल्न चाहन्थे । उनको त्यो सोंचाई नै उनी स्वयंको लागि दुर्भाग्यपूर्ण थियो ।
उनी चाहन्थेनन कि उनी जुवा खेलेको मैले थाह पाउँ !
यसरी उनले मलाई प्रार्थना गरेर बाधे ।
“नबोलाउदा सम्म नआउनु” भनेर मलाई आफुखुशीले सभाकक्षमा जाने अनुमति दिएनन् ।
यति हुदाहुदै पनि म कोठाबाहिर पर्खिरहेको थिएँ, ताकी कसैले मलाई बोलाओस्!
भीम, अर्जुन, नकुल, सहदेव सबैले मलाई बिर्सिए!
मनमनै आफ्नो भाग्य र दुर्योधनलाई सराप्दै जुवा खेलिरहे !!
आफ्नो भाईको आदेशमा जब दु:शासनले द्रौपदीलाई कपालमा समातेर घिसार्दै सभा हलमा लग्यो, द्रौपदी आफ्नो क्षमता अनुसार लडिरहिन !
त्यतिबेला सम्म पनि मलाई कसैले बोलाएन/सम्झिएन….
द्रौपदीको बुद्धि तब जागृत भयो, जब दु:शासनले उनलाई निर्वस्त्र गर्न शुरु गर्यो !
जब उनले आफैमा निर्भरता छोडेर-
‘हरि, हरि, अभयम् कृष्णा, अभयम्’-
भन्दै गुहार लगाइन्, तबमात्र मलाई उनको उनको इज्जत बचाउने मौका प्राप्त भयो ।
जब मलाई भित्रबाट कसैले सम्झियो र बोलायो, म अविलम्ब त्यहाँ पुगें र उनलाई निर्वस्त्र हुनबाट रोकें ।
अब यो स्थितिमा मेरो गल्ती देखाउ !!
उद्धव भन्छन्-
“हे कन्हैया, तपाईंको स्पष्टीकरण प्रभावसाली अवश्य छ, तर मलाई पूर्ण सन्तुष्टि भएन !
के म अझै एउटा प्रश्न सोध्न सक्छु ?”
कृष्णको अनुमति लिएर उद्धवले प्रश्न गरे-
“यसको मतलब तपाईं तबमात्र आउनुहुन्छ, जब तपाइलाई बोलाइन्छ ? के संकटले घेरिएको बेलामा आफ्नो भक्तको मद्दत गर्न तपाईं स्वत: आउनुहुन्न ?”
कृष्ण मुस्कुराए-
“उद्धव, यो सृष्टिमा हरेकको जीवन उसको स्वयंको कर्मफलको आधारमा संचालित हुन्छ ।
मैले कसैको कर्ममा हस्तक्षेप गर्दिन ।
म त केवल एउटा ‘साक्षी’ हुँ र सधैं ‘साक्षी’ कै रूपमा रहन्छु ।
म सदैव तिम्रो नजीक रहेर तिमी जे जे गरिरहेका छौ, त्यसलाई हेरिरहन्छु । तिम्रो काममा हस्तक्षेप गर्दिन ।
यहि इश्वरको धर्म हो ।”
“वाह वाह, यो कस्तो जवाफ हो कृष्ण ?
यसको अर्थ तपाईं हाम्रो नजिकै रहेर हामीले गरेको हरेक दुष्कर्महरुको निरीक्षण गरिरहनुहुन्छ ?
हामी पाप माथी पाप गरिरहन्छौं, अनि तपाईं चुपचाप हाम्रो साक्षी बनेर हेरिरहनुहुन्छ ?
तपाईं के चाहनुहुन्छ ? के आसय हो तपाईंको ?
हामी गल्ती गरिरहौं, पापको चाङ लगाइरहौं र त्यसको फल भोगिरहौं ?” व्यङ्ग्य गर्दै उद्धवले प्रश्न तेर्स्याए !
कृष्ण फेरि मुस्कुराउदै भन्छन्-
“उद्धव, तिमी शब्दको गहिरो अर्थ लाई बुझ्ने प्रयास गर ।”
जब तिमी शब्दको भाव बुझेर अनुभव गर्नेछौ कि तिम्रो हरेक कर्ममा म साक्षीको रूपमा रहेको छु । हरेक पल तिमिसंगै छु र तिम्रो हरेक कर्मको निरीक्षण गरिरहेको छु । के तिमी मलाई छलेर वा लुकाएर केही गलत काम गर्न सक्छौ ?
तिमी निश्चितरुपमा केही गलत काम गर्न सक्दैनौ ।
जब तिमिले म साक्षी छु भन्ने कुरा बिर्सिनेछौ वा मलाई लुकाएर केही गलत गर्न सक्छु भन्ने ठान्नेछौ,
त्यसपछि मात्र तिमी समस्यामा फस्नेछौ ।
मैले अघि नै भनिसकें कि मैले कसैको कर्ममा हस्तक्षेप गर्दिन ।”
✍️ गोपाल पाल्पाली आचार्य
🙏🙏🌺🌺 जय श्रीकृष्ण 🙏🙏🌺🌺