काठमाडौँ निर्वाचन क्षेत्र नं ७
मंसिर १, काठमाडौँ।
काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ७,
(सामान्य परिचय)
काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ को प्रदेश( क)मा काठमाडौँ महानगरपालिका वडा नम्बर १६,१७,१८र २५ तथा प्रदेश (ख) मा नागार्जुन नगरपालिका वडा नं १,२ र ३ तथा तारकेश्वर नगरपालिका वडा नं ३,४ र ५ पर्दछन्। काठमाडौंको मुटु असनको सिमानाबाट पश्चिम उत्तर नागार्जुन हुँदै तारकेश्वरसम्म फैलिएको यस क्षेत्रमा निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न जम्मा २९ वटा मतदान केन्द्र कायम गरेको छ भने मंसिर ३,२०७९ सम्म १८ वर्ष पुरा भई मतदान गर्ने मतदाताको संख्या ६१,२९१ रहेको जनाएको छ। काठमाडौँ जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरु मध्ये सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार १६ जना रहेको क्षेत्र यही हो भने पार्टीगत रुपमा प्रतिनिधिसभामा १३ जना उम्मेदवार गरी जम्मा २९ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ४ जना महिला उम्मेदवार र २५ जना पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। २८ वर्षीय युवा देखि ६८ वर्षीय पाको उमेरका उम्मेदवारहरु चुनावी मैदानमा प्रतिस्पर्धामा सहभागी हुनु भएको छ। उम्मेदवारको उमेर समूह २५-३० वर्ष उमेर समूह १ जना पुरुष,३०-४० उमेर समूह ७(३ महिला ४ पुरुष),४०-५० उमेर समूह १० जना(पुरुष),५०-६८ उमेर समूह ११जना(१ महिला १० पुरुष)।
विगत २०७४ सालको निर्वाचनमा ३ जना स्वतन्त्रसहित ११ जना पार्टीगत उम्मेदवारहरुको उम्मेदवारी रहेको यस क्षेत्रमा नेकपा एमालेबाट रामवीर मानन्धरले १८१०२ मतले निर्वाचित हुनुभएको थियो भने कांग्रेसको समर्थनमा विक्रमबहादुर थापाले १००७९ मत प्राप्त गर्नुभएको थियो। तत्कालीन विवेकशील साझा पार्टीबाट अनुपा श्रेष्ठले ५३७६ मत ल्याएर तेस्रो हुँदा संघिय समाजवादी फोरम नेपाल का ज्ञानेन्द्र मोहन श्रेष्ठ १७८१ मत सहित चौथो हुनुभएको थियो। बाँकी १० जना उम्मेदवारको मत ८०० भन्दा कम थियो।
प्रदेश सभा (क)
निर्वाचन क्षेत्र नं ७(क)मा मंसिर ४ गते हुने निर्वाचनमा पार्टीगत रुपमा ७ तथा स्वतन्त्र ३ गरी जम्मा १० जना उम्मेदवारको उम्मेदवारी परेको छ जसमध्ये महिला उम्मेदवार २ जना पुरुष उम्मेदवार ८ जना को उम्मेदवारी परेको छ। विगत २०७४ सालको निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट एमालेका वसन्तप्रसाद मानन्धर ८८०० मत ल्याएर विजयी हुनु भएको थियो भने नेपाली कांग्रेसका विजयी बहादुर माली जम्मा ३४ मतान्तरले (८७६६)मत प्राप्त गरी दोस्रो हुनुभएको थियो।
प्रदेशसभा (ख)
आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ (ख)मा पार्टीगत रुपमा ७ जना तथा स्वतन्त्र रुपमा २ जना गरी जम्मा ९ जना उम्मेदवारको उम्मेदवारी परेको छ जसमध्ये महिला उम्मेदवार १ जना र पुरुष उम्मेदवार ८ जनाकाे उम्मेदवारी दर्ता भएको छ। बिगत २०७४ सालको चुनावमा एमालेबाट प्रकाश श्रेष्ठ ६०२२ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने ५३०२ मतसहित नेपाली कांग्रेसका धर्मराज अर्याल उपविजेता बन्नुभएको थियो।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा-माओवादी एक भएका थिए भने वर्तमानसम्म आइपुग्दा नेकपा एमाले विभाजित भएर एकीकृत समाजवादी र माओवादी केन्द्र पार्टीगत रुपमा अलग भएका छन्। गठबन्धन गरेर चुनावमा गएका दलहरु, स्वतन्त्र प्रति आकर्षित युवाहरु तथा नेकपा एमालेका उम्मेदवारहरु बिच नै प्रतिस्पर्धा हुने देखिएको छ।