सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन अमिटलाई सहयोग

सरकारले सगरमाथा आरोहण गर्न लागेका फरक क्षमता भएका (दृष्टिविहीन) अमिट केसीलाई रोयल्टीबापतको रकम मिनाहा गर्नुका साथै थप रु १० लाख आर्थिक सहयोग गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम बागलुङ जैमिनी नगरपालिका–४ निवासी केसीलाई रोयल्टी छुट तथा आर्थिक सहयोग गरिएको होे । मन्त्रिपरिषद्को गत चैत २४ गतेको बैठकले केसीले बुझाउनुपर्ने रोयल्टीबापतको रकम मिनाहा गरी थप रु १० लाख आर्थिक सहयोग गर्ने निर्गण गरेको पर्यटन मन्त्रालयले जनाएको छ । सोही निर्णयअनुरूप रोयल्टी छुट तथा आर्थिक सहयोग गएिको पर्यटन मन्त्रालयले जनाएको छ । सगरमाथा आरोहमा निस्कन लाग्नुभएका केसीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आज मन्त्रालयमा बिदाइ गर्दै केसीको साहसिक कामको सराहना गर्नुहुँदै आरोहण सफलताको शुभकामना व्यक्त गर्नुभयो । सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यका साथ केसीले पर्यटन विभागबाट आरोहण अनुमति लिइसक्नुभएको छ । केसीले आफ्नो परिवारको भरणपोषणका लागि खाइपाइ आएको प्राथमिक विद्यालय दृष्टिविहीन राहत दरबन्दीसमेत त्यागेर नेपालको पहिलो र संसारको दोस्रो दृष्टिविहीन व्यक्तिको रुपमा सर्वोच्च शिखर आरोहण गर्ने प्रयासमा रहेको बताउनुभयो । सोलुखुम्बुको ६,१८६ मिटर उचाइको आइसल्याण्ड पिक, छ हजार ६५४ मिटरको मेरापिक र छ हजार ११९ मिटर उचाइको लोबुचे पिकको समेत सफलतापूर्वक आरोहण गरी नेपालको पहिलो दृष्टिविहीन आरोही बन्नुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्न सफल भए नेपालकै पहिलो, विश्वकै चौथो र एसियाकै दोस्रो दृष्टिविहीन आरोही बन्ने जनाइएको छ । केसीले सन् २०१७ मा पनि सगरमाथाको आरोहणका क्रममा अक्सिजन सकिएका कारण आठ हजार मिटर आरोहणबाट फर्किनुपरेको थियो । केसीले ‘दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियान २०७८/७९’ नाममा आरोहणमा निस्कनुभएको हो । –––