Advertisement

सोह्र श्राद्ध महिमा: संसारभर मनाइने पैत्रिक शान्तिको पर्व

२०७९ आश्विन १, शनिबार १४:०६
१३७
तीखोकलम
  1. सोह्र श्राद्ध महिमा: संसारभर मनाइने पैत्रिक शान्तिको पर्व

विश्वभरका विभिन्न मुलुकहरुमा आ-आफ्नो धर्म संस्कार अनुसार फरकफरक तिथिमा आ-आफ्नै शैलीले मृतक आत्मा तथा पुर्वजलाई स्मरण गर्ने पर्व वा परम्परा रहदै आएको छ । धेरैजसो मुलुकमा नयाँ फसलको भण्डारण गरेपछि अथवा मौसम परिवर्तनको समय पश्चात् पुर्खाहरुलाई स्मरण गर्ने परम्परा रहेको छ । आ-आफ्नो धर्म संस्कार अनुसार विभिन्न मुलुकहरुमा दुई दिन देखि सोह्र दिनसम्म यो पर्व मनाउने गरेको देखिन्छ भने कोरिया जस्ता कतिपय मुलुकमा सार्वजनिक बिदा हुने गरेको छ ।

सनातन धर्म अनुसार हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल पुर्णिमा देखि कृष्ण पक्ष औंसी सम्मको सोह्र दिनसम्म अतृप्त जीवात्माले मर्त्यलोकमा सुखको अनुभव गर्दै अर्को राम्रो जन्म प्राप्त गरून् र उनीहरुको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले श्राद्द तथा पित्री यज्ञहरु गर्ने गर्छ्न । यो समयमा मृतकको तिथि अनुसारको दिनमा श्राद्द गर्दा वर्षभरी पित्रीहरु तृप्त तथा सन्तुष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ भने पित्रीहरुलाई पिण्डदान तथा तर्पण गर्ने सन्ततिहरुका परिवारमा सुख शान्ती र समृद्धि हुनेछ भन्ने विश्वास पनि रहेको छ । सोह्र श्राद्दको महिमा बारे स्कन्द पुराणको नागर खण्ड अन्तर्गत अनर्त नरेश र ब्राह्मण भर्ती यज्ञको संवादमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

पुर्खा तथा पित्रीहरुको आत्माको शान्तिको लागि कामना गरिने यो पर्वमा नेपाल तथा भारतमा श्राद्द, पिण्डदान तथा पित्रीका नाममा तर्पण दिने गरिन्छ । त्यस्तै संसारका अन्य कैयौं मुलुकहरु छ्न, जहाँ आ-आफ्नो धर्म तथा संस्कार अनुसार पित्रीहरुको आत्माको शान्तिकोलागि आ-आफ्नै शैलीमा स्मरण गर्ने गर्छन् ।

चीन, जर्मनी, सिंगापुर, मलेसिया, थाइल्यान्ड लगायत अनेकौं देशहरूमा मृत आत्माको शान्ती तथा तृप्तिको लागि पुर्खाहरुको स्मरणमा खास पर्व मनाउने गर्छन् । नेपाल तथा भारतमा आश्विन शुक्ल पुर्णिमा देखि औंसीसम्म मनाउने गर्छन् भने जर्मनी लगायत युरोपेली मुलुकमा नोभेम्बर, जापानमा अगस्त महिना तथा चीनमा अप्रिल ५ तारीखका दिनमा मनाउने गर्छन् ।
आउनुस, जानौं संसारका विभिन्न देशहरूमा पित्रीहरुको लागि कहिले र कसरी पर्व मनाउने गर्छन् भन्ने बुझौं-

चीन:
चीनमा आफ्नो मृत पुर्वज तथा पुर्खाहरुलाई स्मरण गर्ने दिनलाई चिनियाँहरुले “चिङ- मिङ फेस्टिवल” का रूपमा मनाउने गर्छन् । यो फेस्टिवल प्रत्येक बर्ष अप्रिल ४ र ५ तारीखमा दुई दिनसम्म मनाउने गर्छन् । सो पर्वका दुईदिन चीनमा सार्वजनिक बिदा हुने गर्छ । चिनियाँ भासामा “चिङ” को अर्थ सफा तथा “मिङ” को अर्थ उज्यालो हुन्छ ।
चिङ-मिङ फेस्टिवलका दिनमा चिनियाहरुले आ-आफ्नो पू्र्खाको दाहसंस्कार गरिएको स्थानमा पुगेर सो स्थानलाई सफा गर्ने गर्छ्न । त्यसपछि आ-आफ्नो धर्म संस्कार अनुसार पुजा प्रार्थना गर्दै सो स्थानको परिक्रमा गर्ने गर्छन् । यो करिब २००० वर्स पुरानो परम्परा हो । यो दिन पुर्वजका नाममा चिसो खानेकुरा चढाउने र आफुहरुले पनि चिसै खाने गर्छन् ।

जर्मनी:
जर्मनीमा प्रत्येक वर्ष नोभेम्बर १ तारीखका दिन क्याथोलिक चर्चमा “अल सेन्ट्स डे” का रूपमा आ-आफ्नो पुर्वज तथा पुर्खाहरुलाई स्मरण गर्ने गर्छन् । चिसो मौसममा मनाइने यो पर्वमा जर्मनीहरुले पुर्वजका नाममा मैनबत्ती बाल्ने गर्छन् र आफुले खाना खानु अगाडी उनीहरुको स्मरण गर्दै प्रार्थना गर्ने गर्छन् । यसबाहेक कृसमस महिना शुरु हुनुभन्दा दुइटा आइतबार अगाडि युद्ध तथा अत्याचारमा शिकार भएका ब्यक्तिका नाममा शोक मनाउन सार्वजनिक बिदा गरेर देशब्यापी रूपमा राष्ट्रिय शोक मनाउने गर्छन् ।

सिंगापुर, मलेसिया, थाइल्यान्ड, श्रीलंका:
“हंगरी घोस्ट फेस्टिवल”
अगस्त महिनामा मनाइने यो फेस्टिवल बौद्ध तथा टोइस्ट धर्मको प्रचलनमा रहेको छ । यो फेस्टिवल कैयौं एसियाली मुलुकहरूमा मनाउने गर्छन् । यो फेस्टिवलको आयोजना चीनको लुनिसोलर क्यालेन्डर अनुसार सातौं महिलाको पन्ध्र गते राती मनाउने गर्छन्, जुन अगस्त महिनामा पर्ने गर्छ । उनीहरुको मान्यता अनुसार सो दिन नर्कको ढोका खुल्छ र मृत पुर्वजका आत्माहरु पृथ्वीमा भोजनका लागि आउने गर्छन् । किनकि ती आत्माहरुलाई स्वर्ग जानबाट रोक लगाइएको हुनाले पृथ्वीमा आफ्ना सन्तति संग भोजनको आसमा आउछन् भन्ने उनीहरुको विश्वास छ । यो पर्वलाई “हंगरी” भन्नुको अर्थ नै नर्कमा तिनीहरुलाई बिना भोजन दुख कष्टका साथ तड्पाएर राखिएको हुन्छ भन्ने मान्यता छ ।

दक्षिण कोरिया:
दक्षिण कोरियामा पित्रीहरुलाई “चुसेओक” पर्वका रूपमा स्मरण गर्ने गर्छन्, जुन हरेक बर्ष सेप्टेम्बर र अक्टोबरको बीचमा पर्ने गर्छ । यो दक्षिण कोरियाको सबैभन्दा ठूलो चाड हो । यो पर्व राम्रो फसलका लागि मृतकहरुलाई धन्यवाद दिन वा आभार प्रकट गर्नकालागि मनाउने गर्छन् । यो पर्व तीन दिन सम्म चल्नेगर्छ । यसमा मानिसहरू बिहान सबेरै उठेर ताजा चामलको कनिकाको परिकार बनाउछ्न र त्यसलाई आ-आफ्नो पुर्खाहरुको दाहसंस्कार गरेको स्थानमा लगेर राख्छन् । त्यसपछि दिनभर चामलबाट बन्ने परिकारहरु खाने गर्छन् । यो पर्व चिनिया लुनर क्यालेन्डरको आधारमा मनाउने गर्छन्, जुन सेप्टेम्बरको अन्तिम तथा अक्टोबरको सुरुका दिनमा पर्छ ।

मेक्सिको:
मेक्सिकोमा मृत पुर्खाहरुलाई “डे अफ डेथ” का नाममा स्मरण गर्ने गर्छन्, जुन नोभेम्बर दुई तारीखका दिनमा पर्दछ । उनीहरुको मान्यता अनुसार पुर्वजहरुका आत्माहरु एक दिनका लागि आ-आफ्नो परिवारसँग संगै बस्न आउने गर्छन् । त्यसकारण ती आत्माहरुकोलागी मिठा मिठा खानेकुराहरु तयार पार्ने गर्छन् र त्यसलाई तिनीहरुले प्रसादका रूपमा लिने गर्छन् ।
ती दिनमा केही परिवारहरुले ती आत्माहरुका नाममा मैनबत्ती बाल्ने गर्छन् । कसैले दाहसंस्कार गरेकै स्थानमा पुगेर खानेकुराहरु छोड्ने गर्छन् भने कसैले आफ्नै घरमा मृतकका नाममा पुजा प्रार्थना गर्ने गर्छन् ।

कम्बोडिया तथा लाओस:
कम्बोडिया तथा लाओसमा “पिक्म बेन” पर्वका नाममा आ-आफ्ना पुर्खा तथा पुर्वजहरुलाई स्मरण गर्ने गर्छन्, जुन सेप्टेम्बर तथा अक्टोबरको बिचमा पर्ने गर्छ । यो पर्व तीन दिनसम्म चल्ने गर्छ । त्यसकारण सो समयमा तीन दिनसम्म सार्वजनिक बिदा हुने गर्छ । उनीहरुको मान्यता अनुसार सो समयमा यमराजले प्रेत योनिमा पुगेका आत्माहरुका लागी ढोका खोल्ने गर्छन् । जसमा राम्रो कर्म गरेर मर्नेहरु मुक्त हुनेछन् भने खराब कर्म गरेर मर्नेहरुलाई पुनः यमलोकमै फर्काइनेछ । सो दिनमा मृतकका सन्ततिहरुले चामलको पिण्डदान गर्ने गर्छन् र पुर्वजहरुलाई जल अर्पण गरेर बौद्ध भिक्षुहरुलाई भोजन गराउने गर्छन् ।साथै उनीहरुलाई दान दक्षिणा समेत दिने गर्छन् । भोजन सेवन गर्नुअघि श्लोकहरुको पाठ गर्छन्, जस्ले ती आत्माहरुलाई शान्ती प्रदान गर्नेछ । झट्ट हेर्दा यो परम्परा हिन्दु सनातन धर्मबाट प्रभावित भएर हिन्दुहरुकै अनुसरण गरेको जस्तो देखिन्छ ।

जापान:
“ओबोन फेस्टिवल”
जापानमा अगस्त महिनाको दोस्रो हप्तापछिको पछिल्ला पन्ध्रौं दिनहरुमा मृत आत्मा तथा पुर्खाहरुको स्मरणमा “ओबोन फेस्टिवल” मनाउने गर्छन् । जापानी क्यालेन्डर अनुसार सातौं महिनाको दशौं दिनपछि यो पर्व शुरु हुन्छ । यो पर्वमा जापानीहरु आ-आफ्नो मृतक पुर्खाहरुको दाहसंस्कार गरेको स्थानमा पुगेर श्रद्धाञ्जली दिने गर्छन् भने आ-आफ्नो घरमा बत्ती बालेर उज्यालो पार्ने गर्छन् ।
यी दिनहरूमा जापानीहरू आफ्नो पुर्वजहरु बस्ने गरेको गाउँमा जान्छन् । तिनीहरुको दाहसंस्कार गरेको ठाउँमा पुगेर फुल चढाउने गर्छन् । तिनीहरुको मान्यता अनुसार पुर्वजहरु त्यो बेलामा आफ्नो परिवार तथा आफन्तहरुलाई भेट्न आउनेछ्न । त्यसकारण घरको बाहिर लालटिन वा कुनै उज्यालोको श्रोत झुण्ड्याउने गर्छन्, ताकी पुर्वजहरु आउँदा अध्यारो नहोस् ।
यो पर्वमा जापानीहरुले धेरैथरी परिकारहरु बनाउने र नाच-गान गर्ने पनि गर्छन् । त्यसपछि परिवारका मानिसहरूले ती पुर्वजका आत्मालाई फिर्ता पठाउन मद्दतका लागि उनीहरुको नाममा दियो बालेर नदिमा बगाउने गर्छन् ।

मेडागास्कर:
“फामाडिहाना (डान्स विद डेड)”
मेडागास्कर पुर्वी अफ्रिकाको देश हो । त्यहाँका मानिसहरूमा मृतक पुर्खाहरुकोलागि श्रद्धा-सुमन व्यक्त गर्ने कुनै विषेश दिन त छैन, तैपनि त्यहाँका मानिसहरू जुलाई देखि अक्टोबर बिचको चिसो मौसममा जम्मा हुन्छन् र फामाडिहाना फेस्टिवलमा सहभागी हुन्छन् । सो समयमा मेडागास्करका मानिसहरूले आ-आफ्नो मृतक पुर्खाहरुको चिहान गाडेको स्थानमा पुगेर सो चिहानलाई पुनः खनेर बाहिर निकाल्छ्न र त्यसलाई नयाँ कपडाले फेरेर, चादिको धातुले बेरेर विशेष बाजाका साथ घुमाउने गर्छन् ।

फ्रान्स:
“ला टेसेन्ट” फ्रान्सेलीहरुले नोभेम्बर 1 तारिकका दिन मृतक पूर्वजका नाममा ‘ला टेसेन्ट’ डे मनाउने गर्छन् । त्यसदिन फ्रान्सेलीहरु आफ्नो पुर्खालाई स्मरण गर्दै परिवारमा कुनै झैझगडा वा मनमुटाव भएको भएतापनि सबै कुरा बिर्सेर एकै ठाउँमा जम्मा हुने गर्छन् र मसानघाट जाने गर्छन् । त्यसपछि पूर्वजका चिहान लाई सफा गर्ने गर्छन् । चिहानमा फूल चढाउने गर्छन् । मृतकको सन्तुष्टिको लागि मैनबत्तीहरू जलाउने गर्छन् । त्यसपछि चर्चामा पुगेर प्रार्थना गर्ने गर्छन् । अन्तिममा पूरै परिवार सँगै बसेर खाना खाने गर्छन् । त्यो दिन फ्रान्समा सार्वजनिक विदा हुने गर्छ । स्कूलहरु भने दुई हप्तासम्म बन्द नै हुन्छन् ।

नेपाल:
“गाईजात्रा”
नेपालमा पनि आ-आफ्नो परम्परा तथा संस्कार अनुसार फरक-फरक तरिकाले पुर्खाहरूको स्मरण गर्ने चलन छ । नेवार समुदायहरुले ‘गाईजात्रा’ पर्वका रूपमा पुर्खा तथा मृतकको आत्माको शान्तिको कामना गर्ने प्रचलन छ । यो पर्व जनैपूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यसलाई गाईको पर्व पनि भनिन्छ । गाईजात्राका दिनमा विगत एक वर्षको बीचमा मानिसहरु मरेको घरका परिवारबाट गाईको बथान लिएर बाजाका साथ बजार घुम्ने चलन छ । जसको घरमा गाई छैन, सो घरको सदस्यलाई नै गाईको भेष धारण गरेर निस्कने चलन छ । किनकि गाईलाई सबैभन्दा पवित्र मानिने गर्छ, जसले गर्दा मृतकलाई शान्ति प्राप्त हुन्छ ।

श्राद्धको शुरुआत तथा सनातन धर्ममा यसको ब्याख्या:

पितृहरूको तृप्तिका लागि श्राद्धको उल्लेख वेद-पुराण देखि स्मृति ग्रन्थ तथा महाभारतमा पनि गरिएको छ । ग्रन्थमा भनिएको छ कि सोह्र श्राद्ध शुरु भएपछि पितृहरु मृत्यु लोकमा आफ्नो वंशज हरुलाई हेर्न आउने गर्छन् । अनि तर्पण बाट खुशी भएर पुनः आफ्नो लोकमा फर्किने गर्छन् । त्यसकारण सो समयमा पितृहरूको तृप्ति तथा सन्तुष्टिका लागि तर्पण, पिण्डदान, ब्राह्मण भोजन तथा अन्य दान-पुण्य कर्महरु गर्ने गरिन्छ ।

महर्षी निमी: महर्षी निमीले श्राद्धको सुरुवात गरेका हुन् । महाभारतमा भिष्म पितामहले युधिष्ठिरलाई श्राद्धको बारेमा धेरै कुराहरु बताएका छन् । भीष्मले भनेका छन् कि अत्रि मुनीले महर्षी निमी लाइ श्राद्धको बारेमा बताएका थिए । त्यसकारण सबैभन्दा पहिला निमी ऋषिले श्राद्ध को सुरुवात गरे । त्यसपछि अन्य ऋषिहरुले पनि श्राद्ध गर्न थाले । तत्पश्चात चारै वर्गका मानिसहरूले श्राद्धमा पितृलाई अन्न दिनथाले ।
अथर्व वेदमा भनिएको छ कि छठि संक्रान्ति यानि जब सूर्य कन्या राशीमा रहन्छ तब पितृलाई तृप्त हुने चिजहरु दिनाले स्वर्गको प्राप्ति हुनेछ । यसको साथै याज्ञवल्क्य स्मृति तथा यम स्मृतिमा पनि भनिएको छ कि सोह्र श्राद्धका यी सोह्रौ दिनमा मृतकको तिथि अनुसार पित्रीको लागि विशेष पूजा तथा दान गर्नुपर्छ । यसबाहेक अन्य पुराणहरूको कुरा गर्ने हो भने ब्रह्मा, विष्णु, नारद, स्कन्ध तथा भविष्य पुराणमा श्राद्ध पक्षका समयमा पितृहरुलाई कसरी स्मरण गर्ने र उनीहरूको आत्माको शान्तिको लागि कसरी पुजा गर्ने भनेर बताइएको छ ।

