
‘लक्ष्मीपुजा’ अर्थात्, संसारभर मनाइने साझा पर्व..

‘लक्ष्मीपुजा’ अर्थात्, संसारभर मनाइने साझा पर्व….!!
अहिले देशभर धुमधाम सँग दीपावली मनाइदैछ । यस पर्वमा देवी लक्ष्मीको पुजा गरिन्छ । नेपाल र भारतमा माता लक्ष्मीको आठवटा स्वरुपको पुजा गरिन्छ तर संसारभरका विभिन्न देशमा आ-आफ्नो संस्कार र संस्कृति अनुसार फरकफरक समयमा माता लक्ष्मीको अनेकौं स्वरुपको पुजा गर्ने गरिन्छ । हो, संस्कृतिको हिसाबले मान्यता फरक हुन सक्छ तर जुनसुकै मान्यताले पुजा गरेतापनी सबैको उद्देश्य एउटै हुन्छ, त्यो हो- खुशी तथा समृद्धि ।
नेपाल, भारत तथा श्रीलंका बाहेक संसारका अन्य मुलुकहरुमा माता लक्ष्मीलाई कुन कुन स्वरुपमा कुन कुन नामले सम्बोधन गरेर पुजा गरिन्छ भन्ने विषयमा छोटो चर्चा गरौं । नेपाल, भारत तथा श्रीलंकामा एउटै स्वरुप र एउटै मान्यतामा पुजा गरिने भएकोले चर्चा गरिरहनु परेन । यहाँ रोम देखि डेनमार्क सम्म र ग्रीस देखि चीन सम्म माता लक्ष्मीको पूजा कसरी गरिन्छ जानौं…
थाइल्यान्ड:
थाइल्यान्डमा माता लक्ष्मीलाई ‘माई फोसोप’ को नाममा पुज्ने गरिन्छ । जसलाई उनिहरु ‘चामलकि देवी’ को रुपमा मान्ने गर्छन् । जसरी एउटि आमाले आफ्नो सन्तानलाई आहारको ब्यवस्था गर्छिन्, त्यसरी नै देवी ‘माई फोसोप’ ले धान तथा चामलको रक्षा गरेर आहारको ब्यवस्था गरिदिएको हुनाले उनिहरुले माता लक्ष्मी लाई ‘माई ख्वान खाओ’ अर्थात् ‘धानको समृद्धिकि आमा’ भनेर आस्थापुर्वक पुजा गर्ने गर्छन् । त्यहाँ दीपावली पर्व लाई ‘लाम क्र्योङ’ नामले मनाइन्छ ।
ग्रीस (यूनान):
ग्रीक पौराणिक कथा अनुसार समृद्धिकी देवीलाई हेरा र जुन नामले सम्बोधन गरिन्छ । हेरा देवी आकाशमा बस्छिन र उनले कृषि अनुकुल वातावरण तयार पारी खेत हरियो राख्न कृपा गर्छिन भन्ने जनविश्वास छ । त्यस्तै देवी जुनोलाई अन्नबालीको रक्षा गर्ने कृषिकी देवीको रूपमा गाउँ लक्ष्मी भनिन्छ । नेपाल र भारतमा माता लक्ष्मीको वाहन उल्लु मानिन्छ तर ग्रीसमा लक्ष्मी मयूरमा विराजमान छिन् ।
रोम:
रोमको पुरातन किंवदन्ती अनुसार एकपटक देवी रुष्ट भइन् जसका कारण पृथ्वीमा अन्न उब्जनी बन्द भयो । त्यसपछि सबै मिलेर देवीको पूजा आराधना गरे । पुजाको प्रभावबाट देवी प्रसन्न हुँदै अन्नपूर्णाको रूपमा प्रकट भइन् र फेरि अन्न उत्पादन गर्न कृपा गरिन् । त्यसैले माता लक्ष्मी लाई रोममा अन्नकी देवीको रूपमा सिरिन नामले पूजा गरिन्छ ।
इजिप्ट (मिस्र):
इजिप्टियनहरूमा देवी लक्ष्मीले संकटको समयमा उनीहरूको रक्षा गर्छिन र भक्तहरुको जीवनमा समृद्धि ल्याउँछिन भन्ने जनविश्वास रहेको छ । त्यहाँ लक्ष्मीको रूपमा पुजा गरिने देवीलाई इसिस भन्ने गरिन्छ, जसले हातमा सर्प समातेकि हुन्छिन् ।
