Advertisement

युगोस्लाभिया

२०७९ भाद्र ७, मंगलवार ०५:३६
१२०
उद्धब बञ्जारा

क्षेत्रफलमा नेपालभन्दा १.८ गुणा ठूलो र जनसङ्ख्यामा नेपालभन्दा १.५ गुणा थोरै भएको युरोपमा एउटा देश थियो युगोस्लाभिया।
युगोस्लाभियामा मार्शल जोसेफ ब्रज टिटो नाम गरेका राष्ट्रपति थिए। हुन त उनी कम्युनिस्ट थिए तर उनको फोकस कम्युनिज्मभन्दा राष्ट्रियतालाई बलियो पार्ने काममा थियो। उनले साना देशहरुले ठूला देशको खटनपटनबाट मुक्त भएर स्वाभिमानपूर्वक आफै हिड्ने र उभिने प्रयास नगर्दासम्म कुनै पनि देश बलियो हुन सक्दैन भन्ने नीतिको प्रतिपादन गरे-जसलाई असंलग्न परराष्ट्र नीति भनियो। कथित उदारवादी कित्ताको अमेरिका र कथित समाजवादी कित्ताको सोभियत संघसंग समदुरीको सम्बन्ध राखेर शीतयुद्धबाट टाढा रहनु पर्ने बाटो उनले रोजेका थिए। नेपालले पनि त्यही बाटो अबलम्बन गरेको थियो। २०१८ सालमा युगोस्लाभियाको बेल्ग्रेडमा सम्पन्न असंलग्न देशहरुको पहिलो सम्मेलनमा श्री ५ महेन्द्रबाट भाग लिइबक्सेको थियो।
राष्ट्रियतावादी नेता टिटोको निधनपछि युगोस्लाभियालाई शक्ति राष्ट्रहरुले प्रजातन्त्र, पहिचान र परिवर्तनको नशा पिलाएर विभाजन गराइदिए। हिजोको बलियो देश युगोस्लाभिया अहिले स्लोभानिया, कोसोभो, मन्टेनेग्रो, सर्बिया, क्रोसिया, बोस्निया हर्जेगोभिना र उत्तरी मेसेडोनियाँ नाम गरेका सात ओटा ससाना देशमा विभक्त भएको छ। ती देशहरु अचेल ससाना निहुँले पनि आपसमा भिडन्त गरिरहन्छन्। यी देशका नागरिकहरु पेट पाल्ने कामको लागि एक अर्कामा निर्भर छन् तर पहिचानको कुरो आएपछि भने उनीहरु एक अर्कोलाई मार्न तम्सिहाल्छन्।
“मुखमा माड छैन चा.. मा घिउ” भने जस्तै भएको छ अचेल युगोस्लाभियाको नियति ।
मार्सल टिटो पनि एकचोटी नेपाल भ्रमणमा आएका थिए। नेपाललाई शान्तिक्षेत्र घोषित गर्नु पर्छ भन्ने प्रस्तावको उनले शुरु मैं समर्थन गरेका थिए। श्री ५ महेन्द्रबाट पनि युगोस्लाभियाको भ्रमण गरिबक्सेको थियो भने प्रधानमन्त्री श्री नगेन्द्रप्रसाद रिजाल पनि युगोस्लाभियाको भ्रमणमा जानु भएको थियो।
श्री ५ वीरेन्द्र युगोस्लाभिया तीन पटक सवारी भयो। प्रस्तुत चित्र मौसूफ २०३२ साल असोजमा युगोस्लाभियाको राजकीय भ्रमणमा सवारी हुँदा बेल्ग्रेडमा राष्ट्रपति मार्शल टिटोद्वारा स्वागत हुँदै गर्दाको हो।