अथर्व वेदमा श्राद्ध:
“सर्वास्ता अव रुन्धे स्वर्ग:
षष्ट्यां शरत्सु निधिपा अभीछात ।।”
अर्थ:
सरद ऋतुमा छठी संक्रान्ती यानी जब सुर्य कन्या राशीमा रहन्छ, त्यसमा जो अभिषिप्त वस्तुहरु अर्थात् जौ, तिल, चामल पित्रीहरुलाई दान गरिन्छ भने त्यसले स्वर्ग प्राप्त गर्छ ।

“यास्ते धाना अनुकिरामी तिलमिश्रा: स्वधावती: ।
तास्तै सन्तु विभ्वी: प्रभ्वीस्तास्ते यमो राजानु मन्यताम ।।”

अर्थ:
श्राद्धको समयमा चामल, जौ तथा तिलको पितृहरूलाई अर्पण गर्दै कामना गरिन्छ कि सो चामल परलोकमा उनीहरुलाई ठूलो परिमाणमा र ज्यादा मात्रामा मिलोस । साथै यमराजले पितृहरूलाई सो चामल प्रयोग गर्ने अनुमति दिऊन् ।

ऋग्वेदको कौषीतकि गृह सूत्रमा श्राद्ध:

“दिवता: पितरों नित्यं ‌‌ ‌गच्छन्ति गृहमेधिनम ।
भागार्थमतिथिश्चापी तेभ्यो निर्वप्तुमर्हती ।।”

अर्थ:
ऋग्वेदको कौषीतकि गृहसुत्रमा भनिएको छ कि देवता, पित्री तथा अतिथिहरु आफ्नो भाग पाउने इच्छाले गृहस्थीहरुसंग आउने गर्छन् र आफ्नो भाग पाएपछि आशीर्वाद दिने गर्छन् ।

याज्ञवल्क्य स्मृतिमा श्राद्ध:

“श्राद्धं नामादनीयस्य तत्स्थानीयस्य वा ।
द्रव्यस्य प्रेतोद्देशेन श्रद्धया त्याग:।।”

अर्थ:
पित्रीलाई स्मरण गरेर उनको निम्ति या उनको प्रतिनिधि अर्थात् ब्राह्मणलाई श्रद्धापुर्वक गरिएको दान दक्षिणा नै श्राद्ध हो ।

स्कन्दपुराणमा श्राद्ध:

“आषाढ्या पंचमे पक्षे कन्यासंस्थे दिवाकरे,
मृताहनी पुनर्यो वै श्राद्धं दास्यती मानव ।।
तस्य संवत्सरंयावतृप्ता: स्यु पितरो ध्रुवम ।।”

अर्थ:
आषाढ पुर्णिामाको पाचौं पक्षमा जब सुर्य कन्या राशीमा आउँछ, तब जो मनुष्यले मृत्यु तिथि पारेर पित्रीहरुको श्राद्ध गर्दछ भने उनका पित्रीहरु एक बर्षसम्म तृप्त रहन्छन् ।

कर्म पुराणमा श्राद्ध:

“योs नेन विधिना श्राद्धं कुर्याद वै शांत मानस:
व्यपेत कल्मषो नित्यं यातिनां वर्तयेत्पदम ।।”

अर्थ:
श्राद्ध गर्नेवाला लाई आयु, पुत्र, धन-धान्य, शरीरमा बल, पौरुष शक्ति तथा यश प्राप्त हुन्छ । साथै सबै प्रकारको सुख पनि मिल्दछ ।

✍️ गोपाल पाल्पाली आचार्य

🌺🌺 जय श्रीकृष्ण 🌺🌺