चीन:
चीनमा देवी लक्ष्मी लाई ‘शि वोङ मू’ नामले सम्बोधन गरिन्छ । जसलाई चीनियाहरुले सौभाग्यको देवी भनेर मान्ने गर्छन् ।चिनियाँ मान्यता अनुसार ‘शि वोङ मू’ एउटि दयालु रानी थिइन्, जो पछि देवीको अवतार भइन् । चिनियाँहरू ‘शि वोङ मू’ देवी सुनै-सुनले बनेको दरबारमा बास गर्छिन् भन्ने विश्वास गर्छ्न । चीनका मानिसहरूले देवी लक्ष्मीको यो स्वरुप लाई धन सम्पत्ति तथा सौभाग्यको लागि पूजा गर्ने गर्छन् ।
डेनमार्क:
संसारको सबैभन्दा बढी दूध उत्पादन गर्ने देश डेनमार्कमा देवी ‘गैफियान’ लाई समृद्धिको प्रतिकका रूपमा पुज्ने गरिन्छ, जसको मुखाकृती गाइको शिरजस्तो रहेको छ । माता लक्ष्मीको ‘गैफियान’ स्वरुपलाई उनीहरु कृषीको देवी भनेर पनि आराधना गर्ने गर्छन् । त्यसैले ‘गैफियान’ देवीको मुर्ति कतै गाइको शिरजस्तो आकृतिमा देख्न सकिन्छ भने कतै कृषी सामाग्रीको साथमा पनि देख्न सकिन्छ ।
इटाली
युरोपको प्राचीन सांस्कृतिक देश इटालीमा देवी लक्ष्मी लाई ‘फर्चुन’ नामले सम्बोधन गरिन्छ । जसलाई इटालीयनहरु ‘भाग्यकी देवी’ मानेर विश्वास गर्छन् । ‘फर्चुन’ को पुजा आराधना गर्नाले सौभाग्य र समृद्धि प्राप्त हुने, प्रजनन क्षमता बढ्ने वा सन्तान सुख प्राप्त हुने, धानको उत्पादनमा वृद्धि हुने तथा बालबालिकाको पनि संरक्षण गर्ने इटालीयन हरुको जनविश्वास छ ।
फ्रान्स:
फ्रान्समा लक्ष्मीलाई देवी ‘फ्लोरा’ को रूपमा पूजा गरिन्छ, जसको अर्थ हुन्छ- वनस्पतिकि देवी । प्रकृतिकि देवीले मानिसको जीवनमा खुसीको फूल फुलाउँछिन । देवी स्वयं पनि फुलै फुलले सजिएकी हुन्छिन् भन्ने फ्रान्सेली हरुको मान्यता रहेको छ । पुरातन समयमा महिलाहरूले देवीलाई प्रसन्न पार्न आफ्नो कपाल फूलले सजाउने गर्दथे वा कपालमा फुल सिउरिने गर्थे ।
इन्डोनेसिया:
बाली तथा जाभा आइल्याण्डका मानिसहरूले लक्ष्मीलाई कृषिकी देवीको रूपमा पूजा गर्छन् । लक्ष्मीको यो स्वरुपलाई त्यहाँ ‘देवीश्री’ भन्ने गरिन्छ । त्यहाँका मानिसहरू ‘देवीश्री’ को उत्पत्ति धानको बोटबाट भएको थियो भन्ने विश्वास गर्छन् । हरेक वर्ष मापाङश्री नामक कार्यक्रममा देवीलाई आमन्त्रण गरेर राम्रो फसलको कामना गर्दै कृषकहरूले ‘देवीश्री’ को पूजा गर्छन् ।
जापान:
जापानका मानिसहरू आर्थिक रूपमा बलियो रहन किचिजोई देवीको पूजा गर्छन्। टोकियोबाट १८ किलोमिटर टाढा एउटा पूरै सहर उनको नाममा राखिएको छ। जापानी भाषामा किचिजोईको अर्थ लक्ष्मी हो।
✍️ गोपाल पाल्पाली आचार्य