
नेपालको पहिचान शिव बुद्ध संस्कृति

सौम्य शक्तिमा हामी संसारमै धनी छौं। चाहे चार हजार वर्षअघिको वैदिक सभ्यताको कुरा गरौं वा २५ सय वर्षअघि संसारलाई चमत्कृत पार्ने बुद्ध धर्म, यी सबै हाम्रा सौम्य शक्ति हुन्। स्वयम्भू महाचैत्य, बौद्ध (खास्ति महाचैत्य), लुम्बिनी, मुक्तिनाथ, चाबहिल, पशुपतिनाथ आदिका पुरातात्त्विक धरोहर हाम्रा पूँजी हुन्। तिनका वरिपरि हुने मानवीय उत्सव, चालचलन, विहारहरू बनाउने अभ्यास आदि विश्वलाई चकित पार्ने खालका छन्।
सांस्कृतिक दृष्टिले हामी अगाडि थियौं नै, त्यसलाई प्रकृतिले जोगाइदिंदा हाम्रो सौम्य शक्ति थप बलियो भयो। किनभने, आक्रमण गर्न आउनेलाई डाँडाबाट ढुङ्गा लडाएर पनि खेदाउन सकिन्थ्यो। राज्य विस्तारपछि पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्ताना त यही पो रहेछ’ भनेका थिए। यसको मतलब हिन्दूको मात्र भूमि भन्न खोजेका होइनन्, यस महाद्वीपका बोकेर ल्याइएका अनुपम शास्त्र, धर्मशास्त्र र परम्परा र सीपलाई समुद्रपारको विधर्मी शक्तिको प्रभाव र आक्रमणबाट जोगाउँन सकिने ठाउँ नेपाल भएकाले उनले त्यसो भनेका हुन्। किनभने, भारत त त्यति वेला क्रिश्चियन शक्तिको उपनिवेश बनिसकेको वा बन्ने दौडमा थियो।
===============================
हिन्दू र बौद्धधर्मीका आकर्षक विहार, चैत्य, गुम्बा तथा मठमन्दिर हामीकहाँ नै बने। धर्मसँग जोडिएका शिल्पको प्रयोग दरबार आदि महत्त्वपूर्ण वास्तु क्षेत्रमा पनि व्यापक रूपमा प्रयोग भयो। त्यही शिल्प सिकाउन चीन गएका अरनिकोका दश पुस्तासम्म त्यहाँको कला विभागको प्रमुख भए। तिब्बतका साथै चीन, भुटान, कश्मीर, मंगोलिया आदि सबैतिरका गुम्बा, मठमन्दिरमा नेपाली वा त्यसबाट प्रभावित कलाशिल्पका नमूना अहिले पनि हेर्न पाइन्छ।
यो सबै जोगाउनु हामी युवाको कर्तब्य होl