
अजयशक्ति ‘सुरुल पुन मगर’

फोक्सोमा गोली बोकेर हिंडिरहेको घाइते योद्धा – अजयशक्ति ‘सुरुल पुन मगर’
एक्कैछिन आउनुस, आज हामी एउटा योद्धालाई भेटौं ।
यी योद्धा अरु योद्धाजस्तो नभएर मृत्यु भएको भन्दै शहिद घोषणा भइसकेपछि फर्किएर आएका योद्धा हुन् ।
यी योद्धालाई भिडन्तमा मर्यो भनेर उनका साथीहरुले जंगलमै छाडिदिएर आएका थिए । तर, उनले हार मानेनन् । संघर्षपूर्ण अवस्था उनी आफ्नै पिसाब पिएर पनि बाँचिरहे र जीवनमा फर्किए । उनी फर्किउर आउँदा उनको नाम जनयुद्धको भिडन्तमा मृत्यु भएको भन्दै शहिदको लिष्टमा चढाइएको थियो ।
तर, उनी जिउँदै थिए ।
आफू जिउँदै हुँदा आफ्नो मृत्यु भयो भन्ने थाहा पाउँदा उनलाई कस्तो भयो होला? तपाईं कल्पना गर्नुस त ?
यी योद्धाले आफू जिउँदै भएको बताउँदै शहिदको लिस्टबाट आफ्नो नाम हटाउन लागे । यी योद्धा लागेको पार्टी सत्तामा आयो, सरकारमा आयो । तर, उनलाई बेवास्ता भयो । उनको मन दुख्यो । जुन पार्टीका लागि उनी मृत्युसम्म अंगाल्न पुगेका थिए, त्यहि पार्टीले उनलाई बेवास्ता गरेको थियो ।
यी योद्धा अरु कोही नभएर अजयशक्ति सुरल पुन मगर हुन् । आज हामी यीनै योद्धाको बारेमा कुरा गर्दैछौं ।
जनयुद्धमा ज्यानको बाजि राखेर होमिएका उनले त्यो बेला हात हतियार उठाएका थिए । त्यो बेला कसैले पनि हिम्मत गर्न नसकेको आधुनिक हातहतियारले सुसज्जित सेनाको हतियार पहिलो चोटि खोस्ने काम यीनै योद्धाले गरेका थिए । अजयको यहीं साहसिक कार्य कै कारण माओवादी जनसेना पनि आधुनिक हतियार खेलाएर सेना र पुलिसलाई आच्छु आच्छु बनाएका थिए ।
अनि, जनयुद्धले नयाँ उचाई लिँदा देशमा धेरै घट्नाहरु भयो ।
अजयशक्ति पुन मगर सोलुखुम्बुको सल्लेरीमा सेनासँग भएको भिडन्तमा मरेको ठानेर उनलाई जंगलमै छाडिएको थियो । तर, उनी जिउँदै थिए । उनलाई जिउँदै देख्दा सबै जना अच्चममा परे ।
देशमा लोकतन्त्र आयो । माओवादी पार्टी शान्ति प्रकिया आयो । सत्ता र पदको लोभमा आफूले वर्षौं संघर्ष गरेको पार्टी र पार्टीका नेताहरु भुलेको देख्दा अजयको मनले मानेन । उनलाई पनि पार्टीले बेवास्ता गर्यो । आफ्नो अमुल्य योगदानको यहाँ कदर नभए पछि परिवार पाल्न भारत तिर जानुपर्ने बाध्यता आयो । त्यहाँ अजयले बेल्चा चलाए, भारी बोके । पेट र परिवारका लागि कमाउनुपर्ने भएकाले पाएका सबै कामहरु गरे ।
तर शरिरमा रहेको बमको छर्रा र गोलीको कारण शरिरिक काम धेरै समयसम्म अजयले गर्न सकेनन् । उनी आफ्नै गाउँ फर्किए, आफ्नै माटोमा फर्किए । जनयुद्ध भरि रगत बगाएको जमिनमा फर्किए । अतितले बिथोलिरहेको बेला अजयको जीवनमा अर्को दुर्घटना घट्यो । श्रीमती र छोराको सडक दुर्घटनामा निधन भयो । सबैतिरबाट नैराश्याताले मात्रै घेरिरहेको बेला पनि अजयले हार मानेनन् ।
उनको नाम नै अजय थियो । उनलाई पराजय हुने चान्स नै थिएन् ।
त्यसैले, त उनी अहिले रुकुम पूर्वको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट यो चुनावमा निर्वाचित भएका छन् । आफूले संघर्ष गरेको ठाउँप्रति सरकारले गरेको बेवास्ता, दिनरात नभनि साथ दिएको पार्टीले गरेको बेवास्ताजस्ता कुराहरुका बीच अजयले आफ्नो ठाउँ, आफ्नो माटो र जनताका लागि आवाज उठाइरहे । जसको फलस्वरुप स्वतन्त्र उम्मेदवारका रुपमा उठेर उनले जीत निकालेका छन् ।
अब अजय आफ्नो गाउँ, आफ्नो ठाउँ र आफ्नो माटोको आवाज लुम्बिनीको प्रदेश सभामा उठाउनेछन् ।
आखिर योद्धाले कहिल्यै हार्दैन् र योद्धा सधैं अपराजित नै हुन्छ भन्ने कुुराको उदाहरण हुन् अजय । हिजो हातमा मुठ्ठी बनाएर जोसले लालसमाल भन्दै युद्ध गरेर देशमा परिवर्तन गर्न हिँडेको व्यक्ति आज दुवै हात जोडेर प्रदेश सभामा प्रवेश गरेका छन् । उनीभित्र बम, बारुद र गोलीले भरिएको अतित छ । तर, अबको भविष्य उनले नीति निर्माण र सुधारप्रति समर्पित गर्ने देखिन्छ ।
यी योद्धालाई सदैव सलाम ।