Advertisement

दोलखाका अकबरे खुर्सानीको उत्पादन वृद्धि”-

२०७९ भाद्र १, बुधबार ०७:०२
१७९
उद्धब बञ्जारा

दोलखाका अकबरे खुर्सानीको उत्पादन वृद्धि”- पछिल्लो समय दोलखाको अधिकांश ठाउँमा अकबरे खोर्सानीको खेती व्यावसायिक बन्दै गएको छ । जिल्लाको विभिन्न भेगमा विभिन्न जातको अकबरे खोर्सानी खेती गर्ने कृषकहरू बढेका छन् । दोलखाका उच्च भू–भागबाहेक अन्यत्र प्रायः सबैतिर घरायसी प्रयोजनका लागि खेती गरिने अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानीमा समेत गर्न सकिने भएपछि यो खेतीमा कृषकको रुचि बढेको हो ।
कृषकले धेरै ठाउँ खेती गरेको देखेर कतिपय स्थानीय सरकार र गाउँटोलमा खुलेका कृषि सहकारी र गैरसरकारी संस्थाले यो खेतीमा लगानी गरिरहेको शैलुङ–४ कृषि प्राविधिक प्रकाश थापाले बताए । अहिले शैलुङमा शैलुङ-७ फस्कुमा कृष्णहरि खड्काले व्यावसायिक अकबरे खेति गर्नुभएको छ । उहाँले उत्पादन गर्नुभएको खुर्सानी अहिले बिक्रीवितरणको लागी तयार भएको छ। साविकको कृषि विकास कार्यालय चरिकोटले केही समय अगाडि सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा करिब १० देखि १५ टनसम्म अकबरे खुर्सानी उत्पादन हुने गरेको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर गाउँपाकिका, तामाकोशी गाउँपालिका, शैलुङ, कालिञ्चोक, जिरी गौरीशंकरको तल्लो भागमा यो खेती हुँदै आएको छ । भिमेश्वर नगरपालिका–६ स्थित भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले हाल सय रोपनी क्षेत्रफलमा खुर्सानी, किवी, एभोकाडो, रुद्राक्षलगायत फलफूल तथा विभिन्न तरकारीको अर्गानिक खेती गरिरहेको छ ।
कृषि प्राविधिकका अनुसार रातो भइन्जेल अकबरे खुर्सानीबोटमा राख्दा कीराको संक्रमण बढ्ने तर हरियोमा टिप्दा भने कीराले खासै दुःख नदिने हुन्छ । उत्पादन पनि छिट्टै हुने हुँदा हरियो अकबरेको व्यवस्थितरूपमा निकासी गर्न सके किसानलाई ठूलो लाभ मिल्न सक्ने कृषि प्राविधिकको भनाइ छ ।
तस्वीर तथा जानकारी – भरतप्रसाद दुलाल/ दोलखा