Advertisement

“चुप लाग्नोस् । तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।”

२०७९ मंसिर १, बिहीबार ०७:०४
८९
उद्धब बञ्जारा

 

सागर ढकाल , इन्जिनियरिङका एक विद्यार्थी । आफ्ना केही योजना र दृढता लिएर आएका छन् । उनको घर गुल्मी हो । डडेल्धुराबाट आउँदो चुनावका लागि उठेका छन् ।

यिनको प्रतिपक्षी देशको पाँचपटकसम्म प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा छन् । उनको पार्टी नेपाली काङ्ग्रेस हो , जसको इतिहास सागर ढकालभन्दा पनि पुरानो छ , जसका लागि प्राण दिन तयार थुप्रै कार्यकर्ता तयार छन् ।

अर्कातिर सागर सित भने ठूलो आँट छ । औपचारिक अध्ययन र अनुभव छ । केही त गरेरै छाड्छु भन्ने दृढता छ तर नगण्य समर्थन छ ।

देउवा जीवनको उत्तरार्ध बाँच्दैछन् – ढकाल भर्भराउँदै छन्
देउवा बोली र एजेन्डामा अस्पष्ट छन् – ढकाल तिखो बोल्छन्
देउवासँग सरकारप्रमुखको अनुभव छ – ढकालसित छैन
देउवासँग आम जनताका आशा खासै छ‌ैनन् – ढकालसित छन्

यस्ता थुप्रै भिन्नता छन् । उल्टो अवस्था छ । ठ्याक्कै उल्टो भन्न मिल्ने ।

देउवा वृद्ध छन् । उनको बोली लरबरिन्छ । दुई मिनेट स्थिर बस्न सक्दैनन् ।  पाँचपटक प्रधानमन्त्री भएको मान्छेले गरेको भनेर उल्लेख गर्न मिल्ने यस्तो कुनै काम गरेका छैनन् । तर पनि विगतका चुनावहरूमा लगातारको विजय हासिल गरेका छन् । कुनै राजाको भन्दा कम यिनको शासनकाल छैन । र शायद यसैले पनि , यिनको दम्भ उच्च छ । यिनी र यिनका समकक्षी यिनका प्रतिस्पर्धी पार्टीका प्रमुख पनि एउटै तुलोका छन् । साझासवालमा एउटा राष्ट्रप्रमुखले जनताको सवालमा दिएको उत्तरले यी स्पष्ट देखाएकै थियो ।

यसपालि कमसेकम एउटा ठिटो उठेको छ , उनलाई चुनौती दिन । यो त्यही केटो हो जसलाई तिनै देउवाले बीचसभामा कड्किँदै बोलेका थिए – “चुप लाग्नोस् । तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।” अब सागरको पालो हो । पुस्तेनी दम्भ , बेकामको राजनीति र सम्हालिनसक्नुको देशसञ्चालनको भार बोकेका देउवालाई ” तपाईं आफ्नो क्षमताभन्दा बढ्ता बोक्दै हुनुहुन्छ” भन्ने र त्यो भारका लागि काँध थाप्ने ।

सागर कहिलेकाहीँ अलिक पूर्वाग्रही देखिन्छन् । अलिक हतारमा देखिन्छन् । अलिक अपरिपक्व देखिन्छन् । तर उनका प्रतिस्पर्धीभन्दा धेरै आशालाग्दा छन् । उनीभन्दा विचार र वाणीले धेरै पवित्र छन् । बोली र भिजनमा उनीभन्दा स्पष्ट छन् ।

मलाई थाहा छैन , चुनाव जित्नका लागि चाहिने तयारी यिनीसित छ/छैन । मलाई थाहा छैन चुनाव जित्नका लागि चाहिने मतदाताको भरोसा यिनले पाइरहेका छन्/छैनन् । तर यतिबेला , मेरो हृदयले यो केटाले जितिदिए हुन्थ्यो नि भनिरहेको छ ।
मेरो व्यक्तिगत रूपमा यी युवालाई विजयको लागि साथ र शुभकामना । ❤️