Advertisement

सहिद दिवस २०७९

२०७९ माघ १६, सोमबार १२:४८
१०५
Ashok Pokharel

माघ १६, नागार्जुन, काठमाडौँ।

“हुँदैनन बिहान मिर्मिरेमा ताराहरु झरेर नगए

बन्दैन देश दुई चार सपुतहरु मरेर नगए” कवि भूपी शेरचन

आफ्नो देश ,संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको निमित्त जीवन आहुति दिएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद भन्ने बुझिन्छ। यसरी नै विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरूले देश र समाजको लागि आफ्नो जीवन उत्सर्ग गरेको सम्मान स्वरुप विक्रम सम्वत २०१२सालदेखि हरेक वर्षको माघ १६ गतेलाई सहिद दिवश मनाउँदै आइरहिएको छ।

नेपालका पहिलो सहिद लखन थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर विरुद्ध प्रचारप्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रूखमा झुन्डाएर मारिएको थियो भने वि.स.१९९७ साल माघ १० गते राति १२ बजे काठमाडौं टेकु पचलीको खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्डयाइएको थियो भने सोही दिन धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो। त्यसैगरी माघ १४ गते दशरथचन्द ठाकुरलाई शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो भने सोही दिन राति १० बजे शोभा भगवतीमा गंगालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानेर हत्या गरिएको थियो। वि.सं.१९९७सालमा  ब्राह्मण भएकाले मृत्युदण्डबाट जोगिइ टाउकोमा  चारपाटा मुडिई सुँगुरको पाठा बोकाई टंक प्रसाद आचार्य ,रामहरि शर्मा जोशी, गोविन्दप्रसाद उपाध्याय,चुडा प्रसाद शर्मा ढुङ्गानालाई भञ्ज्याङ कटाईएको थियो।

मृत्युदण्ड दिनु अघि ३.३० बजे परिवारका सदस्यहरूको छेवैमा आएर गंगालालले मुस्कुराउँदै सबैतिर हेरेर सम्झाउँदै भनेका थिए “जन्मिएपछि मृत्यु निश्चित छ मैले अत्याचारीसँग माफी मागे भने भोलि तपाईँहरुले मलाई धिक्कारनु हुनेछ।”उनले आफ्ना पिता भक्तलाललाई ढोग्दै भनेका थिए “बा तपाई गीताका ज्ञाताले मेरो नाशवान शरीरको नाश हुँदै गर्दा शोक गर्न सुहाउँदैन। जन्मभूमिको उत्थानको लागि हाँसीहाँसी शहीद हुन आशिर्वाद दिनु होस्।”त्यसपछि माइला भाइ पुष्पलाल श्रेष्ठलाई सम्बोधन गर्दै भनेका थिए  “माइला यस जन्मभूमिमा प्रजातन्त्रका लागि हामीले बालेर गएको दियोलाई तिमीले कहिल्यै निभ्न नदिनु, यसलाई नेपालका कुनाकुनामा पुर्याउनु।”

औपचारिक रूपमा सहिद गेटमा गई सहिदहरुको तस्बिरमा माल्यार्पण गर्नु मात्रै सहित प्रति सच्चा सम्मान हुँदैन।

निरंकुश राणाशासनको विरुद्धमा सहादत प्राप्त गर्ने, निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा सहादत प्राप्त गर्ने, सुखानी तथा पिस्कर हत्याकाण्डमा सहादत प्राप्त गर्ने, झापा विद्रोहमा साहदत प्राप्त गर्ने, तत्कालीन जनयुद्धमा विद्रोही माओवादीको पक्ष तथा सरकारी पक्षबाट साहदत प्राप्त गर्ने, ०६२/०६३ को सातदलीय शान्तिपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने, मधेश विद्रोहमा सहादत प्राप्त गर्ने, विभिन्न कालखण्डमा विभिन्न रुपमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धांजलि।

अझै आफ्ना शरीरमा गोलीका छर्राहरु बोकी जिउँदो सहिद भएकाहरु प्रति राज्यले चासो देखाई तत्काल उपचारको व्यवस्था गर्नु, बेपत्ता पारिएकाहरु प्रति शीघ्र खोजतलास गरी यथार्थ विवरण सार्वजनिक गर्नु, अङ्गभङ्ग भई बिचल्ली भएका परिवारहरूको समुचित व्यवस्थापन गर्नु, जेलमा राजनैतिक बन्दीका रूपमा थुनिएका हरूको नियमसंगत ढंगले अनुसन्धान गरी रिहाई गर्नु शहिदहरु प्रति सच्चा सम्मान ठहरिन्छ।

विगत २५/३० बर्षको इतिहासलाई हेर्दा सहिदहरूको रगतमा होली खेलेर ,पौडी खेलेर सत्तामा पुगेकाहरुले सहिदहरूको सपनालाई बेवास्ता गरी दिनरात सत्ता लिप्सामा मात्रै दिवा सपना देखेर ,आफ्नो मात्र दुनो सोझ्याउने कार्य गरिरहेको देखिएकाले अब युवापुस्ताले सहिदको सपना साकार पार्न नेतृत्व गर्नेछ भन्ने कुरामा दुईमत छैन।