Advertisement

सम्पदा क्षेत्र अवलोकन गर्न ‘बिशेष  बस’ चलाउने पर्यटनमन्त्री श्रेष्ठको योजनाले पायो मुर्त रुप, केही घण्टामा सवै सम्पदा घुम्न सकिने

२०७९ मंसिर १९, सोमबार १७:००
१३१
उद्धब बञ्जारा

 

१८ मंसिरकाठमाडौं । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन  ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सार्नुभएको पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्वीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागिएको हो ।

पहिलो चरणमा साझा यातायातका पाँच वटा विजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौं दरवार, पशुपति, बौद्ध र  स्वयम्भु पुग्नेछ । भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको छ । पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन् । करिव ३० किलोमिटर लामो पुरा यात्रा गर्न तीन घण्टा लाग्नेछ । आगामी अंग्रेजी नयाँ बर्षदेखि होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले होप अन होप अफ सिटी बस प्रभावकारी रुपमा  सञ्चालनबारे सरोकारवालाहरूसँग आइतवार मन्त्रालयमा छलफल समेत गर्नुभएको थियो । छलफलमा साझा यातायातका संचालक,  व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो । मन्त्री श्रेष्ठले काठमाडौँका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याउनुभएको हो । पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ । काठमाडौँका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिनुभयो ।