नेपाल सम्बतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक-पर्यटनमन्त्री श्रेष्ठ

७ कार्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल सम्बतलाई प्रवर्द्धन गर्न तथा व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताउनुभएको छ । च:मति टोल विकास समितिले काठमाडौंको च:मतिमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्बतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । नेपाल सम्वतले राष्ट्रिय मान्यता पाएपनि व्यवहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै उहाँले सरकारले नेपाल संम्वतलाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताउनुभयो ।
नेपालको गौरव तथा मौलिक सम्बत नेपाल सम्बतको तिथिमितिलाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने भन्नेबारे सरोकारवालासँग छलफल गरी अघि बढ्ने उहाँले बताउनुभयो । नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको रुपमा रहेको नेपाल सम्वतको संरक्षण, सम्बर्द्धन र व्यावहारिक प्रयोगलाई आफुले प्राथमिकता दिएको बताउनुहुँदै उहाँले नेपाल सम्वतको प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफुले अघि बढाउने प्रतिवद्धता समेत जनाउनुभयो ।
प्रगतिशील सामाजिक अभियान्ता तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक सम्वत प्रचलनमा ल्याउने कार्यको मूल्यांकन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले यसअघि नेपाल सम्वतलाई राष्ट्रिय मान्यता समेत दिइसकेको छ । साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकोले लोकतन्त्र विरोधी शक्तीलाई परास्त गर्नुपर्ने बताउनुभयो ।