
बली र पशु बली एउटै हो ? पशु बली कस्को लागि जरुरी ??
बली र पशु बली एउटै हो ? पशु बली कस्को लागि जरुरी ??∝
हिन्दु धर्म भित्र पनि अनेकौं समुदाय र अनेकौं मार्गीहरु छन् । सबैको चाडपर्व मान्ने आ-आफ्नो तरिका हुन्छ । नेपालमा पनि कृष्ण प्रणामी, रामानुज श्रीवैष्णव, निम्वार्गी वैष्णव, गायत्री परिवार, ॐ शान्ती, जय गुरुदेव लगायत तमाम सम्प्रदायहरु छन् जसले मांसहार गर्दैनन् (लुकेर खानेको कुरा बेग्लै हो) । यी सबै समुदायहरुले दशैं पनि मान्छ्न र बली पनि दिन्छन् । तर बली दिने चिज फरक हुन्छ । यी समुदायले आफू भित्रको रिस, द्वेष, अहंकार, कामवासना, लोभ तथा नकारात्मक कुराहरू यसैमा समावेश होस् र भगवानको चरणमा बली चढेर नास होस् भन्ने कामनाका साथ नरिबल वा कुभिण्डो काटेर बली दिने गर्छन् । जसरी तिहारमा चेलीबेटीले दाजुभाइको दुश्मन तथा नकारात्मक पक्षहरू नास होउन भन्ने कामनाका साथ ओखर फोर्ने गर्छन् । आखिर जसरी दिए पनि र जे दिएपनी त्यो बली नै हो र बली प्रथा जोगाएकै हो । यो कुरालाई बङ्याएर कतिपय मित्रहरूले त्यसोभए मासु नखाने त भनेर प्रश्न तेर्स्याउनु हुन्छ । जबकी यहाँ मासु खाने कि नखाने भन्ने विषयमा बहस गर्नुपर्ने आवश्यकता नै छैन । त्यो त ब्यक्तिगत इच्छाको कुरा भयो !!
सनातन धर्मका धर्म-गुरुहरु जस्तै स्वामी प्रभुपाद, शंकराचार्य, अखंडानन्द सरस्वती, दयानन्द सरस्वती, श्री रविशंकर, वल्लभाचार्य, रामानन्द, स्वरुपानन्द जस्ता कुनै पनि गुरुहरुले मांसाहार गरेको सुनिएको छैन । त्यसैले बली दिने चिज पशु नै हुनुपर्छ भन्ने छैन । हो, मांसाहार गर्नेहरूको हकमा चै जरुरी होला । तर मांसाहार नगर्नेहरुले पनि आफ्नै तरिकाले बली प्रथा त जोगाएकै छन् नि !
पशु बली किन जरुरी ??
शास्त्रीय मान्यता अनुसार तान्त्रिक कार्य तथा मांसाहार गर्नेहरूको पैत्रिक कार्यमा पनि आ-आफ्नो कुल पित्रीको नाममा पशु बली दिने प्रचलन छ । जसका पित्री मांसाहार थिए उनीहरुले आफ्नो पित्रीलाई जे दिंदा खुशी हुन्छन् त्यसैको पिण्ड बनाएर दिने प्रचलन विभिन्न समुदायको चलन देखिन्छ । परापुर्वकाल देखि चलि आएको यस्तो प्रथाको निरंतरता अहिलेसम्म चलिरहेको छ । यसलाई गलत भन्न सकिदैन ।
पशु बली दिनुको अर्को कारण चै हिन्दुत्व भित्रको सुर रस (साहसिक पन) लोप नहोस् भन्ने हेतु पनि यो प्रचलन चलेको भन्ने बुझ्न सकिन्छ । किनकी स्वधर्मको रक्षार्थ परशुरामको रुप पनि धारण गरेर अतिक्रमणकारीहरुको प्रतिकार पनि गर्नुपर्ने हुन्छ । परेको खण्डमा धर्मको रक्षार्थ शस्त्र उठाउन पनि पछि हट्नु हुदैन भनेर भगवान कृष्णले नै गीतामा भन्नुभएको हुनाले शस्त्र चलाउन र शस्त्र उठाउन सक्ने हुनको लागि पनि आफू भित्रको सुर रस (साहस) लाई बढाउन आवश्यक पर्छ । त्यस्तो बेलामा रगत देख्दै चक्कर लाग्ने वा हतियार देखेरै आत्तिने भयो र हतोत्साहित हुने अवस्था आएमा के गर्ने ? त्यसकारण पनि पशु बली दिएर रगतसंग नडराउने बनाउनको लागि पुर्खाहरुले यस्तो प्रचलन ल्याएको जस्तो मलाई लाग्छ । किनकि मार हान्न नसक्ने मान्छे कुसल सैनिक बन्न सक्दैन । सैनिकको अर्थ रक्षा गर्नेवाला हो । रक्षा भूगोलको पनि हुनसक्छ र धर्मको पनि ।
त्यसैले बली प्रथा लाई जोगाउन जरुरी पनि छ तर आ-आफ्नो मान्यता र आ-आफ्नो संस्कार अनुसार जसरी जोगाउने गरिएको छ त्यसरी नै जोगाउने हो । यसलाई मासु खाने वा मासु नखाने भनेर विवादास्पद बनाउनु गलत कार्य हो ।
गोपाल पाल्पाली आचार्य
🌺🌺 जय श्रीकृष्ण 🌺