Advertisement

संविधान घोषणाको त्यो दिन!

२०७९ आश्विन ३, सोमबार ०७:१९
१२७
Ashok Pokharel

असोज ३, नागार्जुन,काठमाडौँ।

आजभन्दा ठीक सात वर्षपहिले आज कै‌ दिन २०७२-०६-०३ गते संविधान घोषणा भएको थियो। संघीय गणतन्त्र नेपालको संविधान २०७२ द्वारा हाम्रो देश नेपाल गणतान्त्रिक लोकतान्त्रिक शासनको बाटोमा अगाडि बढिरहेको छ। तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा संविधान घोषणा भएको थियो। संविधान सभामार्फत  वर्ष लगाएर बनाइएको संविधान घोषणा भएको खुसियालीमा सबै नेपालीहरु प्रत्येक टोलटोलमा सबैजना भेला भई विभिन्न कार्यक्रमहरु गरिएका थिए भने साँझ प्रत्येक घरमा राष्ट्रिय झण्डा सहित दिपावली गरिएको थियो। तर  बिडम्बना आफूअनुकूलको व्यवस्था नभएकाले होला छिमेकी राष्ट्र भारतले ६महिना अघोषित नाकाबन्दी लगायो।

कुल ९०% सभासदको हस्ताक्षरमा संविधानको घोषणा भएको हो संबिधान सभामा कायम ५९८ सभासद मध्ये  ५०७ जना सभासदको हस्ताक्षर यस संविधानमा रहेको छ। तत्कालीन समयमा यस संविधानप्रति २५ असहमत सभासद तथा ६६ सभासद्ले निर्णयक मतदान अस्वीकार गरेका थिए। विश्वका हालसम्मका समुन्नत  राष्ट्रहरूमा पनि सर्वसम्मत संविधान त कहीँ पनि छैन यसमा भएका असहमतिहरुलाई सम्बोधन गर्दै अगाडि बढ्ने राम्रो मौका पनि छ।

संविधानको प्रावधान अनि मर्म अनुरुप आज कुनै पनि नेपालीले लिंग, धर्म ,जात, वर्ग ,रङ्ग, पहिचान ,भाषा या अन्य कुनै आधारमा विभेद सहन गर्नुपर्ने छैन। विकास अनि समृद्धिका लागि प्रदेश र स्थानीय तहहरुलाई संबिधानत: अधिकार प्राप्त छ। यस संविधानले सामान्ती ,निरंकुश ,केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद ,बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात् गरी विविधता बीच एकता सामाजिक सांस्कृतिक ऐक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय ,भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक  सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार ,बालिग मताधिकार ,आवधिक निर्वाचन,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका सहितको कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धता राख्दछ।

संविधानमा यति राम्रा कुराहरु लेखिएका भए पनि पालना नभएकाले व्यवस्थाप्रति नकारात्मक भ्रम सिर्जना गरिएका छन् ।सबैले संविधानमा लेखिएका कुरालाई अक्षरशः पालन गर्दै समेट्न नसकिएका कुराहरुलाई छलफलद्वारा समाधान गर्दै अगाडि बढ्दा नै समुन्नत राष्ट्र निर्माणमा अगाडि बढ्न सकिने कुरामा दुईमत छैन। संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुमा शुभकामना।