गठबन्धनका उम्मेदवार महर्जनलाई पुराना कम्युनिष्ट नेताको साथ

ललितपुर । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट ललितपुर २ को प्रतिनिधि सभामा उम्मेदवार भएका कृष्णलाल महर्जनलाई ललितपुरका पुराना बामपन्थी नेताहरुले साथ दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रचारप्रसार र कार्यकर्ता भेटघाटको चापबीच कृष्णलालले पुराना बामपन्थी नेता सिद्धिलाल सिंह, बुद्धिराज बज्राचार्य, रामबहादुर ह्यामो र आशा बहादुर नुगःलाई भेट गर्नुभएको छ । अग्रज नेताहरुको आशिर्वाद लिन निवास पुग्नुभएका कृष्णलाललाई पूर्वमन्त्री तथा ललितपुर २ बाटै २०४८ र ०५१ मा निर्वाचित सांसद सिद्धिलाल सिंहले कम्य्निष्ट आन्दोलन, गणतन्त्र र राजनीतिक परिवर्तनहरु जोगाउन पनि गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ । भेटका क्रममा सिद्धिलालले भन्नुभयो ठूला परिवर्तनहरु गर्न र त्यस्ता परिवर्तनका उपलब्धि जोगाउन काँग्रेस कम्युनिष्ट मिल्ने गरेको इतिहास सम्झेर गठबन्धनलाई विश्वास गर्नुपर्ने बताउनुभयो ।
कम्युनिष्ट आन्दोलनबाट स्थापित भई ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले पनि कृष्णलालको संसद सदस्यको भूमिकाले मतदाताको शीर उँचो भएको बताउँदै विजयको शुभकामना दिनुभएको छ ।
आशिर्वाद लिने क्रममा अग्रजहरुको निवासमा पुग्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार महर्जनले गणतन्त्र र राजनीतिक परिवर्तन जोगाउन परिवर्तन पक्षधरहरुलाई विजयी गराइदिन आग्रह गर्दै मतदाता र परिवर्तन पक्षधरहरुले शीर झुकाउनुपर्ने अवस्था आउन नदिने बताउनुभयो ।