सरसफाई कार्यक्रम सम्पन्न

१३,कार्तिक ,नागार्जुन, काठमाडौँ।
इचंगुनारायण संरक्षण समितिको आयोजनामा आज नागार्जुन नगरपालिका वडा नम्बर ३ को हलचोक आकाश भैरव मन्दिरदेखि इचंगु मन्दिर हुँदै बद्रीनाथ, केदारनाथ तथा चिसापानी सम्म मुल सडकखण्ड, वडा नं ३का वडाअध्यक्ष श्री उमेश लामा ज्यूको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरियो। उक्त सर सफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि , राजनीतिक दल तथा भातृ संस्थाका प्रतिनिधीहरु, इचंगुनारायण खानेपानी मूल उपभोक्ता समितिका पदाधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सामुदायिक प्रहरी,नबरंगी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी बल हलचोकका प्रतिनिधि, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत इचंगुनारायण रेञ्जपोष्टका प्रतिनिधि,भू.पु. सैनिक, इचंगुनारायण मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि, स्थानिय महिला समुह, हलचोक आकाश भैरव गुठीका प्रतिनिधि, फोहोर मैला व्यवस्थापन केन्द्र नेप्सेम्याकका प्रतिनिधि तथा कर्मचारीहरु, स्थानीय उपभोक्ता तथा सर्वसाधारण जनताको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।
विश्व सम्पदा सूचीमा सूचीकृतको लागि प्रस्तावित गरिएको काठमाडौंका चार नारायण (चाँगुनारायण, विशंखुनरायण, शेषनारायण, इचङ्गु नारायण ) मध्ये कान्छा नारायण भनेर चिनिनु भएका इचंगुनारायण भगवानको दर्शन गर्न यही कार्तिक १८ गते हरिबोधनी एकादशी को दिन विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने हुनाले उक्त दिनलाई लक्षित गरी उक्त सरसफाई कार्यक्रम गरिएको थियो। हरिवोधनी एकादशीको दिन उपत्यकाका विभिन्न ठाउँमा अवस्थित भगवान नारायणका मन्दिरहरुमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ भने त्यस दिन दर्शनार्थीहरुले सकेसम्म चारै नारायणको दर्शन गर्ने गरेको पाइन्छ। उक्त दिन उसिनेको आलु, सखरखण्ड, भूटेको बदाम लगायत फलफूल खाई चामलको खाना नखाने चलन पनि रहिआएको छ।
नागार्जुन नगरपालिका वडा नम्बर ३ मा अवस्थित यस ऐतिहासिक, सांस्कृतिक , पुरातात्विक तथा पर्यटकीय क्षेत्रमा हरिवोधनी एकादशीमा लाग्ने महान मेलालाई व्यवस्थित तथा सहजीकरण गर्न आयोजक समिति, विभिन्न उपसमितिहरु गठन गरी पार्किङ व्यवस्थापन ,ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन पिउने पानी व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, अस्थायी शौचालय व्यवस्थापन, मूल बाटोको दायाँबायाँ व्यापार व्यवसाय व्यवस्थापन, दान गर्नेहरुका लागि आर्थिक सहयोग संकलन व्यवस्थापन, स्वागतद्वार व्यवस्थापन लगायत स्वयंसेवकहरुको व्यवस्थापन गरी यस मेलालाई भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न हामी सम्पूर्ण स्थानीय सरकार, जनप्रतिनिधिहरु तथा सम्पूर्ण स्थानीय संघसंस्थाका प्रतिनिधिहरुसँग हार्दिक अनुरोध गर्दछौं।