आइकाओ महासभामा भाग लिन पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान

१० असोज, काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु सहभागि हुनेछन् ।
सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनुहुनेछ । साथै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धीबारे पनि महासभालाई जानकारी गराउनुहुनेछ ।
महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । महासभा अक्टोबर ७ सम्म चल्नेछ ।