
गाईगोरु पुजा=खण्डग्रास सूर्य ग्रहण

गाईगोरु पुजा
================
आज तिथि अनुसार गोवर्धन पूजा र हली तिहार चाहिँ परेन यद्यपि आजको दिनमा गाईगोरुहरु को पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर ल तिहारका दिन पूजा गर्ने चलन छ र यो पूजा भोलि गरिनेछ ।
आज चाहिँ कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ । गोवर्धन पूजा भोलि परेका हुनाले गाई गोरु पूजा भोलि पनि गरिन्छ ।
देउसी
आजको दिनको अर्को व्यापक रौनक हो , देउसी । हिजो भैलेहरुको भाका अनि आज देउँसेहरुको भाका । हुन त कोरोना त्रास र स्वास्थ्य सङ्कटका कारण यस वर्ष यी रमाइला कुराहरू थाती नै रहने भए तर अर्को वर्षको रौनक अनि बितेका वर्षको यादमा हामी सम्झना बिर्सना गरिरहन्छौं ।
अनि तपाईँको के छ त योजना रु जाने हैन त देउसी खेल्न ?
वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसी भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।
देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसीको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ
यो घर हेर्दा सिँहदरवार जस्तो
आँगन हेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो
आदिजस्ता पक्तिंहरु अनि
केराको थम्बा
हामी यति जना भाइ जम्मा
झिलिमिली झिल्ला
ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।
देउसी दिएको आशिषले साच्चीकै विशेष मान्यता राख्दछ,
यसपाला आउँदा जस्ताको छाना
अर्को साल आउँदा पक्काको छाना
त्यसपछि आउँदा चाँदीको छाना
त्यसपछि आउँदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाजस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउतेले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसीबाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रीति नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्याइरहेको छ । आजको दिनको हार्दिक शुभकामना ।
खण्डग्रास सूर्य ग्रहण
================
मङ्गलवार, विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ। विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् ।
यस आंशिक ग्रहण अफ्रिका, एसिया, युरोप र युनाइटेड किंगडमको गुर्नसेको उत्तरी गोलार्धमा देखिनेछ र उत्तरी ध्रुव र रुसमा चाहिँ ग्रहणको सबैभन्दा चरम सीमा देखिनेछ ।
यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ ।
करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। साँझ ५ बजेर २४ मिनेट मा ग्रहणको अवधि सकिनेछ ।
ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्श भए सँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरुङ्गी, निमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसका साथै ग्रहण कालमा आफ्नो दीक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रह पीडा कम भई नवग्रहको असीम कृपा प्राप्त हुनेछ ।
कुनै जातकको जन्म कुण्डलीमा सूर्य ग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदि कोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।
ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभीत हुनुहुँदैन । यस खण्डग्रास सूर्य ग्रहणले मनुष्य जीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभीत नभई ग्रहणलाई सम्यक् रूपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।
ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक ऊर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहण कालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसोकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसी पत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक ऊर्जालाई रोक्ने सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।
(स्रोत -सुयोग ढकाल)
#सूर्यग्रहण कसरी लाग्छ ?
सूर्य चन्द्रमाभन्दा करिब चार सय गुणा ठूलो छ । चन्द्रमाभन्दा सूर्य पृथ्वीबाट करिब चार सय गुणा टाढा छ । त्यसैले साधारण आँखाले हेर्दा चन्द्रमा र सूर्य दुवै उत्रै–उत्रै देखिन्छन् । चन्द्रग्रहण होस् वा सूर्यग्रहण दुवै समयमा चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुन आवश्यक छ । जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामीहरू चन्द्रग्रहण भयो भन्छौँ । त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण भएको भन्छौँ ।
चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् । सूर्यग्रहणमा पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन् भने केही मानिसले ग्रहण लागेको देख्न नै पाउँदैनन् । साधारणतयाः हामीहरू सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको हुन्छ कि भन्ने ठान्छौँ तर वास्तवमा चन्द्रग्रहणको तुलनामा सूर्यग्रहण नै धेरै हुने गर्छ ।
चन्द्रग्रहण पूर्णिमाको रातमा मात्र लाग्छ भने सूर्यग्रहण औँशीको दिनमा मात्र हुने गर्छ । यसरी विचार गर्दा प्रत्येक पूर्णिमा र औँशीमा किन चन्द्रग्रहण र सूर्यग्रहण लाग्दैन भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । अझ विचार गर्ने हो भने एक महिनामा चन्द्रमाले पृथ्वीलाई एक फन्को मारेर परिक्रमा गरिरहेको हुन्छ । यो परिक्रमा गर्नेक्रममा प्रत्येक महिना एकपटक सूर्यग्रहण र एकपटक चन्द्रग्रहण हुनुपर्ने हो तर यस्तो हुँदैन । यस्ता प्रश्नको जवाफ पाउन सर्वप्रथम पृथ्वी हिँड्ने बाटो र चन्द्रमा हिँड्ने बाटोबीचको कोणीय अन्तर बुझ्नु जरुरी छ । पृथ्वीको अक्ष र चन्द्रमाको अक्षबीचको कोणीय अन्तर करिब पाँच डिग्रीको छ । यसैले गर्दा यी दुई चन्द्रमा र पृथ्वीले बनाउने छायाँ एउटै धरातलमा सधैँ पर्दैनन् । त्यसैले प्रत्येक पूर्णिमा र औँशीमा ग्रहण नदेखिएका हुन् । जुन औँशी वा पूर्णिमाका दिनमा एउटै धरातलमा छायाँ पर्छ, त्यसबेला मात्र ग्रहण हुन्छ ।
खण्डग्रास सूर्यग्रहण, सर्वग्रास सूर्यग्रहण, खग्रास सूर्यग्रहण र वलय सूर्यग्रहण गरी जम्मा चारप्रकारका सूर्यग्रहण पृथ्वीबाट देख्न सकिन्छ । सूर्यलाई केही मात्रामा छेकिएर हुने सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सर्वग्रास सूर्यग्रहणमा सूर्य पूरै ढाकिन्छ । सूर्यलाई छोपी आकाशलाई समेत छेकेर हुने ग्रहणलाई खग्रास सूर्यग्रहण भनिन्छ । यस्तो सूर्यग्रहण लागेको समयमा पूरै अँध्यारो भई दिउँसै ग्रह र ताराहरू देख्न सकिन्छ । यस्तोखालको सूर्यग्रहण लामो समयको अन्तरालमा मात्र देख्न र अनुभव गर्न पाइन्छ । त्यस्तै सूर्य विम्बको बीचको भागलाई छेकेर हुने सूर्यग्रहण नै वलय सूर्यग्रहण हो । यस्तो ग्र्रहण भएको बेलामा सूर्यमा ठूलो प्वाल परेकोजस्तो देखिन्छ र सूर्य एक बालाजस्तो देखिन्छ । यस्तो सूर्यग्रहण पनि विरलै हुने ग्रहणमा पर्छ ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रूपमा नै नष्ट हुन गई मानिस सदाका लागि दृष्टिविहीनसमेत हुन सक्छ । त्यसैले सूर्यग्रहणका बेला नाङ्गो आँखाले कदापि हेर्न हँुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्छ । ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरी हेरेमा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छायाँ हेर्नु नै हो ।
जयन्त आचार्य, प्राध्यापक, वाल्मीकि क्याम्पस ।