आर्थिक सहयोग

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९बाट रोजगारी गुमाएका अति विपन्न परिवारलाई रु १० हजार सहयोग गरेको छ ।
नगरप्रमुख टोकबहादुर वाइबाले सोमबार सो रकम वितरण गर्दै विपन्न परिवारको आर्थिक अवस्था माथि उठाउन नगरपालिकाले सहयोग गरेको हो भन्नुभयो । “प्रतिव्यक्तिका हिसाबले हेर्दा रकम थोरै छ, तर यसलाई सही ढङ्गले सदुपयोग गरेको खण्डमा यो परिवार धान्ने माध्यमका रूपमा पनि जग बन्ने छ”, उहाँले भन्नुभयो, “प्राप्त रकमलाई उचित सदुपयोग गर्नुहोला ।”
उपप्रमुख विष्णुमणि नेपालले प्राप्त रकमलाई सही ठाउँमा सही ठाउँमा लगानी गरेर आयआर्जन बढाउन आग्रह गर्नुभयो । लेखा अधिकृत पुष्पराज बजागाईँले अहिले वितरण गरेको रकम अघिल्लो वर्षको फागुन, चैतमा नै हस्तान्तरण गर्नुपर्ने भए पनि निर्वाचनका कारण पछि सरेको बताउनुभयो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले कोभिड व्यवस्थापनमा नगरपालिकाले उच्चस्तरको काम गरेको बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणबाट २३ जनाले ज्यान गुमाएका थिए ।
नगरपालिकाका रोजगार संयोजक सुरज पौडेलका अनुसार नगरपालिकाले नगरभित्रका ५८७ अतिविपन्न परिवारलाई रु ५८ लाख ७० हजार वितरण गरिएको बताउनुभयो । नगरपालिकाले यसअघि कोभिडबाट निधन भएका व्यक्तिको परिवारलाई रु ५० हजारका दरले राहत सहयोग उपलब्ध गरिएको थियो ।
–––