
“हिन्दुराष्ट्रका लागि आर्थिक सहयोग अभियान”

राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन स्वदेश तथा विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको अपेक्षा सहित “हिन्दुराष्ट्रका लागि आर्थिक सहयोग अभियान”को शुभारम्भ गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज अभियानको औपचारिक शुभारम्भ गर्नुभएको छ । पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक डा.धवल शमशेर राणा नेतृत्वको समितिले प्रस्ताव गर्नुभएको कार्ययोजना अनुरुप आजदेखि अभियान शुभारम्भ भएको हो । समितिले हिन्दुराष्ट्र सहयोगार्थ गोल्डेन प्रमाणपत्र मार्फत प्रत्येक प्रमाणपत्र वापत रु.पाँच हजार संकलन गर्ने भएको छ । पार्टीको संयन्त्र मार्फत नै हजारौं प्रमाणपत्र वितरण गर्ने समितिले लक्ष्य लिएको समितिका संयोजक डा.धवल शमशेर राणाले बताउनुभएको छ । साथै समितिले गरिमा विकास बैंकमा खाता खोलेर स्वदेश तथा विदेशमा रहनुभएका हिन्दुराष्ट्र पक्षधर सबैलाई सहयोगको अपील समेत गरेको छ ।
बैंकको खाता नम्बर ०४७००१०१०२९०९१०००००१ मा रकम, चेक वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने व्यवस्था समितिले गरेको छ ।
आज औपचारिक शुभारम्भ भएको पहिलो दिनको समारोह मै रु.१२ लाख नगद र रु.एक करोड भन्दा बढीको प्रतिबद्धता घोषणा भएको समितिका सदस्य खुस्बु ओलीले जानकारी दिएकी छिन् ।