मुस्ताङको हावापानी र स्याउ

-मुस्ताङको हावापानी र स्याउ
अक्सर मुस्ताङमा पानी पर्दैन । चर्को घाम लाग्ने, तर पानी नपर्ने भएकाले यहाँको स्याउमा स्वाद र रंग भरिन्छ । यहाँको स्याउको विशेषता भनेकै स्वाद र रंग हो । रसिलो, गुलियो र हेर्दा रातो देखिने स्याउले नेपाली मात्रै होइन, विदेशीलाई आकर्षित गर्छ । चिसो हावापानी, हिउँदमा हिउँ र वर्षात्को समयमा चर्को घामले स्याउको फल विकासमा सघाउने स्याउ जोन कार्यक्रमका संयोजक माधव लम्साल बताउँछन् ।
मुस्ताङको १२ सय हेक्टर जमिनमा अहिले स्याउका बिरुवा छन् । ५ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले फसल लिने गरेका छन् । बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको छ । स्याउका बिरुवा उत्पादनसमेत मुस्ताङमा हुन्छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रंगको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ । हरेक वर्ष यहाँका किसानले ५ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुन्छ । नेपालमा वर्षमा झन्डै ६ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोबार हुने गरेको तथ्यांक पाइन्छ । विशेष गरी भारत र चीनबाट आउने स्याउको प्रतिस्थापनमा मुस्ताङको स्याउ गतिलो उपाय हो । यातायातको सहज पहुँच, बजारसम्म किसानको सीधा पहुँच नहुनु र मुस्ताङबाट ढुवानीभन्दा विदेशबाट स्याउ भित्र्याउँदा सस्तो पर्ने भएकाले विदेशी स्याउले प्रश्रय पाउने गरेको यहाँका किसान चन्द्र थकालीको गुनासो छ । आलु, फापर, गाजर, जौलगायका कृषिबाली उब्जाउने यहाँका किसानले स्याउको बगानलाई पनि उत्तिकै महत्व दिने गरेका छन् । अहिले नयाँ लगाइएको ७ सय हेक्टर जमिनमा फसल आउन सुरु गर्दा नेपालको बजारमा मुस्ताङे स्याउको उपस्थिति थप बलियो हुन्छ । किसानले बगैँचा बढाउँदै लगेकाले पनि मुस्ताङको स्याउले विदेशी स्याउको ठाउँमा केही हद कायम गर्नेछ । बजारको समस्या नभए पनि किसानदेखि उपभोक्तासम्मको दूरीका दरारले यहाँका किसानले उत्पादन गर्ने स्याउलाई बजारीकरणमा समस्या छ । मुस्ताङको स्याउ काठमाडौ पोखरा, वीरगन्ज, भैरहवाजस्ता ठूला सहर र स्थानीय बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । सिजनमा यहाँको स्याउको मूल्य अन्यत्रको स्याउभन्दा २० देखि ५० रुपैयाँ बढीमा बिक्री हुने गर्दछ।