
बागमती प्रदेश स्तरिय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम २०७९ सम्पन्न

मिति २०७९।०६।०२ गते
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा “बागमती प्रदेश स्तरिय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम-२०७९” आज एक कार्यक्रमवीच सम्पन्न भएको छ । बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राङगढबाट प्लेकार्ड, माईकिङ, प्रहरी व्याड सहित प्रभातफेरी शुरुभई रोयल पाटी प्यालेस हेटौंडामा एक समारोहवीच कार्यक्रम गरिएको थियो । विश्व आत्महत्या रोकथाम दिवसको रुपमा नेपाल प्रहरीले उपत्यकामा केन्द्रियस्तरको, ७ वटा प्रदेश राजधानीमा प्रदेशस्तरिय र ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी र्याली सहितको सचेतनामुलक कार्यक्रम आज देशैभरी एकैपटक संचालन गरेको छ । यसको फलस्वरुप आज हेटौंडामा प्रदेश स्तरिय कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज प्रहरीले देशव्यापी संचालन गरेको यस कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको हुँदा यसले प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुलाई एकपटक झकझकाएको छ । कार्यक्रममा प्रहरीले प्रस्तुत गरेको कार्यपत्रले प्रदेश सरकारलाई आत्महत्या रोकथामको लगि नीति बनाउन फलदायी हुनेछ बताउनु भयो । मानिसको जीवन सवैभन्दा महत्वपुर्ण भएको हुँदा यसलाई जोगाउन सवै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेको समेत उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मानिसको जीवन अमुल्य भएकोले यसलाई जोगाउन सवै पक्षले आ-आफ्नो तबरबाट लाग्नुपर्ने र यस किसिमको सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न बागमती प्रदेश प्रहरीले विगतदेखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेकोमा यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीत तह लगायत विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा बढोत्तरी गर्दै आगामी दिनहरुमा अझबढी सक्रियताका साथ कार्य गर्ने कुरामा जोड दिनुभयो । प्रहरीको सहकार्यमा हातेमालो गर्न अन्य निकायहरुलाई यसै अवसरमा आह्वान समेत गर्नुभयो । व्यक्तिले आत्महत्या गर्नुअघि केही न केही प्रतिकृया जनाउने हुँदा त्यसलाई समयमानै पहिचान गरी परामर्श दिन सकेमा यसको दर न्युनिकरणमा सहयोग पुग्नेछ । बढ्दो आत्महत्या न्युनिकरणको लागि तत्कालै नीति बनाउन जरुरी रहेको तथा सचेतनामुलक कार्यक्रममा समेत सवै पक्षको समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा हेटौंडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमानै मनोपरामर्श दिन ठाउँ ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी संचारकर्मी मणीराज गौतमले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न संचार माध्यमबाट विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने कुरामा उहाँले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्वागत मन्तव्य व्यक्त गर्नु भई बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले कार्यक्रमबारे प्रकाश पार्नुका साथै आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री लगायत बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, मकवानपुर स्थित विभिन्न पालिकाहरुका प्रमुखहरु, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, अस्पताल एवं जनस्वास्थ्य कार्यालयका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, आमा समुहहरु, शिक्षक तथा विद्यार्थीहरु, युवा क्लबका पदाधिकारीहरु, मनोपरामर्श केन्द्रका व्यक्तित्वहरु, संचारकर्मीहरु एवं प्रहरी कर्मचारीहरु गरी करिव २,२०० जनाको सहभागी रहेको कार्यक्रम विहान ७:३० बजे सुरु भई विहान १० बजे समापन भएको थियो ।