Advertisement

प्रिय माइती !

२०७९ भाद्र ११, शनिबार १४:४५
१००
उद्धब बञ्जारा
प्रिय माइती !
वर्षौं अघि तिम्रो घरमा खुसी ल्याउने मै थिए, तिमीलाई आमा-बुवा भनेर पुकार्ने मै थिए । म रुँदा तिमीहरू को कलेजो चिरिन्थ्यो मलाई चोट लाग्दा तिमीहरूलाई दुख्थ्यो । हर दिन पूजा गरे पछि मलाई लक्ष्मी मानेर टीका लगाई ढोग गरिन्थ्यो । मैलाई दान गरेर हो तिमिले हजार गाई दान गरे बराबर को पुण्य पाउने लोभ गरेको तर त्यो अदृश्य अमूक पुण्य को लोभ मा यस्तरी दान गर्‍यौ की म तिम्रो लागि १० घर पर काे छिमेकी भए जो तिम्रो घर आउन त पाउँछु तर तिम्रा घर का एक ईट्टामा पनि हक जमाउन पाइन्न । भान्छामा पसेर आफै झिकेर खान डराउनु पर्छ । अब त्यो घरको दराजको चाबी माग्न पाउन्न । यति सम्म कि तिम्रो घर आउन अब म त्यो पराई मान्छे काे साथ लाएर आउनु पर्छ । किन बुवा शरीर को अङ्ग यसरी काट्न सक्छ र कसैले ? म हाँसी-खुसी पहेलपुर भएर आउँदा सम्म त त्यही नी राम्रै स्वागत गर्छौ तर दुःख सुनाउने अधिकार नी खोस्यौ । हिजो सम्म काँडा बिझ्दा नी तिम्लाई रुँदै सुनाउँथे आज मन दुख्दा नी सुनाउन सक्दिन, सुनाए नी तिमीसंग रेडिमेड उत्तर छ – छोरी होस सहनु पर्छ हाम्रो इज्जत जान्छ । ए बुवा किन यो ईज्जत ले आँसु पिउन भन्छ किन ज्यान नै फाल भन्छ ? के छ ईज्जतमा जुन मेरो जिन्दगी भन्दा अमूल्य छ ? दाजु-भाइ को जन्म दर्तामा बुवा आमा को नाम जे छ मेरो जन्म दर्तामा नी त्यही छ, दाजु-भाइले म फलानोको छोरा भनेर जसको नाम लिन्छन् म नी फलानो की छोरी भनेर उसकै नाम लिन्छु । हिजो सम्म कसैले घर कहाँ भन्दा म त्यही घर काे ठेगाना बताउँथे । मेरो मनपर्ने फूलहरु त्यही आँगनमा फुलाएथें । त्यो घर काे सजावट मैले आफ्नो तरिकाले गरेथें । त्यो आँगन त्यही हो दाजुभाइ र म सङ्गै खेलेथौ त्यो काख नी त्यही हो जहाँ म दाजुभाइ सङ्गै लुटुपुटु गर्थें । ती आमाका छाती उति नै चुसे मैले जती दाजु-भाइले चुसे । म नी आमा को गर्भ मा त्यति नै समय बसें जति दाजुभाइ बसे । म नी त्यही प्रसव पीडा को साथ जन्मेकी हु जुन प्रसव पीडा को साथ दाजुभाइ जन्मे । फेरि किन किन बुवा एक चिम्टी सिन्दुर को पर्खाल यति अग्लो भयो ? आज कुटाई खाएर यातना सहेर नी म किन तिम्रो घर मा ओत लाग्न पाउन्न ? किन अब यो घर तेरो होइन भनेर टाढा बनाउनुहुन्छ ? जन्मेको घरको अधिकार त पाइन भने हिजो गएको घरमा म के अधिकार खोजुँ ? बिबाह दर्ता भन्दा पहिलो पहिचान त मेरो जन्म दर्ता हो । सिउँदोमा जसलाई राखे नी रगतमा त माइती नै हुन्छन् । सिउँदोको रङ्ग मेटाउन नी सकिन्छ तर रगत फेर्न सकिन्छ र बुवा ? पण्डितको मन्त्रले गोत्र फेरिएला बाउ फेरिन्छ र बुवा ? हिजो सङ्गै खेलेको आँगनको एक छेउ तलाई भो चेली भन्न किन सक्दैनन् दाजुभाइ ? हरेक साल तेलले बाटो छेकेर ओखरमा यमराजलाई फुटाएर दीर्घायुको कामना गर्ने चेलीको आँसु कसरी हेर्छौं ?त्यो सप्तरङ्गी टीकाको एक रङ्ग आफ्नी चेलीलाई दिन सक्दैनौं ?? प्रिय माइती हरु !! दिनदिनै मरिरहेका चेलीहरुमा भोलि तिम्री चेलीको नाम नी आउला अनि तिमी नी लास बोकेर सडक मा बस्नु पर्ला । त्यो भन्दा अगावै आफ्नी चेलीको असली माइती बन, अप्ठ्यारोमा साथ मात्र देऊ आफ्नो बाटो आफै खन्न सक्छन् चेली हरु । आफ्नो रगत आफ्नो संस्कार माथि विश्वास गरेर हेर कुनै माइती रुनु पर्दैन । कुनै माइतीको ईज्जत नी जान्न र कुनै माइती ले आफ्नी चेली को लास बोक्नु पर्दैन ।